धितोपत्र दलाल कम्पनी(ब्रोकर)लाई लाइसेन्स दिने प्रक्रिया अघि बढ्ने भएको छ । प्रतिनिधि सभाको अर्थ समितिले मापदण्ड पूरा गरेर आवेदन दिएका धितोपत्र दलाल कम्पनीलाई अनुमति पत्र दिन स्वीकृति दिएको छ ।
मंगलबारको बैठकमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालसँग सांसदहरुले चासाे राखेपछि समितिले मापदण्ड पूरा गरेकालाई लाइसेन्स दिन निर्देशन दिने निर्णय गरेको हो ।
समितिले ब्रोकरको रोकिएको लाइसेन्स प्रक्रियालाई पनि निरन्तरता दिन निर्देशन दिएको छ । बैठकपछि ‘जेठ २९ गतेको निर्णयबाट स्थगन गरिएको धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको इजाजत प्रक्रिया सुरु गर्न अर्थ मन्त्रालयमार्फत धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिने’ निर्णय समितिका सदस्यले सुनाएका छन् ।
त्यस्तै धितोपत्र दलाल तथा अनुमतिपत्र दिँदा मापदण्ड पुगेको विषयमा अनुमतिपत्र दिने निकायलाई सतर्क हुन पनि अर्थ मन्त्रालयमार्फत धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिने निर्णय समितिले गरेको हो ।