आइतबार, आश्विन १८ गते २०८३

नेपालमा लुब्रिकेन्ट प्लान्ट स्थापना हुने, गाेल्छा ग्रुप–इन्डियन आयलको संयुक्त लगानी

जेठ १९, २०८० शुक्रबार
नेपालमा लुब्रिकेन्ट प्लान्ट स्थापना हुने, गाेल्छा ग्रुप–इन्डियन आयलको संयुक्त लगानी

गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलास चन्द एण्ड कम्पनीले नेपालमा सर्भो लुब्रिकेन्टको स्थानीय उत्पादनका लागि अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना गर्ने भएकाे छ । इन्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इन्डियन आयल माउरिसस लिमिटेडसँग संयुक्त लगानीमा उक्त प्लान्ट स्थापना गर्ने विषयमा दुवैबीच सम्झाैता भएको हो । 

उक्त प्लान्ट २०२४ को अन्त्यसम्ममा तयार हुने अपेक्षा गरिएको छ । दुवै कम्पनीले ५०र५० प्रतिशत संयुक्त लगानी गर्ने सम्झौता भएको छ । यस संयुक्त लगानीको पहिलो चरण अन्तर्गत अधिकारिक पूँजी लगानी लगभग ६० करोड बराबर हुनेछ ।

आरम्भिक उद्योग स्थापना मात्र नभई यस संयुक्त लगानीकाे सम्झाैताले नेपालको बढ्दो अर्थतन्त्रको विकासका आवश्यकताहरू पूरा गर्न भविष्यमा विस्तार, रणनीतिक साझेदारी र उत्पादन लाइनहरूको विविधीकरण हुने अपेक्षा गरिएकाे छ । 

गोल्छा ग्रुपका म्यानेजिङ डाइरेक्टर एवम् चेयरम्यान शेखर गोल्छाले भने, ‘भारतकै सबैभन्दा ठूलो कम्पनी इन्डियन आयलसँगको हाम्रो लामो सहयात्राको शुभारम्भ भएको छ । यो पहिलो खुड्किला हो र भविष्यमा अन्य थप उद्योग स्थापना गर्ने बृहत योजना छ । यो सहकार्यले नेपाली उद्योगी र उद्योगको इतिहासमा एउटा महत्वपूर्ण कोसेढुंगा थपेको छ । हामी यो साझेदारी र यसले नेपालको औद्योगिक क्षत्रमा ल्याउने परिवर्तनलाई लिएर अत्यन्तै उत्साहित छौं ।’

यो साझेदारी क्षेत्रीय आर्थिक वृद्धिलाई बढावा दिन, आत्मनिर्भरता प्रवर्द्धन गर्न र लुब्रिकेन्ट उद्योगमा प्राविधिक विकासलाई अगाडि बढाउन समर्पित भएको उनले बताए ।

‘मेड इन नेपाल’को परिकल्पनालाई साकार पार्न र लुब्रिकेन्ट उद्योगमा प्रविधिको विकास गर्न यस ल्युब ब्लेन्डिङ प्लान्टको स्थापना महत्वपूर्ण कोसेढुङ्गा मानिएको छ । यति मात्र नभई यो संयुक्त लगानी सम्झौताले दुवै साझेदारहरूको दिगो विकास र जिम्मेवार व्यावसायिक अभ्यासहरू प्रति साझा प्रतिबद्धता जनाउने गोल्छा ग्रुपले जनाएको छ ।