सडक विभागले आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म सडकहरू खन्न रोक लगाएको छ । बर्खायाम लागेपछि बाटो खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र थप बिगार हुने भएकाले सडक खन्नका लागि प्रतिबन्ध लगाइएको सडक विभागले जनाएको छ ।
विभाग अन्तर्गतको सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै २०८० असार १ गतेदेखि भदौ मसान्तसम्म कुनैपनि अवस्थामा सडक खन्न नपाइने जनाएको हो । उक्त अवधिमा कसैले सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कारवाही गरिने समेत सूचनामा जनाइएको छ।
वर्षायाम सडक खनिँदा क्षति हुने र निर्माण गर्दा गुणस्तर नहुने विभागले जनाएको छ । त्यसैगरी ग्रामीण भेगमा नयाँ सडक खन्दा पहिरो जाने समस्या भएकाले पनि वर्षाको समयमा बर्सेनि सडक खन्नका लागि निषेध गरिँदै आएको छ ।
अहिले काठमाडौं उपत्यकामा विद्युतीय तथा इन्टरनेटका तारहरू अण्डरग्राण्डको काम भइरहेकोमा जेठ मसान्त भित्र सक्नुपर्नेछ भने नयाँ ठाउँमा अशोज लागेपछि मात्रै खन्न पाइनेछ ।
विद्युत प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईका अनुसार विद्युतीय तारहरू भूमिगत गर्नको लागि निश्चित समयसम्म सम्झौता भएकाले सो समयसम्म काम सक्ने लक्ष्य रहेको जनाएका छन् ।
नेपालपत्र संवाददाता