शुक्रबार, कार्तिक ७ गते २०८३

'जयतु संस्कृतम् आन्दोलन' : आधुनिक शिक्षाको माग गर्दै चलेको नेपालको पहिलो बिद्यार्थी आन्दोलन


आषाढ १, २०८० शुक्रबार
'जयतु संस्कृतम् आन्दोलन' : आधुनिक शिक्षाको माग गर्दै चलेको नेपालको पहिलो बिद्यार्थी आन्दोलन
 
_____________
२००४ साल असार १ गते (इतिहासमा आजैको दिन) देखि भएको ‘जयतु संस्कृतम्’ आन्दोलन शिक्षा क्षेत्रमा व्यापकता र सुधारको आन्दोलन थियो । तर, त्यो अन्तत: २००७ सालको जनक्रान्तिको पूर्वाभ्यास आन्दोलन हुनपुग्यो । तसर्थ, संस्कृत आन्दोलन नेपालको प्रजातान्त्रिक आन्दोलन पनि हो । करीब ३०० छात्रहरूको जुलुस पाठशालाकै प्रांगणबाट निस्केर सडकमा मार्च गर्यो ।
श्रीभद्र शर्मा, राजेश्वर देवकोटा, अच्युतराज रेग्मी, कमलराज रेग्मी, काशीनाथ गौतम, पद्मशंकर अधिकारी, हेमराज ज्ञवाली आदि सो आन्दोलनका अगुवा छात्र थिए । जुलुस को नारा थियो-
"जयतु संस्कृतम् धर्मभूतये
जयतु संस्कृतम् राजभूतये
जयतु संस्कृतम् राष्ट्रभूतये
जयतु संस्कृतम् विश्वभूतये ।।"
वि.सं. १९९७ सालमा चार जना राजनीतिक व्यक्तित्व को शहादतपछि त्यसको प्रभाव २००१ सालमा तीनधारा पाठशालामा पसेर सानो आन्दोलन भएको रहेछ । सरकारले पाठशालाका आन्दोलनकारीमध्ये चार जनालाई डाँडा कटाएछ र केहीलाई आफ्नो गाउँबाट बाहिर जान नपाउने गरिको कडाइ गरेछ । २००४ सालको जयतु संस्कृत आन्दोलनचैं राणाशाहीको सातोपुत्लो उडाउने खालको थियो ।
५४ जना ब्राह्मण वटुकलाई पढ्न, बस्न, खाने व्यवस्थाका साथ धीरशमशेरको पालामा वि.सं. १९३९ मा स्थापित रानीपोखरी पाठशालाका विद्यार्थीले शिक्षामा विविधता ल्याएर इतिहास, भूगोल, नागरिक शास्त्र जस्ता विषय पढ्न पाउनुपर्ने माग गर्दै असार १ गतेदेखि काठमाडौंमा प्रदर्शन थाले । यसलाई पाठशालाका गुरुहरूले पनि अप्रत्यक्ष समर्थन गरे ।
संस्कृतका गुरुहरू र अन्य विषय पढाउने 'मास्टर'हरूबीच विभेदकारी तलब स्केल रहेकोले सो असन्तोष र कुण्ठा गुरूहरुले छात्र आन्दोलनबाट व्यक्त गरे । त्यसबेला – त्रिचन्द्र कलेजका शिक्षकको तलब मासिक रु.३०० थियो रे। संस्कृतका गुरुहरूले मासिक रु.६० मात्रै पाउने !
संस्कृत शिक्षाका डाइरेक्टर 'माइला गुरु' हेमराज पाण्डेले संस्कृतका आचार्यहरूले नम्बरी दक्षिणा र प्रशस्त दान–दातव्य पाउने हुनाले कम पारिश्रमिक र अंग्रेजीमा एमए गर्नेहरूले इतिहास, भूगोल र अन्य शास्त्र पढेका कारण बढी पारिश्रमिक पाउने भएकोले यसो भएको भन्दिएछन् ।
आन्दोलनका विद्यार्थी नेताहरूमध्ये केहीलाई देशबाटै लखेटियो, केहीलाई चारभञ्ज्याङ कटाइयो । ‘जयतु संस्कृतम्’ आन्दोलनपछि दमन र निष्कासनमा परेका विद्यार्थी अझ् सशक्त रूपमा राणाविरोधी आन्दोलनमा जुटे । उनीहरू बनारस पुगेर नेपाली कांग्रेसमा प्रवेश गरी जनक्रान्तिका सेनानी र नेता भए । अन्ततः २००७ सालमा राणाशासन नै ढल्यो ।
_____
शनिबार, २८ वैशाख २०७६ को हिमाल खबरपत्रिकामा भैरव रिसालको आलेख र आफ्नो नोट मिलाईएको रुपमा
साभार : गाैतमजीकाे मुहारपुस्तिका