सरकारले एक महिनाको अवधिमा करिब साढे ३३ अर्ब रुपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ । अर्थ मन्त्रालयका अनुसार चैत्र महिनामा ३३ अर्ब ३४ करोड ४५ लाख ८१ हजार रुपैयाँ रकमान्तर भएको हो ।
यो अवधिमा अर्थ मन्त्रालयले २७ अर्ब बराबर आन्तरिक ऋण तिर्नका लागि रकमान्तर गरेको छ । यो रकम अर्थ विविध शीर्षकबाट निकासा दिइएको छ । त्यस्तै अर्थ विविध शीर्षकबाटै गण्डकी प्रदेश प्रमुखको कार्यालयको चालु खर्चका लागि २८ लाख ४३ हजार बराबर थप निकासा दिइएको छ । सङ्घीय संसद् सचिवालका कर्मचारी, सुरक्षाकर्मी र पदाधिकारीका स्वकीय सचिवालयका कर्मचारीका लागि अतिरिक्त समय भत्ताका रुपमा रू ५० लाख निकासा दिइएको छ । लोकसेवा आयोगलाई चार करोड ३३ लाख, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि छ करोड रुपैयाँ बराबर निकासा दिइएको छ ।
चैत महिनामा दुई वटा योजना तथा कार्यक्रमका लागि बहुवर्षीय ठेक्काको स्रोत सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत ललितपुरको गोदावरीमा राष्ट्रिय ‘हरवोरियम’ भवन निर्माणका लागि ४० करोड ५० लाख र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सामाखुसी–टोखा–गुज्रे सडक आयोजनाका लागि रू सात करोड ६२ लाख बराबर स्रोत सहमति दिइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बूढीगण्डकी जलविद्युत् आयोजनाको रू १९ करोड रकमान्तर गरेर नदी नियन्त्रण आयोजनाका लागि दिएको छ ।
बूढीगण्डकी जलविद्युत् आयोजनाको २१ करोड रकमान्तर गरेर बृहत् सरकारी सिँचाइ योजनाको पुनःस्थापना तथा व्यवस्थापन कार्यक्रमका लागि र २५ करोड रकमान्तर गरी सुनसरी–मोरङ आयोजनालाई दिइएको छ । बूढीगण्डकीकै २० करोड समृद्ध तराई–मधेस सिँचाइ विशेष कार्यक्रमका लागि र छ करोड भूमिगत स्यालो ट्युबवेल कार्यक्रमका लागि दिइएको छ ।