विदेशमा रहेका नेपाली नागरिकले मतदाता परिचयपत्र पाउने भएका छन् । निर्वाचन आयोगले विदेशमा रहेको मतदाता नामावली संकलन गर्ने बारेमा तयारी गरेको हो।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गर्ने व्यवस्था मिलाउन लागिएको जनाएका हुन् ।
उनका अनुसार, विदेशमा रहेका नागरिकले अनलाइनमार्फत नेपालमा स्थायी ठेगानामा मतदाता नामावली कायम हुने गरी ‘प्रिरजिस्ट्रेशन’ गरिने भएको छ। यसका लागि सम्बन्धित देशमा रहेको कूटनीतिक नियोगमा व्यक्ति स्वयं उपस्थित भई तस्वीर र औंंठाछाप दिने व्यवस्था मिलाइने छ।
यसका लागि नेपाल सरकारले विदेशमा मतदाता नामावली संकलन गर्नका लागि सैद्धान्तिक सहमति दिने, आवश्यक स्रोत साधन उपलब्ध गराउने र कूटनीतिक पहल गरिदिनुपर्ने आयोगले जनाएको छ।
कूटनीतिक नियोगकै कर्मचारीलाई परिचालन गरेर नामावली संकलन गर्ने योजना आयोगको छ । परराष्ट्र मन्त्रालयसँगको समन्वयमा सम्बन्धित देशको कूटनीतिक नियोगका अधिकृतस्तरका कर्मचारीलाई नाम दर्ता अधिकारी र सहायकस्तरका कर्मचारीलाई दर्ता कर्मचारी तोक्न आवश्यक व्यवस्था मिलाइने भएको छ।
सक्कल नागरिकता साथमा नभएमा राहदानीलाई परिचयपत्रको रुपमा लिई तस्वीर र औंठाछाप दिन मिल्ने व्यवस्था मिलाइने आयोगले जनाएको छ।
यसैबीच आयोगका पदाधिकारीले सरकार समक्ष निर्वाचन आयोगका जिल्ला कार्यालय यथावत राख्न माग गरेका छन् । प्रधानमन्त्रीसँग भेटगरी उनीहरुले आगामी आर्थिक वर्षको बजेटमा आयोगका जिल्ला कार्यालय हटाउने विषय आएको भन्दै त्यसमा पुनर्विचार गर्न माग गरेका हुन् ।