झापा । झापाकाे काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ। धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्यात गरिएको हो।
याे जानकारी प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्देश्वर ठाकुरले दिएका हुन् । उनले गत बर्ष साउनदेखि चैत मसान्तसम्म काँकडभिट्टा नाका भएर रु १७ करोड ६८ लाख ६८ हजार बराबरको १० हजार एक सय तीन मेट्रिक टन बन्दाकोभी भारत निर्यात गरिएको बताइएकाे छ । काँकडभिट्टा नाकाबाट खाद्यान्न तथा कृषिउपज निर्यात हुने गरेको पनि उनले बताएका छन्।
याे चालु आवको साउनदेखि चैत मसान्तसम्म सो नाकाबाट रु १६ अर्ब १९ करोड १७ लाख ३१ हजार बराबरको एक लाख ५६ हजार नौ सय ९२ मेट्रिक टन खाद्यान्न तथा कृषिउपज निर्यात भएको ठाकुरले जानकारी दिए। सोही अवधिमा काँकडभिट्टा नाका भएर रु नौ अर्ब ३० करोड ५८ लाख ८० हजार बराबरको तीन लाख छ हजार १२८ मेट्रिक टन खाद्यान्न तथा कषि उपज आयात भएको छ।