चीनमा कमर्सियल एभिएशन कर्पाेरेशन अफ चाइना(काेभ्याक)ले बनाएकाे यात्रुवाहक जेट विमानले पहिलो व्यवसायिक उडान सफलतापूर्वक सम्पन्न गरेको समचार छ । १ सय ६४ सिट क्षमता भएको त्याे विमान सी–९१९ आज आइतवार शाङ्घाईबाट बेइजिङ गएको बीबीसीले जनाएको छ । एक सय ३० जनाभन्दा धेरै यात्रु बोकेको विमान शाङ्घाईबाट तीन घण्टाभन्दा कम समयमै बेइजिङ पुगेको बताइएकाे छ ।
त्यो विमानले पहिलो परीक्षण उडान सन् २०१७ मै गरिसकेको थियो । त्यसपछिका कैयौँ परीक्षण उडानपछि आज पहिलो व्यवसायिक उडान भएको जनाइएकाे छ।
याे सी–९१९ ले फ्रान्सको एअरबस र अमेरिकाको बोइङका जेटहरूको प्रभुत्व तोड्ने चीनको अपेक्षा रहेकाे बताइएकाे छ । तर विमान निर्माणमा अझै पनि इञ्जिन समेत थुप्रै उपकरणमा पश्चिमी उत्पादनमा निर्भर रहेकाे जनाइएकाे छ ।
यस सम्बन्धमाा चीनको सरकारी विमान कम्पनी इस्टर्न एअरलाइन्सले पाँच वटा विमान अर्डर गरिसकेको कोम्याकले जनाएको छ । कोम्याकले आउँदो पाँच वर्षमा एक सय ५० वटा विमान उत्पादन गर्ने लक्ष्य लिएको छ ।
त्यस कम्पनीले एक हजार दुई सयभन्दा धरै विमानका लागि अर्डर सुरक्षित गरिसकेको दाबी गरेको बीबीसीले जनाएको छ । तर सबैजसो माग घरेलु एअरलाइन्सहरूको मात्रै रहेको छ । चीनका राष्ट्रपती शी जिनपिङले यो उपलब्धि सबैभन्दा नयाँ र महत्त्वपूर्ण रहेको बताएका छन् ।