यस आर्थिक बर्षको चैत्रसम्म बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप ७ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको आर्थिक तथा वित्तीय स्थिति अनुसार त्यस अबधिमा निक्षेप ७ प्रतिशतले बढेर रु.३५५ अर्ब ८९ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.२३६ अर्ब २३ करोड (५.१ प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७९ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.० प्रतिशतले बढेको छ । २०७९ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ८.० प्रतिशत, २५.७ प्रतिशत र ६०.१ प्रतिशत रहेको छ ।
अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.७ प्रतिशत, २८.७ प्रतिशत र ५६.१ प्रतिशत रहेको थियो। २०७९ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.३ प्रतिशत रहेको छ ।