भारतको नयाँ संसद भवनको भित्तामा विश्व सम्पदा सूचीमा सूचिकृत नेपाली प्रसिद्ध तथा ऐतिहासिक तीर्थस्थहरु लुम्बिनी र कपिलवस्तु समेत समेटिएको ‘अखण्ड भारत’ नामको भित्ते चित्र (मुरल) अंकित गरेकोमा ६ किसान संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
भारत सरकारको उक्त कदमले नेपालको सार्वभौमिक अखण्डता, राष्ट्रिय स्वाधीनता तथा नेपालको स्वाभिमानमाथि अपूर्व आँच पु¥याएकाले भन्दै ६ किसान संगठनले विज्ञप्तिमार्फत् आपत्ति जनाउँदै तीब्र विरोध गरेका छन् । भारत सरकारलाई उक्त भित्ते चित्रबाट नेपालका गौरवमय स्थलहरु लुम्बिनी र कपिलवस्तुसहितको नेपाली भूमि तत्काल हटाई नेपालको सार्वभौमिक अखण्डता, स्वाधीनता र स्वतन्त्रताको सम्मान गर्न माग उनीहरुको छ ।
अखिल नेपाल किसान युनियनका अध्यक्ष चित्र बहादुर श्रेष्ठ, अखिल नेपाल महासंघका अध्यक्ष बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासंघ(अप्पा)का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान यूनियनका ईञ्चार्ज लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान युनियनका अध्यक्ष दुर्गा जैसीद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा नेपाल सरकारले समेत यस विषयमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्न र देशको सार्वभौमिक अखण्डता, राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको रक्षा गर्नेमा सरकारले दृढता प्रदर्शन गर्नुपर्ने उल्लेख छ ।
