नेपाल बैंकर्स संघको प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले ब्याजदर अझै घट्ने बताएका छन् । नेपाल बैंकर्स संघले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘तरलता सहज हुँदैछ, ब्याजदर अझै घट्छ,’ उनले भने ।
उनले सरकारको खर्च बढ्दा निक्षेप बढ्ने आशा रहेको बताए । तरलता सहज अवस्थामा रहेको र कर्जाको तुलनामा निक्षेपको दर बढेको उनी बताउँछन् । ‘खराब कर्जा पनि अब कम हुने अपेक्षा छ, तेस्रो त्रैमासमा ३.०३ थियो,’ उनले भने ।
संघका अध्यक्ष सुनील केसीले पुसमा १०.९१ प्रतिशत पुगेको आधार दर वैशाखमा १०.४८ प्रतिशतमा झरेको छ । जसले गर्दा माघमा यो वर्षकै उच्च बिन्दु १३.०३ प्रतिशत पुगेको वाणिज्य बैंकको औसत कर्जाको ब्याजदर वैशाखमा १२.८४ प्रतिशतमा झरेको बताए ।
‘स्प्रेड दर ४ प्रतिशत कायम गर्नुपर्ने भएकाले पनि असारपछि ब्याजदर थप घट्छ,’ केसीले भने, ‘बैंकमा निक्षेप बढेको अनुपातमा कर्जा लगानी नबढेकाले तरलता पनि सहज हुँदै गएको छ ।’
हाल ४.४ प्रतिशत रहेको निक्षेप र कर्जाको औसत ब्याजदर अन्तर असारदेखि ४ प्रतिशत कायम गर्नुपर्नेछ । स्प्रेड दर राष्ट्र बैंकले निर्धारण गरेको सीमाभित्र राख्न बैंकले ब्याजदर थप घटाउने उनले जनाए ।
‘अन्तिम २ महिनामा सरकारको खर्च बढ्ने भएकाले जेठ र असारमा थप २ खर्ब निक्षेप बढ्ने अनुमान गरेका छौं,’ केसीले भने, ‘अहिलेसम्मको कर्जा विस्तार हेर्दा आगामी दुई महिनामा थप १.५ खर्ब कर्जा विस्तार हुने र समग्रमा गत वर्षभन्दा ६ प्रतिशतले कर्जा बढ्ने देखिन्छ ।’
बैंक वित्तीय संस्थाको पुँजी पर्याप्त अनुपात कसिलो हुँदै गएकाले कर्जा विस्तार घटेको केसीले बताए । ‘बैंक तथा वित्तीय संस्थाको लागत बढ्दा नाफा पनि घट्दो क्रममा छ,’ उनले भने । चालू पुँजी कर्जासम्बन्धी नीतिले आगामी वर्ष कर्जा विस्तार सुस्त हुने र सरकारी खर्च नबढ्ने तथा आर्थिक वृद्धि सुस्त हुने उनको अनुमान छ ।
हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले ब्याजदर घट्दै गएकाले बजार चलायमान हुँदै जाने बताए । ‘खराब कर्जा बढे पनि नेपालका बैंकहरू बलियो अवस्थामा छन्,’ उनले भने, ‘आगामी दिनमा हामी सचेत भएर नीतिगत निर्णय गर्नुपर्ने अवस्थामा हामी छौं । तर, ठुलै जोखिमको अवस्था भने छैन ।’