राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालले सरकारको नीति तथा कार्यक्रमबाट लघु उद्यम विकास कार्यक्रम नहटाउन माग गर्दै सरकारको ध्यानाकार्षण गराएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अहिलेको बेरोजगारीको समस्या व्याप्त भइरहेको आवस्थामा लघु उद्यम विकास कार्यक्रम एकदमै प्रभावकारी भइरहेको भन्दै यसलाई नहटाउन ध्यानाकार्षण गराएको हो । आर्थिक मन्दीको कारण देखाउँदै लाखौं साना उद्यमीलाई मारमा नपार्न उनीहरुले सरकारको ध्यानाकार्षण गराएका हुन् ।
राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालकी अध्यक्ष देवकी घिमिरेलेसरकारले लघु उद्यम विकास कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताईन् । आर्थिक मन्दीको आधार देखाएर राज्यले विभिन्न क्षेत्रको अनुदान कटौती गरिरहको अवस्थामा लघु उद्यमसँग सम्बन्धित् कार्यक्रम नहटाउनका लागि आफूहरुले खबरदारी गरेको उनले बताईन् ।
‘हामीहरुले उद्यम सिर्जना गर्नुपर्ने ठाउँमा उद्यमीहरुको भविष्य कतातिर गइरहेको छ ? भनेर ध्यानाकार्षण गराउनुपर्ने अवस्था आएको छ । विभिन्न किसिमका टिक्काटिप्पणीहरु यस विषयमा उठ्न सक्ला ।’ उनले भनिन्,‘हामीले मिडियाहरुबाट आएका समाचारका आधारमा अहिले आर्थिक मन्दीमा विभिन्न किसिमका अनुदानका कार्यक्रमहरु कटौती गर्ने कुरा भइरहेको हुँदा कतै यो (लघु उद्यम विकास) कार्यक्रम पनि सरकारको यस नजरभित्र परेको त होइन् ? भनेर सरकारलाई ध्यानाकार्षण गराएको हो ।’ उक्त कार्यक्रम स्थानीयस्तरमा एकदमै प्रभावकारी रहेको उनको भनाई छ । उक्तकार्यक्रमको आधारमा बेरोजगार, गृहणी, महिलालगायतले पनि रोजगारी पाएको र लघु उद्यममार्फत आयआर्जनको बाटो अवलम्बन गरिरहेको उनको भनाई छ ।
‘यो कार्यक्रम एकदम प्रभावकारी छ । उद्यमीहरुले उत्पादनलाई व्यवस्था पन र विभिन्न किसिमका कठिनाईहरु सरकारले सुनोस् भनेर सरकारलाई हामीले ध्यानाकार्षण गराएको हो,’– उनले भनिन् । सरकारले साना–साना उद्यम÷व्यवसायलाई प्रवद्र्धन, व्यवस्थापन गर्न र बजारीकरण गर्न आवश्यक रहेको उनले बताईन् । कुन सरकारको पालामा ल्याइएको भन्ने हेरेर भन्दा पनि यसको प्रभावकारिताको आधारमा निरन्तरता दिनका लागि उनले आग्रह गरिन् । बरु उक्त कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि नेपाल सरकारले आवश्यक कदम चाल्न आवश्यक रहेको उनको भनाई छ ।
त्यसैगरी ध्यानाकार्षण कार्यक्रमका प्रमुख अतिथि, लघु उद्यम कार्यक्रम विशेषज्ञ राजन केसीले अहिले देशमा रहेको विभिन्न समस्यामध्ये बेरोजगार समस्या मुख्य भएको बताए । स्थानीयस्तरका स्रोत र साधनलाई परिचालन गरेर विपन्न वर्गलाई पनि उद्यमी बनाउनका लागि उक्त कार्यक्रम प्रभावकारी रहेको उनको दाबी छ । विपन्न वर्गको आर्थिक अवस्था उकास्नका लागि लघु उद्यम कार्यक्रममार्फत राज्यले उद्यमीलाई सामाजिक परिचालन, उद्यमशीलता, लगानीमा पहुँच, बजारीकरण, प्रविधि र सल्लाह दिन आवश्यक रहेको उनको भनाई छ ।
‘विपन्न वर्गको आर्थिक स्थिति उकास्नका लागि एउटामात्रै कुराले पुग्दो रहेनछ । त्यसका लागि सामाजिक परिचालन, उद्यमशीलता, लगानीमा पहुँच, बजारीकरण, प्रविधि र उनीहरुलाई बेलाबेलामा सल्लाह÷सुझाव दिने वातावरण मिलेको खण्डमा स्थानीयस्तरमा उपलब्ध भएका साधन तथा स्रोतको परिचालन गरेर आयआर्जन गर्न सकिन्छ,’–उनले भने ।
अहिले नेपाल सरकारले उक्त क्षेत्रमा काम गरिरहेको भएपनि त्यो पर्याप्त नभएको उनले बताए । सरकारले रोजगार सिर्जना गर्दा साँढे दुई अर्ब पैसाले एक सय जनालाई मात्रै रोजगार सिर्जना गर्नसक्ने उनको भनाई छ । सरकारकाको साँढे दुई अर्ब बजेटले लघु उद्यम कार्यक्रममार्फत् करिब एक लाख पचास हजार रोजगार सिर्जना गर्नसकिने उनको दाबी छ ।
आर्थिक विपन्नता भएका वर्गहरुलाई उक्त कार्यक्रममा जोडेर उद्यमी बनाउन आवश्यक रहेको उनले बताए । विपन्न वर्गलाई उद्यमी बनाउन र बेरोजगारलाई रोजगारी प्रदान गर्नका लागि लघु उद्यम विकास भन्दा अर्को कार्यक्रम नभएको उनको दाबी छ । यस कार्यक्रमका लागि नेपाल सकारले लगानी बढाउन र कार्यक्रमको प्रभावकारी कार्यान्वयनको अर्को विकल्प नभएको उनको भनाई छ ।
राष्ट्रिय उद्यमिता सहजकर्ता महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष प्रेमराज जोशीलेलघु उद्यम विकास कार्यक्रमले देशबाट गरिबी निवारण, वैदेशीक पलायनबाट रोक र देशको आर्थिक विकासको मेरुदण्डको रुपमा काम गरिरहेको बताए । सरकारको नीति तथा कार्यक्रममा लघु उद्यमीको माग र आवश्यकताहरुलाई खुम्च्याउन नहुने उनको भनाई छ ।