सन् २०२३ देखि २०३२ सम्मलाई पर्यटन दशकको रुपमा मनाउने विषय बजेटमा समेटिएकोमा नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स नाट्टाले स्वागत गरेको छ । आगामी आर्थिक वर्ष २०८०।८१ को बजेटमा अर्थमन्त्री डा. प्रकाशशरण महतले निजगढ विमानस्थल निर्माण, साँस्कृतिक सम्पदाहरुको पुर्ननिमाण, नयाँ पर्यटकिय गन्तव्यको पहिचान र पुर्वाधारको विकास गरिने, एअरपोर्टहरुको स्तरोन्नति गर्ने विषयवस्तु उल्लेख गरेकाे भन्दै पर्यटन क्षेत्रको वृद्धि र प्रवर्धन हुने भन्दै नाट्टाले स्वागत गरेको हो ।
तर बजेटमार्फत करको दरमा हेरफेर गरि हालसम्म मुल्य अभिवृद्दि कर (भ्याट) छुट रहेको हवाई टिकटमा भ्याट लगाउने तथा वैदेशिक भ्रमणको प्याकेज विक्री गर्दा ५ प्रतिशत वैदेशिक पर्यटन शुल्क लगाउने व्यवस्था गरिएको प्रति नाट्टाको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
कोभिड महामारी पश्चात भर्खरै तंग्रिन सुरु गरेको पर्यटन व्यवसायमासाविककै आन्तरिक तथा अन्तराष्ट्रिय हवाई भाडादर महंगो रहेकोले यहि अवस्थामा भ्याटसमेत थप गर्दा भाडादर झनै महंगो भई यात्रुहरुले खरिद गर्न नसक्ने अवस्था आउनुका साथै व्यवसायी तथा सम्बन्धीत सरोकारवालाहरुसगंको छलफल र समन्वयबिना ल्याईएको यस्ता नितिनियमले उपभोक्ता, पर्यटन व्यवसायी तथा समग्र पर्यटन क्षेत्रलाई नै प्रतिकुल असर पर्ने उसले जनाएको छ ।
सरकारले हाल पनि विभिन्न शिर्षकहरु राखी हवाई टिकटमा कर रकम उठाईरहेकाअवस्थामा नयाँ बजेट मार्फत लागु गर्न खोजिएको आउटबाउण्ड टुरको ५ प्रतिशत तथा हवाई टिकटमा लगाइने भनिएको १३ प्रतिशत भ्याट के कसरि र कुन आधारमा लिइने हो त्यसको स्पष्ट व्ययस्था समेत नभकाले यसको कार्यान्वयन पक्ष झन जटिल रहेको नाट्टाको ठम्याइ छ ।
बजेटमा ल्याइएको भ्याट र करसम्बन्धी व्यवस्थालाई कार्यान्वयन नगर्न र हालकै व्यवस्थालाई निरन्तरता दिन नाट्टाले विज्ञप्तिमार्फत् माग गरेकाे हाे ।