भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलाउने प्रयास भइरहेको छ । हिजो दिउँसो ४ बजे धादिङको धार्केमा गणेश खोला पुलको सडक भासिएपछि पृथ्वी राजमार्ग ठप्प भएकाे हाे । हिजो बेलुकादेखि नै सडक खुलाउने प्रयास भइरहे पनि साँघुरो ठाउँ भएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय धादिङले बताएकाे छ ।
हिजैदेखि रातभर काम गरे पनि साँघुरो सडक भएका कारण समस्या भएको बताइएकाे छ । यद्यपि सेना, प्रहरी, सडक विभाग लगायतको प्रयासमा सडक खुलाउने कार्य भइरहेको छ । अबको दुई–तीन घण्टामा सडक खुलाउने गरी काम भइरहेको उज्यालाे एफएमसँग बताइएकाे छ ।
सडक ठप्प हुँदा हिजाे दिउसाेदेखि नै यात्रुको भने बिचल्ली भएको छ । लामो दूरीका गाडी चल्ने मुख्य राजमार्ग भएकाले लामो दूरीका यात्रु अलपत्र परेका छन् । कोही नजिकै रहेका आफन्तकोमा गए पनि धेरैजसोले गाडी भित्रै बसेर रात कटाएका प्रहरीले जनाएको छ । ‘
केही घण्टा पछि सडक खुले पनि आज दिनभरजसो नै यो क्षेत्रमा चाप पर्ने सम्भावना छ । सडकको दुईतर्फी नै गाडीको लामो लाइन लागेकाले लामो जाम छ । काठमाण्डौबाट रातको समयमा छुट्ने मालवाहक गाडीको लाम कलङ्कीसम्म नै छ ।
याे पृथ्वी राजमार्ग भएर ६८ जिल्लाबाट दैनिक हजारौँ सङ्ख्यामा गाडी र यात्रु आवतजावत गर्छन् । सडक भासिएपछि प्रहरीले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । पूर्व पश्चिमबाट काठमाण्डौ भित्रने र काठमाण्डौबाट बाहिरिने साना ठूला गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको हो ।
वैकल्पिक बाटोका रुपमा हेटौँडा काठमाण्डाै र काठमाण्डाै नुवाकोट गल्छीको बाटोलाई लिन सकिने बताइन्छ । प्रहरीका अनुसार धादिङ, नुवाकोट र रसुवाबाट काठमाण्डौ भित्रने र बाहिरिनेले नुवाकोटको त्रिशूलीबाट छहरे–ढिकुरेको सडक प्रयोग गर्न सक्नेछन् । यस्तै, पूर्व पश्चिमबाट काठमाण्डौ आउजाउ गर्नेले हेटौँडा हुँदै दामन–पालुङबाट नौबिसे निस्कने बाटो प्रयोग गर्न सक्नेछन् ।