शुक्रबार, कार्तिक ७ गते २०८३

शंघाई सहयोग संगठनको शिखर सम्मलेनको तयारी सन्दर्भ


बैशाख २४, २०८० आइतबार
शंघाई सहयोग संगठनको शिखर सम्मलेनको तयारी सन्दर्भ

यस पटक भारतको गोवामा आयोजित शंघाई सहयोग संगठन(एससीओ)को बिदेश मन्त्री स्तरीय बैठक पाकिस्तानको वरिपरी केन्द्रित भएर रहन पुग्यो भन्ने भारतीय बिश्लेषकहरुको निचोड देखिन्छ । यसको प्रमाणकोरुपमा भारतका बिदेश मन्त्री एस. जयशंकरको बैठक पछिको प्रेस सम्मेलनबाट यही आभास मिलेको उनीहरुले औंल्याएका र अथ्र्याएका छन् । भारतीय सञ्चार माध्यमहरुले पनि यो बैठकको पाकिस्तान र बिलवाल भूट्टो  जरदारीको उपस्थितिको दायरामा भएको आयोजनालाई मध्यनजर राखेरै बिश्लेषण गरेको देखिएको छ । भारतीय बिदेशमन्त्री एस. जयशंकरका अगाडि यस बैठकमा ब्यापक एजेण्डाहरु र तिनको महत्व प्रतिपादित गर्ने अवसर रहेको थियो भन्ने पनि सँगसँगै उनीहरुले उल्लेख गरेका छन् । तर उनले पनि पाकिस्तान र  जरदारीमाथि अनावश्यकरुपले ध्यान केन्द्रित गर्न पुगेको बैठकका मूल मुद्दा ओझेलमा परेको  औल्याएका छन् । 
 वस्तवमा के सामान्य अनुमान थियो भने यो बैठक यूक्रेन संघर्षका सम्वन्धमा एशिया बिशेष गरेर यूरेशिया क्षेत्रमा सहयोग बढाउने र स्थिरता कायम गर्ने आजको महत्वपूर्ण बिषयमा केन्द्रित हुनुपर्ने थियोा । यद्यपि भारतले त सधैंजसो आफ्नो तर्फबाट आतंकबाद र यस सम्वन्धमा पाकिस्तानको भूमिकाको मुद्दा नै उठाउने थियो नै र उठायो नै र त्यस सम्वन्धमा अन्य सदस्य देशहरुले पनि ध्यान दिए होलान् । तर यथार्थतः यो बिदेश मन्त्रीस्तरीय बैठक शंघाई सहयोग संगठन(एससीओं)को शिखर सम्मेलनका लागि सामयिक र सामुहीक  मूल एजेण्डा निर्धारण गर्नका लागि आयोजित थियो । जबकि यसलाई केवल पाकिस्तान केन्द्रित बनाइदा आउदो यसको शिखर बार्ताको महत्व ओझेलमा पर्दथ्यो र त्यसमा बढी केन्द्रित हुनुपर्ने थिएन । हुन सक्छ भारतीय बिदेश मन्त्री जयशंकर रजौरीमा भएको आतंकबादी हमलाले गर्दा बढी पाकिस्तान केन्द्रित भएका होउन् तर त्यसो गरिनु आवश्यक थिएन भन्ने बिश्लेषकहरुको निचोड हो । 

sco.jpg
 यद्यपि अहिलेको बर्तमान यथार्थ के छ भने पाकिस्तान यतिबेल खस्कदो आर्थिक स्थितिका कारण नाजुक बन्दै गइरहेको छ । त्यसले गर्दा अरु कुनै देशहरुसँग अहिले पाकिस्तानको तुलना हुने कुरा पनि रहेको छैन । यद्यपि भारतले आफुलाई  एशिया–प्रशान्त क्षेत्रको संगठन ‘क्वाड’,एससीओ र ब्रिक्स जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुकमा पनि महत्वपूर्ण भूमिका खेलिरहेको स्थितिमा अरुभन्दा बढी अन्तर्राष्ट्रिय साख प्राप्त मुलुक ठान्दछ । यसका अतिरिक्त भारतको बिदेश नीतिमा सामुद्रिक क्षेत्र(इण्डो–प्यासिफिक र भू–क्षेत्र(यूरेशिया) पनि समान महत्वको स्थिति रहेको दर्शाउने गर्दछ । अमेरिका र पश्चिमा देशहरुका साथै भारतका बिशेषज्ञहरुको एउटा ठूलो तप्का पनि इण्डो–प्याशिफिक क्षेत्रमा नयाँ दिल्लीको भूमिका अझ सक्रिय तुल्याउने पक्षधर रहेकै देखिन्छ । यो कुरा अमेरिकाको राजनीतिक हितसँग मेल खाने कुरा नै भयो । अर्कोतिर यूरेशिया रुस र चीनका लागि अत्यन्तै महत्वपूर्ण छ । ऊर्जा आवश्यकताको दृष्टिले पनि यूरेशिया भारतका लागि पनि उत्तिकै महत्वको रहेको पाइन्छ । एससीओमा ईरान समावेश भए पछि यस संगठनको महत्व अझ बढ्न जाने कुरा प्रष्ट छ । 
 यस परिप्रेक्षमा अर्को महत्वपूर्ण कुरा के छ भने भारतलाई यूरेशियासँग जोड्ने अन्तर्राष्ट्रिय उत्तर–दक्षिण परिबहन कोरिडर(इन्स्टक) पूर्णरुपमा सञ्चालनमा आए पछि यस क्षेत्रमा सम्पर्क र आवागमन  प्रणाली अझ बिकसित र कायम हुनजान्छ । अमेरिका र पश्चिमी देशहरु भारत यो यूरेशियामा जोडिन जाने कुराले निकै चिन्तत र सतर्क पनि छन् । अमेरिका यूरेशियाामा रुस र चीनको बढ्दो महत्वलाई कम गर्नका लागि मध्य एशियाका बिभिन्न देशहरुलाई रिझाउने प्रयत्नमा लागिरहेको प्रष्टै देखिन्छ ।  
  त्यसैले यो एससीओकाो गोवा बैठकमा भारतका बिदेश मन्त्री जयशंकरको चीन र रुसका बिदेश मन्त्रीहरुसँगको बैठकलाई बिशेषरुपले ध्यान दिइनु पर्ने आवश्यकता रहेको थियो भन्ने पनि यतिबेल औंल्याइदैछ । के प्रतीत भएको उल्लेख गरिदैछ भने अहिले भारतप्रतिको चीनको दृष्टिकोण नरम र खुल्ला बन्न पुगेको देखिदैछ । चीनका सञ्चार माध्यमहरुका अनुसार सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम गर्नका लागि भारतले जुन जुन कुरामा जोड दिदै आएको छ त्यसमा चीनले पनि सकरात्मक किसिमले सोचिरहेको उल्लेख गरिदैछ । यस अघि भए गरिएका सम्झौताहरु र परस्पर सहमतिहरुको पालना गरिनु पर्दछ भन्ने दुबैको आशय यसमा छ  । यद्यपि अहिले पनि भारत र चीनको सीमानबाट आ–आफ्ना देशका तैनाथ सेनाहरुलाई पछि हटाउने काम पुरा भइसकेको छैन । यस सम्वन्धमा आगामी जुलाईमा नयाँ दिल्लीमा आयोजना हुने एससीओ शिखर सम्मेलनका क्रममा चीनका राष्ट्रपति शी जिनपिङ्गको दिल्ली यात्रा अगाडि केही महत्वपूर्ण कदमहरु उठाइने छ र दुइ देशका बीचको सम्वन्धलई अझ सहज बनाइने छ भन्ने अपेक्षा पनि गरिदैछ । त्यसमा तैनाथ सेनालाई पछि हटाउने एउटा महत्वपूर्ण कुरा पनि हुनसक्छ ।
परिबर्तन हुँदो अन्तर्राष्ट्रि स्थितिका सन्दर्भमा दुइ देश चीन र भारतले आपसी सम्वन्धमा रहेका समस्यालाई सल्टाउने सहज बातावरण बनाउन खोजिरहेका छन् र सम्वन्धमा सुधार हुने अपेक्षा पनि गरिरहेका छन् । एससीओख शिखर सम्मेलनका बेला भारत र चीनका शर्षस्थ नेताहरुका बीचमा हुने बार्ताले यस परिप्रेक्षमा सकारात्मक दिशा लियो भने त्यो एशियाली मुलुकहरुका लागि पनि शुभ र सकारात्मक संकेतको सामयिक समाचार हुने कुरा निश्चित छ । 
 त्यसैले आज के भनिदैछ भने बिश्व घटना परिघटनाहरुको बिकासले जुन परिबर्तित सन्दर्भ खडा गर्दै लगेको छ त्यस आधारमा एशियाली देशहरु चल्न सक्नु र त्यसो गर्न सिक्नुपर्दछ । हाल हुकुम र हैकमको पुरानो अबिश्वास र सन्देहको स्थिति अन्त्य गरेर अगाडि बढ्दै जाने र परस्पर सम्मान, समानता, न्याय र साझा भबिष्यको महत्वपूर्ण पक्षलाई सहज बनाउन र सहयोग पुर्याउन यस्ता संगठनहरुले भूमिका खेल्न सक्ने हो भने त्यो महत्वपूर्ण र सामयिक मानिने छ । एससीओमाा आबद्ध भइरहेका र हुनलागेका देशहरुले यस यथार्थलाई ध्यान दिन सके भने उनीहरुका बीच रहेका समस्याहरुको समाधानको सहज बातावरण बन्न जान्छ । 
 यति बेला यूक्रेन संकटकै कुरा गर्दा पनि के देखिएको छ भने अमेरिकी नेतृत्वको नेटो संगठनमाा भएका फ्रान्स र जर्मनीले चीनसँगको सम्वन्धलाई अमेरिकी आँखाले नहेरी भिन्नै ढंगले अघि बढाउन खोजिरहेका छन् । यी सबै कुरालाई बिचार गरेर भारतले पनि आफ्ना छिमेकी देशहरुसँग बिश्वसनीय र सन्देह रहीत किसिमले समस्या समाधान गर्ने बाटोमा लाग्ने अग्रसरता देखाउन सक्नु पर्दछ । हैकम र प्रभूत्व कायम राखेर असमान स्थितिमा सम्वन्ध सुधारका जाली कुराले बस्तुतः समस्या समाधानको आकार लिदैन । जुन देश परस्पर मिल्नु पर्ने हो र मिल्ने आवश्यकता पनि छ तिनले पश्चिमा खाशगरी अमेरिकाको स्वार्थ अनुकूल चल्न खोज्दा सहयोगी बन्नुपर्ने देशका बीचमा सन्देह र टकरावसम्मको स्थिति खडा हुँदै आएको सबैले अनुभव गरिसकेको र गरिरहेकै कुरा हो । यस्ता कुरामा अल्झेर साझा हितका कुरालाई समेत किनारामा धकेल्ने पुरानो प्रबृत्तिबाट मुक्त हुन सकेमा देशहरुका बीच परस्पर बिश्वास र सौहाद्र्रता बढ्ने कुरा निश्चित छ ।