(स्वागता)
=================
लुम्बिनी कपिलवस्तु चढाऊँ
साहुतर्फ दिल हात बढाऊँ
दिन्छु नागरिकता पनि किन्छ
आयु उच्च पदको थपिदिन्छ।
सम्पदा मुलुकको नजराना
भर्न पुग्छ ढुकुटी र खजाना
सुम्पिदिन्छु म सबै जलधार
शान्त पार्न र उखेल्न दरार।
गर्छ जे मसँग माग र दाबी
राख भन्छु घरको बरु चाबी
त्यो भएपछि हुँदैन रडाको
राख्छु मान म बिकेर बडाको।
बल्ल पाउन सकेँ यति मौका
थामिदिन्छ पद इज्जत नौका
टेक्नसक्छ शिरमा निहुरिन्छु
थाल थाप्छु कनिका पनि लिन्छु।
लाञ्छना छ घरभित्र सहेर
साखिलो अति कृतज्ञ भएर
दिन्छ भारी जति जे सब भिर्छु
शक्ति आर्जन गरेर म फिर्छु ।
दिन्छ जे हुकुम मान्दछु मन्त्र
जप्छु नित्य घरमा गणतन्त्र
बोल्छ जो अघि सरी मुख थुन्छु
शक्तिको शिखरमाथि म हुन्छु।
इन्द्र नारायण सुवेदी