अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतिय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने नीतिमा सरकार रहेको प्रष्ट पारेका छन् । आगामी आर्थिक बर्षको बजेटमा उठेका प्रश्नको संघीय संसदमा जवाफ दिंदै डा. महतले विद्युतिय सवारी साधन प्रवर्धन गर्नकै लागि नेपालमा सार्क मुलुकमा नै कम कर लगाएको बताए ।
‘साक मुलुकहरुमा समेत विद्युतिय सवारी साधनको लाग्न पैठारी महसुल दर नेपालको तुलनामा धेरै छ, भारतमा अनएसेम्बल अवस्थाका साधनमा ३५ प्रतिशत, ४० हजार अमेरिकी डलरसम्मको लागि ६० प्रतिशत र सो भन्दा बढि मूल्यको हकमा १०० प्रतिशत रहेको छ भने पाकिस्तानमा ५० प्रतिशत, बंगलादेशमा सबै प्रकारको कर गरेर करिव ९० प्रतिशत र श्रीलंंकामा ५० किलोवाटसम्मका लागि १५ प्रतिशत भन्सार र प्रतिकिलोवाट १५ हजार अन्तः शुल्क लाग्ने व्यवस्था रहेको देखिन्छ,’ महतले भने ।