शनिबार, कार्तिक ८ गते २०८३

 महँगीको मारमा जनता,उपभोक्ता मुद्रास्फीति ७ प्रतिशत माथी 

जेठ २६, २०८० शुक्रबार
 महँगीको मारमा जनता,उपभोक्ता मुद्रास्फीति ७ प्रतिशत माथी 


यस आर्थिक बर्षको बैशाख मसान्तसम्म उपभोक्ता मुद्रास्फीति उपभोक्ताले थेग्नै नसक्ने गरी बढेको छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदन  अनुसार गत बैशाखसम्म ७ प्रतिशत भन्दा माथी मूल्य वृद्धि रहेको छ । केन्द्रिय बैंकले आज प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय स्थिति अनुसार वैशाख महिनामा उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८७ प्रतिशत रहेको थियो। समीक्षा महिनामा  खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहेको छ ।  

 समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २६.६१ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको १४.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.६९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.४१ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ । खाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.७५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १३.०८ प्रतिशत, शिक्षाको १०.५६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.६५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ८.२७ प्रतिशतले बढेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.६८ प्रतिशत, तराईमा ७.१५ प्रतिशत, पहाडमा ७.५७ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७९ वैशाख महिनामा यी क्षेत्रहरुमा क्रमशः ७.३९ प्रतिशत, ८.१५ प्रतिशत, ७.८९ प्रतिशत र ८.२१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।