शनिबार, आश्विन १७ गते २०८३

 प्रधानमन्त्री दाहाल र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता,के के विषयमा हुँदैछ छलफल ?

जेठ १८, २०८० बिहीबार
 प्रधानमन्त्री दाहाल र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता,के के विषयमा हुँदैछ छलफल ?

चार दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरू भएको छ । हैदरावाद हाउसमा प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच द्विपक्षीय भेटवार्ता सुरु भएको हो । भेटवार्तालगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने छ । त्यसक्रममा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची छ ।ऊर्जा, ऊर्जा व्यापार, वाणिज्य, हवाईमार्गलगायत विषयमा महत्वपूर्ण छलफल हुने र आवश्यक सहमति गर्ने तयारी छ । यस्तै केही आयोजनाको उद्घाटन र शिलान्यासको कार्यक्रम छ ।

द्विपक्षीय छलफल र भेटवार्तालगत्तै हैदरावाद हाउसमै दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने छन् । प्रधानमन्त्री दाहालको सम्मानमा आजै भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजना गरेका छन् ।प्रधानमन्त्रीस्तरीय छलफल र पत्रकार सम्मेलनपछि आजै प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ ।प्रधानमन्त्री प्रचण्डले आजै ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनखड र ४ः३५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । साँझ सवा ६ बजे होटल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्नेछन् ।