शुक्रबार, कार्तिक ७ गते २०८३

समाजवाद व्यक्तिको आविष्कार होइन,आर्थिक सामाजिक परिस्थितिको परिणाम हो : क्लेमेण्ट रिचर्ड एट्ली


बैशाख १९, २०८० मंगलबार
समाजवाद व्यक्तिको आविष्कार होइन,आर्थिक सामाजिक परिस्थितिको परिणाम हो : क्लेमेण्ट रिचर्ड एट्ली
 
क्लेमेण्ट रिचर्ड एट्ली (१८८३–१९६७) ब्रिटिश लेबर पार्टीका नेता (१९३५–५५), तथा बेलायतका प्रधानमन्त्री (१९४५–५१) थिए । उनलाई बेलायतका सर्वोत्तम र सक्षम लोकप्रिय प्रधानमन्त्री मानिन्छ । छिमेकी भारतले उनैको पालामा स्वतन्त्रता (१९४७) पाएको हो । उनले बेलयातमा निःशुल्क स्वास्थ्योपचार व्यवस्था गरेर कल्याणकारी राज्य बनाए।
 
‘आईरन लेडी’, कन्जर्भेटिभ पार्टीका नेता तथा बेलायतकी पहिलो महिला र सबभन्दा लामो अवधि प्रधानमन्त्री (१९७९–९०) भएकी मार्गरेट थ्याचर (१९२५–२०१३) ले आफू एट्लीकी प्रशंसक भएको भन्दै उनलाई गम्भीर, देशभक्त एवं राजनीतिज्ञहरूका सामान्यतः देखिने विशेषताभन्दा फरक खालका, साँच्चैका आमूल परिवर्तनकारी र सुधारवादी, सर्वगुण सम्पन्न, सरकारका नेता भनेर उच्च मूल्याङ्कन गरेकी थिईन् (Margaret Thatcher, 'The Path to Power',1995, p. 69)।
 
धनवान वकीलका छोरा एट्ली अक्सफोर्ड विश्वविद्यालयमा पढेर बेरिस्ट्री उत्तीर्ण (कानुनमा स्तानक) भएपनि वकालत पेशातिर नलागेर सामाजिक कार्यमा लागे । समाजवादीहरूको ‘इन्डिपेन्डेन्ट लेबर पार्टी’ का सदस्य बने । पहिलो विश्वयुद्धमा उनले फ्रान्स तथा निकटपूर्वी देशहरूमा सैनिक मेजरको रुपमा लड़ाईंमा पनि भाग लिए । ब्रिटिश सेनामा छोटो सेवापछि उनी १९२२ मा सांसद निर्वाचित भए । लेबोर पार्टीको उपनेता, नेता निर्वाचित हुँदैगए । दोस्रो विश्वयुद्धको समयमा प्रधानमन्त्री विन्स्टन चर्चिलको मन्त्रिमण्डलमा मन्त्री थिए भने चर्चिल पछि उनी नै प्रधानन्त्री भए ।
 
दोस्रो विश्वयुद्धअघिसम्म अमेरिकाको विश्वब्यापी नेतृत्वकारी नीति र भूमिका नै थिएन । एट्लीले नै अमेरिकालाई उसको विश्व भूमिकाको लागि योगदान पुर्याएको यश मिल्छ । युरोपमा अमेरिकाको भूमिका तथा अमेरिकी धनमा पश्चिम युरोपको पुनःनिर्माणको ‘मार्शल प्लान’ मा उनको चलाखीदेखि कोरियाली युद्धमा संलग्नतासम्म ठूलठूला निर्णय लिनमा एट्ली आँटिला, विवेकशील र दूरदर्शी राजनेता थिए ।
 
१९२१ मा साथीहरूसँग इटलीको लामो यात्रामा जाँदा भायोलेट मिलर नामक केटीसँग भेटघाट भयो, हिमचिम र ‘ईलु’ 😁 पनि भएछ, १९२२ मा उनी नै एट्लीकी ‘जहान’ भईन्, ४ छोराछोरी भए । एट्लीलाई सफल बनाउन यी महिलाको समर्पणयुक्त योगदान प्रेरणादायी छ । १९६४ मा पत्नी स्वर्गे भईन् । त्यसको ३ वर्षपछि एट्ली पनि ८४ वर्षको उमेरमा निमोनियाको समस्या भएको बेला ओछ्यानमा सुटुक्क गए । एट्लीको जीवनी रोचक र हाम्रा नेताहरूले पढ्नुपर्ने खालको छ ।
 
क्लेमेन्टको उक्त भनाई लेफ्टबुक क्लबद्वारा १९३७ प्रकाशित ‘लेबोर पार्टी इन पर्सेपेक्टिभ’ पुस्तकको पृ. १५ मा उल्लेख छ, जसको पूर्णरुप :
 
समाजवाद व्यक्तिको आविष्कार होइन,आर्थिक सामाजिक परिस्थितिको परिणाम हो; पूँजीवादका खराबीहरू विभिन्न मुलुकमा गहन फरक हुन्छन्.... मूख्य कारण जीवनका साधनमा निजी स्वामित्व हो भने समाधान सार्वजनिक स्वामित्व हो...
(Socialism is not the invention of an individual. It is essentially the outcome of economic and social conditions. The evils that Capitalism brings differ in intensity in different countries, but, the root cause of the trouble once discerned, the remedy is seen to be the same by thoughtful men and women. The cause is the private ownership of the means of life; the remedy is public ownership).