शनिबार, कार्तिक ८ गते २०८३

राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै

आषाढ ४, २०८० सोमबार
राष्ट्र बैंकले  १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी  गर्दै

नेपाल राष्ट्र बैंकले  भोलीबाट १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले असार ५ गते बोलकबोल हुने गरी ६ वर्षे अवधिका लागि विकास ऋणपत्र २०८६ ‘ङ’ बिक्री गर्ने जनाएको हो । 

उक्त विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल मार्फत खरिद गर्न सक्नेछन् । यसको ब्याजदर बोलकबोलको माध्यमबाट हुनेछ । निष्काशन असार ६ गते हुनेछ भने यसको साँवा भुक्तानी २०८६ असार ६ गते हुुनेछ । ब्याज अर्धबार्षिक रुपमा हुने छ। ब्याजमा भने ब्याजकर लाग्ने छ । 

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड छुट्याइएको । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गर्ने राष्ट्र बैंकले जनाएको छ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने जनाइएको छ ।