शनिबार, आश्विन १७ गते २०८३

२० वटा सरकारी निकाय खारेज गरिने, सरकारी खर्च घटाउन यी व्यवस्था

जेठ १५, २०८० सोमबार
२० वटा सरकारी निकाय खारेज गरिने, सरकारी खर्च घटाउन यी व्यवस्था

 

सरकारले विभिन्न २० वटा सरकारी निकाय खारेज गर्ने भएको छ । अर्थमन्त्री डा. रामशरण महतले बजेट बक्तब्यमार्फत २० वटा समिति तथा बोर्ड लगायतका निकाय खारेज गरेको जनाएका हुन् ।  महतले प्रशासकिय सुधार पुनरावलोकन आयोगले दिएको सुझाव अनुसार २० वटा संस्था खारेज गरिने भएकाे बताएका छन् । बजेटको अनुसूचिमा ती निकायको सूची राखिएको उनले जनाए । त्यसबाहेक उस्तै प्रकृतिका समान जिम्मेवारी भएका कतिपय निकाय एकापसमा गाभिने भएकाे छ ।

आगामी आर्थिक वर्षमा सरकारी कार्यालयका लागि कुनै पनि नयाँ सवारीसाधन तथा फर्निचर किन्नलाइ बजेट बिनियोजन नगरिएको अर्थमन्त्रीले बताए । सवारी साधनको सञ्चालन र व्यवस्थापनमा हुने बढ्दो खर्च नियन्त्रण गर्न सरकारले इन्धनको सट्टा नगद नै प्रदान गर्ने भएको छ । सवारी साधनको सुविधा प्राप्त गर्ने पदाधिकारीलाई स्वीकृत मापदण्डको आधारमा इन्धन वापत नगद नै दिइन लागेको हो। आर्थिक मन्दी सामना गर्न भन्दै आगामी आ.व.मा सरकारले नयाँ भवन समेत निर्माण नगर्ने जनाएको छ ।

त्यसैगरी आगामी आर्थिक वर्षमा कुनै सरकारी संस्थान र नियामक निकायमा नयाँ दरवन्दी सिर्जना गर्न रोक लगाइएको छ। अत्यावश्यक वाहेक वैदेशिक भ्रमणलाइ निरूत्साहित गरिने बजेट वक्तब्यमा जनाइएको छ । चालु खर्चलाई कटौती गर्न प्रोत्साहन र अतिरिक्त भत्ता समेत खारेज गरिएको छ।