चीन सरकारकाे पहलमा विभिन्न चिनीँया एयरलाइन्सले पोखरा विमानस्थलबाट उडान गर्नका लागि अध्ययन सुरु गरेका छ। चाइना साउदर्न, चाइना इस्टर्न, एयर चाइना, सिचुआन एयरलाइन्सले त्यस सम्बन्धी अध्ययन सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो।
चीनको ऋण र अनुदानमा बनेको विमानस्थल सञ्चालनमा आउन नदिन भूराजनीतिक अवरोध भइरहेको भान परेपछि चीन सरकारको अगुवाइमा विभिन्न चिनीया एयरलायन्सले उडानकाे तयारी थालेको बुझिएको छ ।
आफ्नो ऋण लगानीमा बनेको यो विमानस्थलविरुद्ध भारतले भ्रमात्मक दुष्प्रचार गरेको बुझाइपछि चिनियाँ एयरलाइन्स कम्पनीहरू उडानका लागि अग्रसर भएका हुन्। विमानस्थल निर्माणका लागि चीनले २२ अर्ब रुपैयाँ ऋण लगानी गरेको मध्ये चिनियाँ एक्जिम बैंकको ७५ प्रतिशत ऋण र २५ प्रतिशत अनुदान रहेको छ। भारतले चीनको ऋणमा बनेको भन्दै पोखराबाट आफ्नो देशमा उडान गर्न दिएको छैन।
अत्याधुनिक पूर्वाधारसहितको निर्माण भए पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले बिजनेस नपाउनुमा भूराजनीतिक कारण केलाउँदै चीन सरकारकै पहलमा विभिन्न एयरलाइन्सले उडानका लागि अध्ययन थालेका हुन्।
नेपालीमा गरिएको चिनीयाँ लगानीप्रति वितृष्णा छर्न भारत अग्रसर देखिएकाले त्यसलाई निरुत्साहित गर्न चीनले आफ्ना एयरलाइन्सलाई उडानका लागि अध्ययन गर्न भनेको हो ।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला सिचुवानको उडानले चिनियाँसँगै नेपाली र विदेशी वायुसेवा कम्पनीले अध्ययन सुरु गरिसकेको बताउँछन् । उनका अनुसार चिनियाँसँगै कोरियाको कोरियन एयर, बंगलादेशको विमान बंगलादेश, भुटानको ड्रुक एयरले पाेखरा विमानस्थलबाट व्यवसायिक उडानका लागि अध्ययन गरिरहेका छन्। हिमालय एयरलाइन्सले पनि पोखराबाट चीनका विभिन्न सहरमा नियमित व्यवसायिक उडान सुरु गर्नका लागि अध्ययन थालेको छ।