लेखराज रेग्मी
कोरोना पछि जसरी बिमारी मानिसमा पूर्व प्रभावहरु देखा पर्छन, पूर्ण स्वस्थ बन्न समय लाग्ने मात्र होइन कतिपय अवस्थामा नयाँ नयाँ समस्या पैदा भैरहेका छन। यस्तो समस्या ब्यक्ति र स्वास्थमा मात्र होइन सामाजिक आर्थिक र सांस्कृतिक क्षेत्रमा पनि देखापरिरहेका छनथोरै मात्र औषधि र खाद्य संवन्धि उत्पादन र उद्योगमा अगाडि परेका बाहेक सबै देशको अर्थतन्त्र करिब करिब तहसनहस भएको अबस्थामा छ र यसको प्रभाव दैनिक जन जीवन र जीबिकामा देखापरिरहेको छ ।यो बैश्विक स्तरमा साझा समस्याको रुपमा बिद्यमान छ।
युक्रेन युद्धका बहु आयामिक प्रभाव देखा परिरहेका छन,यसमध्ये अभाव, बेरोजगारी र महंगी प्रमुख छन। उद्योगहरु धाराशायी हुनु (युद्ध सामग्रि उद्योग बाहेक) , बाणिज्य संकट (हतियार ब्यापार बाहेक) देखापर्नु,असुरक्षा र असन्तुलन संगै शक्तिकेहरुको हेरफेर र बिश्वयुद्धको खतरा संगै महाबिनाशको त्रासदी देखापरिरहेको छ ।नेपाल पनि यसबाट अछुतो रहनसक्ने स्थिति भएन ।
युक्रेन युद्ध बिश्वपूजिवादी संकट हल गर्न साम्राज्यवादले लादेको एउटा अभिशाप बाहेक केहि होइन।युक्रेनी भूमीलाई रणमैदानमा परिणत गर्न अमेरिकी साम्रावादको बिघटित सोभियत युनियन आबद्ध नयाँ राज्यहरुलाई आफ्नो पडमा राखेर रुसको घेराबन्दी गर्ने रणनीति मूख्य कारण हो। ती देशहरुमा कठपुतली सरकर गठन र युद्धको तयारी आफ्नोलागि खतराको स्थितिमा पुगेको महसुस गर्दै रुसले युद्धको घोषणा गरेको छ। युक्रेन लाश र खण्डहरको देशमा बदलिई सक्दापनि कठपुतली जेलेन्स्कीको युद्धउन्माद कम भएको छैन।आर्थिक संकटको केन्द्र बनिरहेको युरोप नाटोको दम्भ र आफ्नो भूगोलभित्रका असन्तुष्टिप्रतिको त्रासको कारण सकिनसकी युद्धमा जोडिएर रहेका छन।जर्मन इटली र फ्रान्स जटिल आर्थिक तथा राजनैतिक संकटमा छन र युद्ध जनताको माग र आन्दोलनलाई पछि धकेल्ने बहाना बनिरहेको छ । संत्रस्त साना भूगोल र अर्थतन्त्रहरु यतिबेला युद्धोन्मादको दवावमा कठपुतली बनिरहेका छन।
सबल अर्थतन्त्र र शैन्य क्षमताको विकासमा अगाडि बढिरहेको चीनको भय पैदा गरेर ताइवान र दक्षिण कोरियामा सैनिक अखाडा बनाएर बसेको अमेरिकाको लागि जापानी अर्थतन्त्र संगै नयाँ आर्थिक शक्तिमा फेरिदै गरेका सिंगापुर मलेशिया जस्ता देशहरु र आणबिक शक्तिको रुपमा उदाउदो उत्तरकोरियामा बढ्दो चिनियाँ सहसंवन्ध पनि चुनौति बनिरहेका छन। आई पी एस,एस पि पि, क्वाड लगायत अमेरिकी तथा अमेरिका संलग्न संगठनहरुको मकसद चीनलाई र संगै बिकाश भैरहेका अर्थतन्त्रलाई कमजोर पार्दै हिन्द प्रशान्त क्षेत्रमा अमेरिकी प्रभुत्व कायम राख्ने हतकणडाहरु हुन । भारतमा आफ्नो प्रभाव बढाउन लागिरहेको अमेरिका भारत चीन बिबादबाट फाइदा लिन चाहन्छ। भारत रुस आर्थिक तथा सामरिक संवन्धको लामो इतिहास अमेरिकाको लागि अडचन बनिरहेको छ।
भारतका कतिपय गलत नीति ब्यवहारका कारण नेपाली जनमतमा बढ्दो बामपन्थी प्रभावलाई चुनौति देखिरहेको अमेरिका सुनियोजित नेपाल-नीति अभ्यास गर्न चाहन्छ तर भारत परस्त जनमत हिन्दूवादी संघसंगठनहरु तथा राजतन्त्रवादीहरुप्रति समेत भर पर्न नसकिरहेको अमेरिका नेपालमा तीनवटा मिसनमा काम गरिरहेको छ । इसाई मिसन मार्फत अनुकुल जनमत बनाउनु, पहिचानवादी आन्दोलन मार्फत सामाजिक बिखण्डन पैदा गर्नु, बिभिन्न पार्टीहरुमा आफ्ना एजेण्ट पैदा गर्दै उनीहरु मार्फत भारत तथा चीन बिरोधि जनमत तयार गर्नु। यसरी अनुकूल स्थितिमा कठपुतली सत्ता निर्माण गर्दै र नेपालमा सैन्य अखाडा स्थापना गर्दै एशियामा आफ्नो बलियो र सुरक्षित आश्रयस्थल बनाउने तथा नेपाली प्राकृतिक संपदाको दोहन गर्दै आफ्नो आर्थिक संकट कम गर्ने तथा दिगो शासन कायम गर्ने उदेश्य पुरागर्ने प्रयत्न गरिरहेको छ। यदि चीन र भारतलाई फुटाउन र लडाउन सकियो भने दुवै उदीयमान अर्थतन्त्रमाथि हाबी हुनसकिने महत्वाकांक्षाको अंशको रुपमा नेपालमा एम सि सि प्रवेश गरेको छ। पछिल्लो चरणमा आफ्नो अलग कठपुतली राजनैतिक संगठन बनाउने दिशामा प्रयत्न पनि भैरहेका छन। यसरी अमेरिका हाम्रो आन्तरिक राजनीतिको पनि सरोकारको बिषय बनेकोछ।
हाम्राे आर्थिक सामाजिक अन्तरविरोध, राजनैतिक कार्यक्रमिक तथा नीतिगत अन्तर बिरोधको छिनोफानो अन्तरराष्ट्रिय परिस्थिति र अन्तरराष्ट्रिय अन्तरबिरोधको अंग हुने हुँदा आन्तरिक तथा बाह्य प्रभावको आँकलन बिना परिवर्तन बिकास र प्रगतिका उपरोक्त स्थितिको अनिश्चित धुमिल र अप्रतिबद्ध राजनैतिक परिस्थिति मोटामोटी २०४६को आन्दोलन पछि निरन्तर छ।सबैभन्दा ठूलो पार्टीको रुपमा स्थापित एमालेभित्रको मूल्यबिघटनको राजनीति , ने का मा हाबी दलालपूजिवादी आर्थिक राजनीतिक चरित्र ,भ्रष्टपंचहरुको बिभिन्न पार्टी प्रवेश, नोकरशाहीतन्त्रमा देखिने भ्रष्ट आचरण र यसैकोलागि उर्वर वनेको "गृहयुद्ध"को बिचबाट प्रशासनिक भ्रष्टाचार संस्थागत हुदै नीतिगत भ्रष्टाचारमा उन्नति भएको स्थिति देखिन्छ। राज्यको स्वामित्वका औद्योगिक प्रतिष्ठानहरु धराशायी बन्नु ,युद्धको बहानामा आर्थिक तथा सांस्कृतिक भ्रष्टिकरण तथा सबै आर्थिक प्रशासनिक क्षेत्रमा बिचौलिया हरुको स्थापना र बिकाश,बिकाश बजेटदेखि सामान्य नियमन तथा प्रशासनिक कार्यमा कोटा प्रणाली हुदै राजनैतिक नेतृत्वबाटै नीतिगत भ्रष्टाचार तथा संरक्षण मात्र होइन पछिल्लो समयमा देखिने रानीतिक शक्ति र ब्यक्तिहरुको प्रत्यक्ष संलग्नला भूटानी शरणार्थी प्रकरणमा आइपुग्दा निर्लज्ज देशघाती जनघाती कुरुप आपराधिक स्तरमा उक्लिएर अत्यन्त पीडादायी चरणमा प्रवेश गरेको छ। 'जनयुद्ध'को अगुवाई गरेकाहरु त्यसमा पनि निर्वाचित सरकारमा संलग्न ब्यक्तिहरुको यसमा संलग्नता समेतलाई हेर्दा स्थिति धेरै भयाबह देखिन्छ।यसपटक केही थोरै आशाबादी हुदाहुदै पनि जनतामा बिश्वास पैदाहुने निकै कम संभावना देखिन्छ।
यहि परिस्थितीको बिचमा हामीले राजनैतिक आन्दोलन क्रान्ति वा परिबर्तनका संभावनाहरुको खोजि गर्नु आबश्यक छ।सबभन्दा पहिलो सर्त भनेकै राजनैतिक नेतृत्व प्रतिको नकारात्मक अनुभूतिलाई सकारात्मकतामा फेर्न सक्नुपर्छ र राजनैतिक पार्टी र राजनैतिक आन्दोलनप्रतिको बितृष्णालाई सकारात्मक समर्थन र सहभागितामा बदल्न सक्नुपर्छ । यसले मात्र हामीलाई केहि गर्नसक्ने स्थितिमा पुर्याउनेछ। यसको लागि दृष्टिकोण,आचरण र प्रतिबद्धता द्वारा बिश्वास आर्जन गर्ने सामर्थ्य बिकाश गर्न आबश्यक छ ।जनताको दैनिक जीबनसंग जोडिएको निष्कलंक भरपर्दो सुसंगठित र परिचालित संगठनात्मक ढाँचा आबश्यक हुदो रहेछ।
हामी कम्युनिष्टहरुले भन्नेगरेको जनवादी केन्द्रियता सांस्कृतिक रुपान्तरण र सचेत सर्वहारा समाजवादी प्रतिबद्धता आबश्यक हुदोरहेछ। यस्तो पार्टीसंग आन्दोलनको लक्ष उद्येश्य तथा कार्यक्रमको स्पष्टता आबश्यक हुदो रहेछ र यसलाई प्राप्त गर्ने नीति र दिशाबोध हुनु आबश्यक हुदोरहेछ।त्यससंग जोडिएको जनताको दैनिक जीबन र जीबिकामा सकारात्मक प्रभाब पैदागर्ने तात्कालिक नीति र नारासंगै जनताको बोध र संलग्नताको बिकसितस्थिति पैदागर्ने सहकार्यको सुनिश्चितता आबश्यक हुदो रहेछ। यसले नै बिद्यमान स्थितिमा फेरबदल ल्याउँदै भविष्य सुनिश्चिततालाई समेत योगदान गर्न सक्दो रहेछ । आज यावत सबै सवालमा अबिश्वास,अकर्मण्यता र प्रतिबद्धताको कमी हदैसम्म ओरालोको स्थितिमा छ । बैचारिक अनेकता,आपसि बिश्वासको संकट ,संकिर्णता छलफल बादबिबाद को गैरशास्त्रिय बिभाजन र बिघटनका समस्या टट्कारो देखिन्छ। दम्भ अहंकार र अराजकता आजको समस्याको रुपमा देखिएको छ।
तीब्रतर बिषयकेन्द्रित र तार्किक बहसहरु आबश्यक छन।तर ढिलो भैसकेको छ र हामीले करीव अर्ध सतकको हाराहारीमा गैरजिम्मेवार र गैरजबाफदेहि ढंगले समय बर्बाद गरेका छौं र यहि समयमा केहि सकारात्मक परिस्थिति गुमाएका छौँ। क्षतिपूर्ति सहित काम थाल्न प्रतिबद्ध बनौ। यो आजको आबश्यकता हो र चुनौति पनि।
(साभार)
