आजको अन्तर्राष्ट्रिय राजनीतिमा ग्लोबल साउथ या तेश्रो बिश्वको भूमिकालाई लिएर निकै चर्चा परिचर्चा जारी रहेको छ । शीतयुद्धको कालखण्डमा तेश्रो बिश्वकोरुपमा ती देशहरु सामेल रहेका थिए जो अमेरिका र तत्कालीन सोभियत संघ इतरका देशहरु दुबै गठबन्धनभन्दा बाहिरका देश थिए । तर सोभियत संघको बिघटन पछि भने यो तेश्रो बिश्व शब्दकै प्रयोगको प्रासांगिकता हराएर गएको थियो ।
पश्चिमा देशका बिश्लेषकहरुले दाबी गर्न थालेका थिए कि बिश्व अब एक ध्रुबीय भइसक्याो र अमेरिका बिश्वको एक मात्र शक्ति केन्द्र रह्यो । बितेका दुइ तीन दशकको कालखण्डमा बिश्वमा आएको परिबर्तनको परिणास्वरुप एक ध्रुबीय बिश्व ब्यवस्थाको त्यो बिचार खोक्रो साबित भएको छ । चीन आफ्नो आर्थिक र सैनिक शक्तिकासाथ एउटा बैकल्पिक ध्रुबकारुपमा उदाइरहेको देखिन्छ ।
योभन्दा दशकौं पहिला तेश्रो बिश्वको अगुवाई भारतले गर्न थालेको पनि मानिन्थ्यो । त्यतिबेला भारतका प्रधानमन्त्री रहेका जवाहरलाल नेहरुलाई असंलग्न आन्दोलनको एउटा चमत्कारिक नेताकोरुपमा पनि प्रस्तुत गर्न खोजेको देखिन्थ्यो ।बर्तमान समयमा भने तेश्रो बिश्वको स्थानमा अब ‘ग्लोबल सााउथ’ शब्द प्रचलनमा ल्याउन थालेको देखिदैछ । यसको आधार मूख्यतः आर्थिक बिकासको स्तरमा आधारित भएर निर्धारण गरिदैछ । यो बिसित या सम्पन्न देशहरुको बिपरीत बिकासशील र गरीब देशहरुको समूह मानिने गरेको छ ।

यो ग्लोबल साउथको नेतृत्वका लागि यतिबेलाा चीन र भारतका बीचमा प्रतिस्पद्र्धा भइरहेको एकथरीको बिश्लेषण छ । भारतले आफुलाई एक लोकतान्त्रिक र स्वतन्त्र समाजकोरुपमा आफ्नो दाबेदारी गर्ने खोजेको देखिन्छ । तर चीन भने आफ्नो आर्थिक बिकासको अपूर्ब सबलताले गर्दा अहिले नै ग्लोबल साउथको केन्द्र बनिरहेको छ । यसकासाथै बिश्वमा ब्राजिल र साउथ अफ्रिका जस्ता ठूला देशहरुले पनि चीनलाई नै समर्थन गरिरहेका छन् । त्यति मात्रै होइन, चीनलाई अंकुश लगाउने अमेरिकाको रणनीतिमा सहभागी भइरहेका फ्रान्स र जर्मनी जस्ता देशहरु पनि चीनसँग सामान्य सम्वन्ध कायम राखिराख्न इच्छुक देखिएर अघि सरेका छन् ।
यसका अतिरिक्त साऊदी अरब र ईरानका बीच राजनीतिक मेलमिलाप गराउनमा चीन सफल भभएकाले पनि यतिबेला चीनको कद अझ बढ्न गएको देखिएको छ । हालै चीनले यूक्रेन युद्धलाई समाप्त पार्न पनि पहल गरिरहेको देखिएको छ । यी सबै कारणले गर्दा चीन धेरै अगाडि बढिसकेको छ भने भारत पछि परेको प्रष्टै देखिएको छ । भारत पछि पर्नुका ठोस कारणहरु पनि छन् । पहिलो त बिकास यात्रामा भारत चीनभन्दा केही दशक पछाडि नै छ । चीनको बराबरीमा पुग्न उसलाई अझै लामो समय लाग्ने धेरैले बिश्लेषण गरिरहेका छन् ।
यसै २०२३ को अप्रिल महिनामा भारत बिश्वको सबैभन्दा ठूलो जनसंख्या भएको देश बनेको हो । तर यसबाट भारतको अन्तर्राििष्ट्रय उच्चाई बढ्ने कुरा मानिदैन । यस सम्वन्धमा चीनको बिदेश मन्त्रालयले कुनै देशको जनसंख्या कति छ भन्दा पनि त्यो जनसंख्याको गुणस्तरीयता के कस्तो छ भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ भन्ने धारणा पनि ब्यक्त गरिसकेको छ । यस सम्वन्धमा जर्मनीको एउटा प्रखुम समाचार माध्यमले एउटा कार्टुन प्रकाशित पनि गरेको छ । त्यसमा एकातिर चीनको बुलेट ट्रेन देखाइएको छ भने अर्कोति भारतको गए गुज्रेको ट्रेन जुन रेलको छतमा सयकडौं यात्री सवार छन् । भातरमा त्यस कार्टुनको आलोचना भए पनि बिश्लेषकहरु के भनिरहेका छन् भने त्यसको आलोचना गरेर तीतो पोख्नु भन्दा आवश्यक कुरा के छ भने यो स्थितिलाई कसरी परिबर्तन गर्ने हो त्यतातिर भारतको गम्भीर ध्यान जानु पर्ने आवश्यता छ ।
भारतले युक्रेन युद्ध अझ लम्बियो र थप पश्चिमा सहयोगमा त्यो युद्ध तीब्र हुन पुग्यो भने भारतमाथि कुनै एउटा पक्षमामाथि खुलेर लाग्ने दबाब बढ्ने कुरा पनि ज्ञाताहरु उल्लेख गरिरहेका छन् । यस सम्वन्धमा मई जून महिना महत्वपूर्ण हुन सक्ने आकलन पनि गरिदैछ । अमेरिका र पश्चिमा देशहरुको थप सैनिक सहयोगका कारण युक्रेनले रुसमाथि जबाफी हमहला गर्न पुग्यो भने त्यसका बिरुद्ध रुसले ठूलो प्रभावी प्रतिकार गर्ने कुरा पनि त्यत्तिकै सम्भावित छ । अनि त्यो संघर्ष अझ फैलिन सक्छ । रुस र नाटो देशहरुका बीच शक्ति परीक्षणको स्थिति आउन पनि सक्छ । यस्तै युद्धजन्य परिस्थितिका बीचमा भारतका प्रधानमन्त्रीले जी – ७ शीखर बार्ता र अष्ट्रेलियामा क्वाड शीखर बार्तामा भाग लिन गइरहेका छन् । बर्तमान यूक्रेन युद्धको छायाँ परिरहेको अबस्थमा हुन लागेका ती शीखर सम्मेलनहरुमा भारतको स्वतन्त्र बिदेश नीतिको पनि कडा परीक्षा हुने देखिन्छ । यी सबै कारणले भारत ग्लोबल साउथको नेतृत्व गर्न चीनभन्दा पछि परिरहेको कुरा नै उजागर भइरहेका छन् ।