इमानदारले सामना गर्छ, गद्दारले विश्वासघात गर्छ, वीरले संघर्ष गर्छ, डरछेरुवाले घुँडा टेक्छ’– याे बिश्व प्रसिद्ध कम्युनिष्ट नेता तथा भियतनामका मुक्तिदाता क. हो चि–मिन्ह अर्थात् काका हाे काे भनाइ हाे ।
होेऽ चि मिन्ह (१८९०–१९६९) भियतनामका राष्ट्रपति (१९४५–६९), प्रधानमन्त्री (१९४५–५५) भियतनामी कम्युनिस्टका नेता तथा भियतनामको मजदूर पार्टीका अध्यक्ष हुन् । जनवादी गणतन्त्र भियतनाम, भियतनामी जनसेना र भियतनाम युद्धको समयमा भियत कङ्गकाे स्थापनामा उनको केन्द्रीय भूमिका रहेकाे थियो ।
सत्तामा आउनुभन्दा अघि यिनका ५० देखि २०० वटा छद्म नाम भएको हुनाले होऽ को जीवनकथा यसै थियो भन्न सकिन्न । टाईम अन्तर्राष्ट्रिय म्यागजिनले १९९८ मा बिसौँ शताब्दीका १०० सर्बाधिक प्रभावशाली व्यक्तिमा यिनलाई पनि सूचीकृत गरेको थियो । करिब २० वटा मुलुकमा उनका नाममा स्मारकहरू बनाइएका छन् ।
राजनेताका अतिरिक्त होऽ लेखक, पत्रकार, कवि पनि थिए। उनले भियतनाम स्वाधीनताको सिलसिलामा १९११ देखि ४१ सम्म ३० वर्ष निर्वासित भएको कारणले मातृभाषा भियतनामीका साथै फ्रेन्च, अँग्रेजी, रुसी, चिनियाका क्यान्टोनी र मेन्डारियन भाषा राम्रोसँग लेख्न, बोल्न, पढ्न पनि उनको दखल थियो ।
भारतीयहरू उनलाई ‘भियतनामका गान्धी’ भन्ने गर्छन् । राष्ट्रपति हुँदा उनलाई उनलाई भव्य भवनमा राख्न खोजियो, तर उनले त्यहाँ बस्न इन्कार गर्दै त्यहीँभित्र एउटा आश्रम टाइपको सामान्य निवास बनाउन लगाए र त्यही बसे ।
कामबाट फुर्सद भएपछि उनी पढ्न, बगैँचामा काम गर्न, माछा पालनमा सरिक हुन, विद्यालय तथा बालगृहहरूको भ्रमण गर्न रुचि राख्दथे । उनी अविवाहित थिए र रसिक शैलीमा भन्ने गर्थे, "मेरा दुईटा कुरा ठीक छैनन्, एकल जीवन र अत्यधिक धूमपान ।"
१९६९ मा उनलाई मधुमेह लगायत धेरैवटा रोगले चापेपछि राष्ट्रको काममा खट्न नसक्ने भए । भियतनाम युद्ध सकिन नपाउँदै सेप्टेम्बर ३ मा बिहान उनको मृत्यु भयो । उनको पार्थिव शरीरको अन्त्येष्ठी नगरी लेनिन, माओ, किम इल–सङ् र किम जोङ् इलको जस्तै मौसोलियममा राखिएको छ।
१९८७ मा युनेस्कोले होऽ को शतवार्षिक जयन्ती मनाउन विश्वब्यापी रुपमा आयोजना गरेको थियो । उनको जीवनी र व्यक्तित्वका धेरैवटा फिल्म बनेका छन्।
उनको माथिको प्रतिकात्मक भनाई भान् चि होआङ्द्वारा १९६४ मा लिखित पुस्तक ‘उपनिवेशवाददेखि साम्यवादसम्म : उत्तर भियतनामको परिघटनाको इतिहास’ (From Colonialism to Communism : A Case History of North Vietnam) को पृ. ३७ मा उल्लेखित छ :
"Remember that the storm is a good opportunity for the pine and the cypress to show their strength and their stability."("नबिर्सनुहोस् कि आँधी धूपी र सल्लाका लागि आफ्नो शक्ति र स्थिरता देखाउने राम्रो अवसर हो।)