शनिबार, कार्तिक ८ गते २०८३

 लगानी बढाएर अर्थतन्त्रलाई चलायमान बनाउन मुख्य सचिव अर्याललाई परिसंघको आग्रह

आषाढ ३, २०८० आइतबार
 लगानी बढाएर अर्थतन्त्रलाई चलायमान बनाउन मुख्य सचिव अर्याललाई परिसंघको आग्रह


नेपाल उद्योग परिसंघले नवनियुक्त मुख्य सचिव डा. बैकुण्ठ अर्यालसँग भेटवार्ता गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले  नवनियुक्त मुख्य सचिव अर्यालसँग भेट गरी बधाई तथा शुभकामना दिदै विद्यमान अर्थतन्त्रका विषयमा छलफल गरेको हो ।

परिसंघका अध्यक्ष अग्रवालले अर्थ, उद्योग, वाणिज्य क्षेत्र हुँदै   मुख्य सचिव  भएकोमा खुशि व्यक्त गर्नुका साथै  सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । अर्थतन्त्रको बर्तमान अवस्था चुनौतीपुर्ण रहेको भन्दै उनले लगानी बढाएर मात्र अर्थतन्त्रलाई चलयमान बनाउन सक्नेमा जोड दिए  । परिसंघले बजेटको प्रभावकारी कार्यान्वयनमा रचनात्मक सहयोग गर्ने गरी निजी क्षेत्रकै तर्फबाट पहिलो पटक ‘बजेट वाच’ कार्यक्रम संचालन गरिरहेको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनका लागि बजेट कार्यान्वयन अनुगमन समिति बनाउने घोषणा गरेको छ ।  अध्यक्ष अग्रवालले उक्त समितिमा परिसंघको प्रतिनिधित्व गराउन आग्रह गरे । 
सोही अवसरमा अध्यक्ष अग्रवालले मन्दीमा रहेको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘ रिपोटिङ्ग नेप्लिज इकोनोमी  ’ अवधारणा मुख्य सचिव डा. अर्याल समक्ष पेश गरेका थिए । परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र, औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ ।

परिसंघको बधाई तथा अर्थतन्त्र सुधारका सुझाव ग्रहण  गर्दै  नवनियुक्त मुख्य सचिव डा. अर्यालले अर्थतन्त्रको समस्या समाधानका लागि लगानी वृद्धि गर्न अपरिहार्य रहेको बताए । उनले  पूँजीगत खर्च बढाउन आवश्यक रहेको भन्दै  त्यसलाई प्राथमिकतामा राखेर काम गर्ने  उल्लेख गरे । उत्पादनमा आधारित भए मात्र अर्थतन्त्र अगाडि बढ्न सक्ने  र  आर्थिक विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको उनको भनाई छ ।