राष्ट्रपति रामचन्द्र पौडेलले विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले नागरिकतासम्बन्धी विधेयकलाई प्रमाणीकरण गरेको राष्ट्रपति भवनका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी हुन् ।
यस अघिको सङ्घीय संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक वि।सं। २०७९ साउन १६ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएकोमा उनले पुनर्विचारका लागि भन्दै फिर्ता गरिदिएकी थिइन् । सो विधेयकमा चित्त नबुझेको भन्दै तत्कालीन राष्ट्रपति भण्डारीले आठ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाएकी थिइन्।
दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर पुनः भदौ २० गते राष्ट्रपतिसमक्ष पठाएको थियो । १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न रोकेकी थिइन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतकाे औपचारिक भ्रमणमा जानु अघि आज नै राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गर्नुलाइ विशेष संकेतको रूपमा हेरिएको छ ।
