१. पञ्चायतकालको आखिरी तिर मरिचमान सिंह प्रधानमन्त्री हुँदा झापा (नेपाल) मा शरण लिईरहेका मानवअधिकारवादी नेता टेकनाथ रिजाललाई सुटुक्क सुपुर्दगी (Extradition) गरियो । नेपाल र भूटानबीच सुपुर्दगी सम्झौता नै छैन ।
२. शेरबहादुर देउवा गृहमन्त्री रहेको बेला भूटानी शरणार्थीहरूलाई ४ प्रकारमा वर्गीकरण गर्न नेपाल सहमत भयो, जब कि शरणार्थीहरूको वर्गीकरण गर्ने काम नेपालको होइन । यस अनुसार नेपालमा शरण लिईरहेका भूटानीहरूलाई– १. बलपूर्वक विस्थापित भूटानी, २. स्वेच्छाले देश छोडेका, ३. अपराध गरेर शरणार्थीको रुपमा भागेका र ४. स्वदेश फर्किन नचाहने भूटानीहरू भन्ने भूटानको वर्गीकरण डिजाइनलाई नेपालले स्वीकार गर्यो । नेपालको कर्तब्य भूटानी र गैरभूटानी भनी छुट्याईदिने मात्र थियो, को स्वेच्छाले हिंडेको वा अपराध गरेर हिंड्यो, त्यो त शरणार्थीहरूको स्वदेश वापसीपछि भूटानी कानुनले जान्ने मामिला थियो । “नेपालको कथित शरणार्थी क्याम्पहरूमा नेपाली नागरिकहरूलाई नै भूटानी शरणार्थी बनाएर भूटानमा बसोबास गराउने षड्यन्त्र भईरहेको छ” भन्दै भूटान सरकार पूरै बकवास गरिरहेको थियो ।

३. खड्गप्रसाद ओली गृहमन्त्री रहेको बेला यस सम्बन्धमा वार्ता हुँदै जाँदा ओलीजीले स्वभाव अनुसार के छुद्र शब्द प्रयोग गरेछन्, भूटानी समकक्षी जागिहालेछन् । कुरा तँतँ मममा पुगेर पनि झन्डै हात हालाहालको अवस्था आएपछि वार्तासार्ता थन्कियो । यो खबर उसैबेलाका पत्रपत्रिकामा पनि छापिएकै हो ।
४. जानकारी पाए अनुसार भारतका लागि नेपाली राजदूत भएका एक कुटनीतिज्ञले विश्वस्वास्थ्य संगठन (WHO) को निर्देशक तहमा कार्यरत आफ्नी पत्नीलाई अझ पदोन्नतिको निम्ति भूटानको मत लिने स्वार्थले शरणार्थी मामिलालाई भूटान र भारतको स्वार्थअनुरुप मोड्ने भूमिका खेलेको दोषबारे त्यस बेलाका पत्रपत्रिकामा आएको स्मरणीय विषय हो ।
५. नेपालका कतिपय सञ्चारकर्मीहरूले यस मामिलामा भूटानको स्वार्थ अनुरुप प्रचारवाजी गरिदिने सर्तमा थिम्फूको अतिथि भएर ‘अर्थपूर्ण विदाई’ पाएका थिए । तिनको नालिबेली पनि उसैबेला छताछुल्ल भएकै हो ।
६. आज आएर त, शरणार्थी मामिलाको बहानामा आफ्ना नागरिकलाई अनागरिक र शरणार्थीको ट्याग लगाईदिएर अमेरिकातिर मानव तस्करी गर्न गराउनमा प्रधानमन्त्री भईसकेका नेताहरू, उपप्रधानमन्त्री, गृहमन्त्री र उर्जामन्त्री भईसकेका व्यक्तिहरू, तिनका कतिपय स्वास्नीहरू, सल्लाहकार तथा सहयोगीहरूले ठूलै प्रोजेक्ट चलाईरहेका रहेछन् । यसमा राष्ट्रवादको नारा उरालेका, ‘नयाँ नेपाल बनाउन’ ‘महान जनयुद्ध’ मच्चाएका, ‘गौरवशाली पार्टी’ बाट भित्य्राईएका ‘क्रान्तिकारी कमरेडहरू’ को बर्चश्व पनि हेर्न लायक रहेछ ।
आपसमा सिद्धान्त, नीति, दर्शन, लक्ष्य, गन्तव्य केही पनि नमिलेका पार्टीहरू गठबन्धन गरेर सरकार बनाउन किन मरिहत्ते गर्छन् भनेको त देशै बेचेर खान कतैबाट बिघ्न बाधा नपरोस भन्ने नियतले रहेछ भन्ने प्रमाणित भयो। साभार
चन्द्रमणि गाैतम