नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय सचिवालयको दुई दिने बैठक काठमाण्डौमा सम्पन्न भएको छ । मूलतः कमरेड पुष्पलालको जन्म शत वार्षिकी मनाउने बिषयमा केन्द्रित भएको बैठकले समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, जनता र राष्ट्रका अगाडि विकसित भइरहेका गम्भीर संकट र पार्टीले खेल्नुपर्ने र खेल्न सक्ने भूमिका तथा किसान आन्दोलन बारेमा ब्यापक छलफल गर्दै महत्वपूर्ण निष्कर्श निकालेको र निर्णय लिएको छ ।
पार्टीका केन्द्रिय अध्यक्ष क. लोकनारायण सुवेदीको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष क. भीमप्रसाद सेढाईं, महासचिव क. शरणबिक्रम मल्ल, सचिवद्वय डा. क. महेन्द्र जोशी र क. रामदुलार महतो, कोषाध्यक्ष क. सीता सुवेदी सचिवालय सदस्य क. नरेन्द्र तण्डुकार, सचिवालयका पदेन सदस्य क. डीपी आत्रेय र सचिवालयका आमन्त्रित सदस्य क. नरेश अमात्यको उपस्थिति रहेको थियो ।
बैठकले निकालेका निष्कर्श र लिएका निर्णयहरु निम्नानुसार रहेका छन्:
१. बैठकले कमरेड पुष्पलालको आउन लागेको जन्म शत् वार्षिकीको उपलक्षमा बिभिन्न कार्यक्रम सम्पन्न गर्ने र उहाँको सम्मानमा क्यालेण्डर, स्मारिका प्रकाशित गर्नुका साथै केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रहरुमा राष्ट्रब्यापीरुपमा अन्तरक्रिया, प्रशिक्षण, बिचार गोष्ठी, पर्चा वितरण, स्वास्थ्य शिबिर सञ्चाालन, रक्तदान आदि जस्ता कार्यक्रमहरु बर्षभरीमा सम्पन्न गर्ने निर्णय लिदै उहाँले अघि सारेको विचार, सिद्धान्त, कम्युनिष्ट आदर्शको झण्डालाई अझमाथि उठाउँदै संघर्ष, संगठन र सिद्धान्त तीनै क्षेत्रमा आजको सन्दर्भमा थप उजागर गर्ने किसिमले राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका सवालमा पार्टी केन्द्रित हुने निष्कर्श निकालेको छ। यसका लागि आवश्यक तयारी तत्कालैदेखि शुरु गर्ने समेत निर्णय लिएको र जिम्मेवारी तोकेको छ।
२. पार्टीलाई आर्थिकरुपले आत्मनिर्भर र सक्षम तुल्याउँदै जान विभिन्न उत्पादनसँग गासिने, विभिन्न सेवा सञ्चालनका उपायहरु अवलम्बन गर्ने, मितव्ययी बन्ने, फारोतिनो गरेर काम चलाउने, परस्पर सहयोगको सँस्कृति निर्माण गर्ने तथा सादा जीवन र उच्च विचारलाई ब्यवहारबाटै प्रदर्शित गर्ने निर्णय लिएको छ ।
३. राष्ट्रिय राजनीतिमा आएको घोर विचलन र अपूर्व विकृतिले गर्दा आज नेपाली जनताको बलिदानी संघर्षले प्राप्त गरेका उपलब्धीमाथि प्रश्न चिन्ह खडा गर्ने काम स्वयं परिवर्तनका तत्काल सम्वाहक मानिएका सत्ताधारी शक्ति र दलहरुले नै गर्न थालेपछि देशीविदेशी प्रतिगामी तत्वहरुको हौसला बढेको, बाह्य हस्तक्षेपका अनेक परिघटनाहरु भइरहेको तथा नेपाल र नेपाली जनताको अस्तित्व नै ठूलो संकटको भुँवरीबाट गुज्रिरहेको मूल्यांकन बैठकले गरेको छ । यस्तो संगीन र नाजुक स्थितिलाई चिर्दै देश र जनतालाई जोगाउन र सही दिशामा अघि बढाउन ब्यापक राष्ट्रिय जन आन्दोलनको सृष्टि गर्नु बाहेक अरु कुनै विकल्प नएभको बैठकले निष्कर्श निकालेको छ ।
४. देशलाई अन्तर्राष्ट्रियरुपमा नै बद्नाम र लाञ्छित गराउने भूटानी शरणार्थी महाभ्रष्टचार प्रकरणको जुन पर्दाफास भएको छ त्यसले हाम्रो सरकार, प्रशासन र प्रणाली नै चरम भ्रष्टाचरको भाइरसले आक्रान्त बनेको प्रष्ट देखिएको छ । यसलाई सम्पूर्णरुपमा ध्वस्त गरेर जाने कडा कदम नचाले राज्यका कुनै पनि अंग सही ढंगले नचल्ने, एकले अर्काको ढाकछोप गर्ने, दुर्दान्त घटनालाई पनि सामसुम पारेर राजनीति भनेकै अपराधीकरण हो भन्ने जुन गम्भीर स्थिति पैदा भएको छ यसलाई चिर्न र कुनै पनि स्तरको अपराधीलाई बिना मोलाहिजा कानुनको कठघरामा ल्याउनमा तलमाथि गरे देश अझ नराम्रोसँग अराजकताको भुँवरीमा नर्ने भएकोले सम्पूर्ण कम्युनिष्ट, बामपन्थी, राष्ट्रप्रेमी लोकतान्त्रिक शक्तिहरु सशक्त खबरदारी आन्दोलनमा उत्रिन बैठकले जोडदार आह्वान गरेको छ ।
५. बैठकले किसानका आधारभूत सस्यालाई लिएर उठाउन लागिएको संयुक्त किसान आन्दोलनका लागि पार्टीलाई सक्रिय तुल्याउन प्रशिक्ष दिने र राष्ट्रको मूख्य उत्पादक शक्तिलाई उठाउने, जगाउने र अघि बढाउने मूलभूत कार्य बिना नेपाल देशलाई आत्मनिर्भर र समुन्नत बनाउन नसकिने यथार्थलाई औंल्याउँदै किसान आन्दोलनलाई सही दिशा र गति दिन पार्टीका केन्द्रदेखि भुँइतहको पंक्तिसम्मलाई परिचालन गर्न अग्रसर हुने निर्णय लिएको छ ।
६. जतिसुकै ढाकछोपको प्रपञ्च गरे पनि हाम्रो बाह्य सम्वन्धमा खाशगरी भारत र अमेरिकासँगको सम्बन्ध सन्देहास्पद, अधिनस्थकारी र अस्वीकार्य स्थितिबाट गुज्रिरहेको छ । सत्ताधारीहरुले चोचोमोचो मिलाउँदैमा यो सही ठाउमा नआउने र नेपाल अवाञ्छित र अमान्य स्थितिमा दिनप्रतिदिन फस्दै जाने निश्चित छ । अहिलेसम्मका गतिबिधिले उच्च भ्रमणको आदान–प्रदानले पनि स्थितिलाई सामान्य, सहज र पाच्य तथा स्वीकार्य बनाउन सकेको छैन । त्यसैले यो बैठक नेपालको राष्ट्रिय सार्बभौमिकता, स्वाधीनता, अखण्डता तथा राष्ट्रियताका लागि पञ्चशीलको सिद्धान्तकासाथ असंलग्न परराष्ट्र नीति दृढताकासाथ अबलम्बन गदै सबै खाले हस्तक्षेप, प्रभूत्व र हैकमका बिरुद्ध सम्पूर्ण नेपाली जनसमुदाय एकजुट हुनुपर्ने कुरा पहिले कहिल्यैभन्दा बढी खट्किएको कुरा औल्याउँदै यसको निमित्त खडा हुन जन समुदायमा हार्दिक आह्वान गर्दछ ।
७. सम्पूर्ण नेपाली नागरिकता पाउन योग्य ब्यक्तिले नेपाली नागरिकता नियमितरुपमा सहज र सरल किसिमले पाउनु पर्दछ र नागरिकताको समस्यालाई उल्झाइराखे, बिदेशीले नागरिकता पाउने र नेपालमा जानसांख्यिक अतिक्रमण बढ्ने स्थितिको अन्त्य गरिनु पर्दछ भन्ने कुरा पुनः बैठक जोडदाररुपमा दोहोर्याउँदछ ।
८. सरकारको नीति, कार्यक्रम र बजेट हेर्दा त्यो जनता र राष्ट्रको हितमा विश्वसनीय र भरर्दो किसिमले प्रस्तुत नभएको र बिग्रदो आर्थिक स्थिति, चर्को महँगी र जनताको कठिन जीवन यापनलाई बेवास्ता गरेको तथा अर्थतन्त्रलाई पराबलम्बी तुल्याउने दिशा दिइएको मूल्यांकन गर्दै सांसदहरुलाई पाँचकरोड बजेट दिएर जनता र राष्ट्रको अर्बौ रुपया अनेक किसिमले अपचलन गर्ने खतरा रहेको र बद्नाम समेत भइसकेको सन्दर्भमा त्यो बिनियोजित रकम राष्ट्र कोषमा फिर्ता गरी जनहितमा लगाइयोस् भन्ने जोडदार माग बैठकले पुनः गरेको छ ।
९. अमेरिकी नेतृत्वको नाटोले यूक्रेनलाई उचालेर शुरु भएको रुस–यूक्रेन युद्ध भयावह स्थितिमा पुगेको छ । यसलाई तुरुन्त रोकेर जनधनको थप क्षति हुन नदिन, विश्व युद्धको बढ्दो सम्भावनालाई रोक्न र आणविक युद्धको अपूर्व खतराबाट विश्वलाई बचाउन राजनीतिक वार्ताबाट समस्या हल गर्न पनि बैठकले पुनः जोडदार माग गरेको छ ।

ress Release Sachiwalaya Baithak.pdf :To download file click here