शुक्रबार, कार्तिक ७ गते २०८३

जनमत संग्रहमा पञ्चायतलाई यसरी जिताइएछ


जेठ १०, २०८० बुधबार
जनमत संग्रहमा पञ्चायतलाई यसरी जिताइएछ
जनमत संग्रहको घोषणा, १० जेठ २०३६ को सन्दर्भमा
 
जनमत संग्रहमा पञ्चायत पक्षलाई जिताउन तत्कालीन विवादास्पद ब्यापारी चौथमल जाटियासँग रू ३ करोड ५० लाख रकम चन्दा लिएको प्रसंगमा तत्कालीन गृहमन्त्री नवराज सुवेदी आफ्नो संस्मरण, ‘इतिहासको एक कालखण्ड’ मा उल्लेख गर्छन् :
त्यति चन्दा दिन तयार हुनुका साथै उनले चौथमलको जवाफ (सर्त) पनि उल्लेख गरेका छन्, “तर मेरा तीन सर्त छन्— १. गृहमा कारवाही हुँदैछ, चाँडै नागरिकता पाउँ, २. एक ठूलो कटन मिल (सूती कारखाना) काठमाडौँमा खोल्न पाउँ, ३. मसँग सर्पको छाला छ, विदेश निकासी गर्न पाउँ ।”
नवराज लेख्छन्, “चोथमल जाटियाका यी भनाइबाट अब पञ्चायत जिताउन सकिन्छ भन्ने खुसी मनमा लिँदै म सिंहदरबार पुगेँ । प्रधानमन्त्री (सूर्यबहादर थापा) ज्यू मलाई पर्खेर बसिरहनु भएको रहेछ । सबै कुरा सुनेपछि उहाँमा पनि खुसी छायो, “नवराजजी, तपाईले आज ठूलो काम गर्नुभयो । तपाईलाई धन्यवाद छ ।” बेलुका जाटियासँग भेटी कुरा भयो । उनले पनि हतार छैन, मेरो काम जनमतको चुनाबपछि गरिदिनु भए हुन्छ भने, हामी दुबैले उनको सर्त मन्जुर गर्यौँ । यसपछि पञ्चायतलाई पैसाको चिन्ता भएन।”
जाटियासँग बराबर गएर चाहिएको रकम म आफैं ल्याउँथेँ।....त्यो पैसा सबै जिल्लामा बुथ खर्च गर्न भनी पठायौँ । तर त्यो चुनाब जिताउने असली व्यक्ति चोथमल जाटियाको ३ मागमध्ये एक माग पनि पूरा भएन । सूर्यबहादुरजी र मैले प्रयास गर्यौँ, तर हामीले हाम्रो वचन पालना गर्न सकेनौँ । पञ्चायत जितेपछि म नै गृहमन्त्री भएँ, मैले पनि उनको कारवाही भइरहेको नागरिकतासम्बन्धी फायल आफ्नै मन्त्रालय भए ता पनि टुङ्ग्याउन सकिन ।”(सुवेदीको उक्त पुस्तकको पृष्ठ ४२ देखि ४४ सम्म, २०६९)
___
स्मरणीय : २०३७ सालमा प्रकाशित समाचारअनुसार सूर्यबहादुर थापा र नवराज सुवेदीले पञ्चायतलाई जिताउने नाममा ०३६ सालमा उक्त ब्यापारीको साडेतीन करोड रुपैयाँ खाईदिए, काम नगरिदिएपछि चौथमल जाटियाको हर्टएट्याक भएर निधन भयो ।
****
जनमत संग्रहकालिन् अर्थमन्त्रालयका सचिव (अर्थशास्त्री, राजनीतिज्ञ तथा लेखक) डा.देवेन्द्रराज पाण्डे भन्नुहुन्छ–
‘म सँग पञ्चायत जिताउन भनेर चन्दा मागिएको छ,’ आरएनएसीका जिएमले डराउँदै मेरो अफिसमा आएर भने, ‘इमान्दारीपूर्वक काम गरेर कसरि लाखौं चन्दा दिन सकिन्छ।’ यो सूचनाले मलाई दुखी बनायो। केहि दिनमा नेशनल ट्रेडिङ्का जिएम भेट्न आए। उनको दुखेसो पनि उस्तै थियो, ‘चन्दा दिएनौँ भने देख्लास् भनेर थ्रेट आएको छ।’अब मलाई छर्लङ् भइहाल्यो पञ्चायतका नाममा सरकारले नै चन्दा आतंक सुरु गरेको रहेछ। त्यस्तो चन्दा कसैले आफ्नो घरघरानाबाट दिँदैनथ्यो। जुन सरकारी निकायमा काम गर्छ त्यहिँबाट चोरेर दिने न हो। प्रधानमन्त्रीले नै चन्दा मागेपछि कसलाई के को डर । दिन नचाहने बृहस्पतिहरु म सँग आए।
अन्यत्र र अर्थ मन्त्रालयमा पनि कर्मचारी सरुवाको चलखेल हुन थाल्यो। फलानालाई कर, भन्सार ल्याइदिनुपर्‍यो भने र प्रधानमन्त्री आफैले फोन गर्न थाल्नुभयो। भ्रष्टाचारको गुञ्जायस रहेको अरु मन्त्रालयमा पनि त्यस्तै भएको सुनिन्थ्यो । मुलुकको कर्मचारीतन्त्रमा एउटा नयाँ ‘थिती’ वसालियो– कर्मचारीसँग पैसा उठाउने। त्यसभन्दा अघि सरुवा, बढुवा वा अरु निहुँमा कर्मचारीसँग माथिका मानिसले पैसा खान्छन् भन्ने कसैले चिताउन पनि सक्दैनथ्यो। हामी राज्यको सिस्टमभित्रै बसेकाहरुले पनि कर्मचारीसँग माथिका मानिसले पैसा खान्छन् भन्ने कल्पना पनि गर्दैनथ्यौँ।
यसले मात्र पुगेन जनमतसंग्रहको नाममा जंगल सखाप पार्ने काम सुरु भयो। तराईमा रातारात स–मिलहरु खडा भए। मेचीदेखि महाकालीसम्म चारकोसे झाँडीको सालको जंगल सखाप पारेर भारत पुर्‍याइराखिएको हामी पनि सुन्थ्यौँ। जनमतसंग्रहको नाममा मुलुकले वन जंगल क्षेत्रमा अपुरणीय क्षती व्योहोर्यो।
.....
सरकारले कर फछ्र्यौट आयोग बनायो। त्यसको अध्यक्ष हुनुहुन्थ्यो डा. यादवप्रसाद पन्त । व्यापारीक फर्महरुलाई करोडौं आयकर मिनाहा दिने निर्णय हुनथाल्यो । जनमतसंग्रहमा पञ्चायतलाई जिताउने नाममा जथाभावी निर्णय भइरहेका थिए । राजस्वमा ब्रम्हलुट चलेको थियो ।
(सेतोपाटी अनलाईन पत्रिकाका सम्पादक अमित ढकाल र किरण भण्डारीसँगको कुराकानी : २०७२ बैशाख)
साभार : गौतमजीको मुहारपुस्तिका