बुधबार, भाद्र ३ गते २०८३

साकोसहरुलाई डिजिटाइजेसनमा लैजान राज्यले केन्द्रीय संघलाई पूर्ण अधिकार दिनुपर्छ 

श्रावण ३१, २०७८ आइतबार
साकोसहरुलाई डिजिटाइजेसनमा लैजान राज्यले केन्द्रीय संघलाई पूर्ण अधिकार दिनुपर्छ 

 

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीका कारण ५० वर्षयताकै ठूलो आर्थिक मन्दी आउन सक्ने देखिएकाले त्यसलाई व्यवस्थापन गर्न सहकारी क्षेत्र तयार भएर बस्नुपर्ने नेफ्स्कुनका अध्यक्ष परितोष पौडेल बताउँछन् । कोभिडका कारण सिर्जित असहज परिस्थितिले आय श्रृंखला टुट्न पुगेको र मानिसको बचत क्रमशः रित्तिँदैगएको अवस्थामा अबका दिनहरु आर्थिक हिसाबले थप जटिल बन्न सक्ने हुँदा यसतर्फ सबैपक्ष सचेत हुनुपर्ने उनको भनाई छ । सदस्यहरुमा उद्यमशीलता विकास गरी उनीहरुलाई आवश्यक पर्ने ज्ञान, सीप, प्रविधिका साथै वित्तीय पहुँच र वित्तीय समावेशिताले मात्र मन्दीलाई चिर्न सकिने र अर्थतन्त्र चलायमान बनाउन सकिने भन्दै उनले यसका लागि नेफ्स्कुनले पनि डिजास्टर रिस्क रिडक्सनको मान्यतालाई अघि बढाउन लागेको अध्यक्ष पौडेलले बताए । सहकारीलाई बचाउने हो भने डिजिटाइजेसनको विकल्प नभएको उनको भनाई छ । डिजिटाइजेसनले संस्थाहरुको लागत कम, समयको बचत र श्रोतको सिर्जना गर्ने हुँदा त्यसतर्फ जानुको विकल्प नभएको पौड्यालले बताए । डिजिटाइजेसनको पार्टमा वैधानिक उपस्थिति भएन भने नेपालमा सहकारीहरु सबैभन्दा खर्चिला र महँगा हुने उनको दावी छ । राज्यले सहकारीलाई डिजिटाइजेशनको पार्टमा सम्बोधन गर्न सकेन भने सहकारी अभियान लोप हुने उनको दावी छ । डिजिटाइजेसनको सबै भर्सन प्रयोग गर्नको निम्ति सेन्ट्रल फेडरेसनलाई राज्यले अधिकार दिनुपर्ने उनको माग छ । सहकारीले नाफाको लागि काम नगर्ने र राज्यको प्रतिनिधिको रुपमा जनस्तरसम्म रहेर विकास साझेदार भएर सघाउने हुँदा वित्तीय सहकारी अभियानलाई बलियो बनाउन सरोकारवाल सबै निकायले जोड दिनुपर्ने उनको बुझाइ छ ।

कोभिड –१९ले वित्तीय सहकारी अभियानमा पारेको प्रभाव, साकोस अभियानको समस्या र समाधानका उपाय र समसामयिक विषयमा केन्द्रित रहेर अध्यक्ष पौडेलसँग नेपालपत्रन्यूजले गरेको कुराकानीः

 

कोभिड १९ को दोश्रो लहरले साकोस अभियानलाई पारेको प्रभाव कस्तो छ ?

कोभिड–१९ को विश्वव्यापी रुपमा परेको प्रभाव र त्यसलाई न्यूनिकरण गर्न अपनाइएकाका उपायहरुले विश्व अर्थतन्त्रमा नै नकारात्मक असर परेको छ । कोभिड–१९ ले मुलतः ३ वटा क्षेत्रमा प्रभाव परेको छ । आम नागरिक र सहकारीका सदस्यहरुमा जब कोभिडको प्रभाव  देखा पर्न थाल्यो र त्यसलाई व्यवस्थापन गर्ने विषयमा सुरु देखिनै हामी अगाडि बढ्यौं । वित्तीय अवसर र वित्तीय पहुँचलाई सुनिश्चित गर्ने एवं सुलभ वित्तीय उपलब्धतालाई व्यवहारिकरुपमा कार्यसम्पादन गर्नेतर्फ हाम्रो ध्यान गयो । 

यो सैद्धान्तिक मान्यता पनि हो र त्यसकै आधारमा यो विषय अगाडि सा¥यौं । पहिलो चरणमा सदस्यलाई पर्ने प्रभावलाई न्यूनिकरण गर्ने उपाय र मार्गदर्शनहरु जारी ग¥यौं । दोश्रो चरणमा संस्था, संस्थाको कार्यस्तर र कर्मचारीलाई कोभिडको प्रभाव पर्ने हुँदा त्यसलाई न्यूनिकरण गर्न व्यवसायिकताका विषयलाई संस्थागत गर्ने र सदस्य एवं कर्मचारीको सुरक्षामा सहजीकरण गर्ने विषय हो । राज्यव्यवस्था प्रणालीबाट होस् वा त्यो स्वास्थ्य सेवा सहजताको विषय  वा राहत संकलन तथा वितरणसँग जोडिएका विषयहरु होउन्, ती विषयमा हाम्रो उपस्थिति सक्दो मात्रामा जनायौं । 

अहिले हामी तेश्रो चरणमा प्रस्तुत हुने तयारी गरेका छौं । तेश्रो चरणमा प्रवेश गर्दा कोभिड १९ आर्थिक मन्दीको रुपमा देखा पर्ने अनुमान हाम्रो छ । त्यसलाई व्यवस्थापन गर्नको निम्ति हाम्रो कार्यदिशा हुन्छ । हिजो हामीसँग आफ्नो पकेट र बैंक तथा वित्तीय संस्थामा भएको पैसा विस्तारै सकिँदै गएको छ । आय श्रृंखला बिग्रिएको छ । धन सृजनाको काम रोकिएको छ । यी सबै कुराले आउने दिन आर्थिक मन्दीको रुपमा देखा पर्छ र यो मन्दी अलि लामो समय जान्छ । ५० वर्षको दौरानमा हामीले २ वटा आर्थिक मन्दी भोगेका थियौं । त्यो भन्दा अब आउने आर्थिक मन्दी लामो हुने हो कि भन्ने अनुमान गरिएको छ । त्यो आर्थिक मन्दीलाई न्यूनकिरण गर्ने विषयमा हामी राज्यव्यवस्था प्रणालीमा रहेका नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयसँग पटकपटक छलफलमा बसिसकेका छौं । त्यो मात्र नभएर अन्तर्राष्ट्रिय मर्यादा र अभ्यासका नियमहरुलाई नेपालमा कसरी अनुसरण गर्ने भन्ने विषयमा पनि हामीले योजना बनाइसकेका छौं । गत वर्षदेखि हामीले बिजनेस कन्टीन्यूयिटी प्लान ल्याएका छौं । संस्थाहरुको बिजनेस कन्टिन्युयिटी प्लानमा हाम्रो ध्यान पुगेको छ । हामीले प्रत्येक संस्थालाई उक्त प्लान बनाउन भनेका छौं । यो प्लान सानो घेराभित्र हुँदो रहेछ । तर पनि यो विषय नेपालमा सबैभन्दा पहिला नेफ्स्कुनको मार्गदर्शनबाट शुरु भएको हो । त्यसको ६ महिनापछि मात्रै राष्ट्र बैंकले त्यसलाई अुनसरण गरेको हो । अहिले विजनेस कन्टिन्युटि प्लानको ठाउँमा डिजाष्टर रिस्क रिडक्सन(डिआरआर) अघि सारेका छौं । त्यो भनेको समष्टिगत रुपमा हाम्रा संस्थालाई पर्ने समस्या र समस्या समाधानमा हामीले खेल्नुपर्ने भूमिकाहरु रहनेछ । यसकै आधारमा संस्थाको विधि र प्रविधि तयार हुन्छ । यसले नै संस्था र सदस्यको सुरक्षा गर्छ र आर्थिक मन्दीलाई न्युनिकरण गर्ने र त्यसबाट पर्ने प्रभावलाई कम गर्ने हिसाबले सिष्टम विकास हुन्छ ।

कोभिडका कारण मुलुकमा आर्थिक मन्दी देखा पर्ने र त्यसको प्रभाव लामो समयसम्म रहने तपाईंले बताउनुभयो । यस्तो विषम परिस्थितिमा साकोस अभियानको साखलाई जोगाइराख्न र संस्थाहरुलाई समस्यामा पर्नबाट जोगाउनका निम्ति नेफ्स्कुनले कस्तो भूमिका खेल्छ ?

बिजनेस कन्टिन्युटि प्लानसँगै डिआरआरको कन्सेप्ट पनि हामीले अगाडि सारेका छौं । अहिलेसम्म एउटा कोणबाट मात्र काम भएकोमा अब होलिष्टिक अप्रोचबाट वित्त श्रृंखला, वित्त क्रियाशीलतालाई अलि बढि ध्यान दिन्छौं । यो विषयमा हाम्रो क्रियाकलाप अगाडि बढाउँछौं । सदस्यहरुको बीचमा हामीले उद्यमशीलताको कार्यक्रम लिएर अगाडि बढेका छौं र त्यसमा उनीहरुलाई आवश्यक पर्ने ज्ञानमूलक, सीप र क्षमताको कार्यक्रम लैजान्छौं । मुलतः सदस्यहरुको आय श्रृंखलालाई व्यवस्थित गर्दै जाने हाम्रो उद्देश्य हो । आय श्रृंखलालाई व्यवस्थापन गर्ने र धन सृजनाको गतिमा उनीहरुलाई जोड्ने बाहेक अरु कुनै उपायले आर्थिक मन्दीलाई चिर्न सकिँदैन । त्यसका लागि वित्तीय पहुँच र वित्तीय अवसर सृजना गरि वित्तीय समावेशी बनाइन्छ । वित्तीय समावेशीकरणका दुईवटा पाटा हुन्छन् । वित्तीय अवसर सृजना र वित्तीय पहुँ निर्धारण । यी कुरा निर्धारण गर्न सकियो भने वित्तीय समावेशीकरण हुन्छ । वित्तीय समावेशीकरण वित्तीय मन्दीलाई न्यून गर्ने आधार हो । 

कोभिड १९ का बीचमा सहकारीहरुले खेलेको भूमिकालाई कसरी लिन सकिन्छ ?

राज्यप्रणाली उदासीन भयो । बैंकले ५० हजारभन्दा कम निक्षेप लिन छाड्यो । साकोसहरुले घरघरमा गएर वित्तीय सेवा दिए । आम नागरिकको बीचमा हाम्रो सामथ्र्य र योग्यताले भ्याएसम्म सेवा दिएकाले सहकारीप्रतिको विश्वास झन् बढ्न गयो । यसले गर्दा सदस्यको विश्वास कायम राख्न हामी सफल भयौं । यदि जनआधारित नभएको भए धेरै संस्था दुर्घटनामा जान्थे । जनआधारित र समुदायमा आधारित नभएका संस्थाहरुमा समस्या देखिएको छ । आर्थिक मन्दीको बीचमा हामीले गम्भीर समस्याको सामना गर्नुपर्ने हुन्छ । समुदायमा नभएका र सदस्यको विश्वासमा नरहने संस्थाहरुमा समस्या देखिन सक्छ । यसका लागि राष्ट्रिय सहकारी बैंक र नेफ्स्कुन मिलेर ३ अर्बको फण्ड तयार गरेका छौं । त्यो फण्डले सकेसम्म समस्यामा परेका संस्थाहरुलाई जोगाउनेछौं । राज्य व्यवस्थाले जसरी सहकारीको सम्वर्धन र प्रवर्धन गर्नुपर्ने हो त्यो हुन सकेन । त्यसका लागि विभागले पनि सामथ्र्य नै राख्दैन । राष्ट्र बैंकले अनुगमन तथा अन्य पाटोमा बैंक तथा वित्तीय संस्थालाई काँध हाल्छ । हाम्रा लागि काँध हाल्ने निकाय कुनै छैन । स्पष्ट भन्नुपर्दा सहकारी क्षेत्रलाई राज्यले अलिकति विभेद नै गरेको महशुस हुन्छ । राज्यले गर्नुपर्ने भनेको सकारात्मक विभेद हो । सहकारी क्षेत्रलाई विशेष सुविधा  र सहुलियत दिनुपर्ने हो । सहकारीले नाफाकालागि भन्दा पनि  सेवाको लागि काम गर्ने भएकाले नै राज्यले जसरी सहकारी क्षेत्रको लागि सहुलियत  दिनुपथ्र्यो, त्यो दिन सकेको छैन । राज्यको अनुपस्थितिमा पनि हामी छौं भन्ने काम नेफ्स्कुनले गरेको छ । राज्य नआएपनि हामीले खेल्नुपर्ने सहजीकरण तथा संस्थाहरुको सुदृढिकरणका लागि हाम्रो पहल रहन्छ । 

सहकारी अभियानलाई सबल र सुदृढ बनाउन राज्यबाट कस्तो भूमिकाको अपेक्षा गर्नुहुन्छ ?

राज्यले सकारात्मक विभेदको नीति लिनुपर्छ । समुदायको विकासका लागि काम गर्ने भएकाले सकारात्मक विभेद हुनुपर्छ भन्ने हो । सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक र पर्यावरणीय विकास सहकारीको कार्यक्षेत्र हो । त्यो कुराको ‘रेस्पेक्ट, प्रोटेक्ट र फुलफिल’ गर्ने राज्यको दायित्व हो । राज्यको दायित्व सहकरीले निर्वा गर्नुपर्ने भएकाले सहकारीले सकारात्मक विभेदको अधिकार लिन पाउँछ । अब राज्यले प्रवद्र्धनात्मक, नियामक र शिक्षा सूचना तथा तालिमको पाटोमा काम गर्नुपर्छ । त्यसले न्यून आय भएका र निमुखा वर्गमा वित्तीय पहुँच र अवसर सृजना गर्दछ । यी ३ वटा क्षेत्रमा राज्यले सहयोग गर्ने हो भने समाजवाद स्थापना गर्न सकिन्छ ।

सहकारीहरु मुल्य, मान्यता र सिद्धान्त अनुसार चल्न नसक्दा राज्यले आफ्नो भूमिका स्पष्ट नदेखाएको त होइन ?

राज्यमा दृष्टिकोणको विचलन देखिएको छ । अब कस्ता संस्थाहरु सञ्चालन हुने मुख्य कुरा हो । संस्थाहरुमा सञ्चालनको विचलन, नीति कार्यक्रम र अन्तर्राष्ट्रिय सिद्धान्त पालनामा विचलन र संस्थाको कार्यशैलीमा विचलन आएको देखिएको छ । यी ३ वटा विचलनलाई रोक्नको निम्ति सरकारको उपस्थिति नियमनमा देखिनुपर्छ । नियामकको रुपमा राज्य कमजोर देखिएको छ । संघीय विभागले १२५ संस्था हेर्छ । प्रदेशमा नियामकको अत्तोपत्तो छैन । पालिकाहरुमा त झन् कमजोर स्थिति छ । पालिका र प्रदेश तहमा नियामकलाई प्रभावकारी बनाउन आधारशीला भन्ने कार्यक्रम हामीले शुरु गरेका छौं । धेरै पालिकामा आधारशीला भन्ने कार्यक्रम लगेका छौं । सहकारीलाई मूलधारमा ल्याउने र उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि आधारशीलाले गर्छ । त्यसैगरी प्रवद्र्धन, नियमन र तालिम शिक्षाको काम गर्न पालिकालाई सहजीकरणको काम यसले गर्छ । तर अझै प्रभावकारी ढंगले काम गर्न सकिएन । हामी प्रविधि विकास गर्छौ, त्यसलाई राज्यले सम्बोधन गर्नुपर्छ । 


स्थानीय तहमा ८० प्रतिशत सहकारी हस्तान्तरण भएका छन्, आधारशीला कार्यक्रममार्फत ती संस्थाको सबलिकरणमा नेफ्स्कुन भूमिका बढि देखियो नि ?

हाम्रो स्रोतसाधन र क्षमताले जति भ्याउँछ त्यति गर्छौं, कोभिडका बीचमा पनि हामीले ५० भन्दा बढि पालिकासँग यो कार्यक्रमको साझेदारी गरेका छौं । साझेदारी शुरु गरेका पालिकाहरुमा संस्थागत सुदृढिकरण गर्न सहयोग मिलेको उनीहरुले जनाएका छन् । मैले केहि पालिकाका मेयरहरुसँग अन्तर्कृया गर्दा उहाँहरुले सन्तोषजनक भएको प्रतिक्रिया दिनुभएको छ । यो आधारशीला कार्यक्रमलाई समुदायकाबीचमा विस्तारित रुपमा लिएर जान जरुरी छ ।

सहकारीमा प्रविधि भित्राउने र सदस्यहरुलाई आधुनिक सेवा दिने कुरा पटकपटक उठाइराख्नुभएको छ, प्रविधिमा जान सहकारीलाई कहाँनेर समस्या छ ?

सहकारीलाई बचाउने हो भने डिजिटाइजेसनको विकल्प छैन । डिजिटाइजेसनले संस्थाहरुको लागत कम, समयको बचत र श्रोतको सिर्जना गर्छ । यी ३ वटा आधारभूत कुरा बैंकिङ क्षेत्रमा राज्यको नीतिले दिएको छ । तर सहकारी क्षेत्रले प्रत्यक्ष रुपमा प्रयोग गर्न पाएको छैन । संविधानले ३ खम्बे भन्ने, नीति र कार्यक्रममा ३ खम्बे भन्ने, तर व्यवहारमा २ खम्बे १ खम्बे गर्ने यो किमार्थ हुनुहुँदैन । राज्यको विकास प्रणाली र समृद्धिको यात्रासँग सहकारी जोडिएन भने हामी अगाडि बढ्न सक्दैनौं । यदि डिजिटाइजेसनको पार्टमा वैधानिक उपस्थिति भएन भने नेपालमा सहकारीहरु सबैभन्दा खर्चिला र महँगा हुन्छन् । सहकारीले बैंकिङ प्रणालीसँग प्रतिस्पर्धा गर्न नसकेर लोप हुने खतरा छ । राज्यले सहकारीलाई डिजिटाइजेशनको पार्टमा सम्बोधन गर्न सकेन भने सहकारी अभियान लोप भएर जान्छ । डिजिटाइजेसनको विषयमा राज्यले प्राथमिकता दिन सकेन भने ३ खम्बे अर्थ व्यवस्था र वित्तीय सहकारी अभियान लोप हुन्छ । डिजिटाइजेसनको सबै भर्सन प्रयोग गर्नको निम्ति सेन्ट्रल फेडरेसनलाई अधिकार दिनुपर्छ । हामी नाफाको लागि काम गर्दैनौं । हामी राज्यको प्रतिनिधिको रुपमा र राज्यको विकास साझेदारको रुपमा रहन्छौं । त्यो मानेमा डिजिटाइजेसन नेफ्स्कुनको माध्यमबाट गएन र अभियानलाई एक सुत्रमा बाँधिएन भने हाम्रो भविष्य चुनौतीपूर्ण छ ।

राष्ट्र बैंकले सहकारीलाई डिजिटाइजेसन जाने कुरामा सहजीकरण गर्ने जनाएको छ नि ? नीतिगत रुपमा समस्या कहाँनेर हो ?

गलत ! पिएसपी, पिएसओ र डिजिटल फाइनान्सिङका विषयमा जटिलता छ । ती सेवा कुन संस्थाले प्रयोग गर्न सकेको छ ? हामी अन्य कम्पनीसँग जोडिन बाध्य छौं । सहकारीलाई डिजिटल सेवा दिनुहुँदैन भन्ने चेतना लिएर बसेकाहरु छन् । राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर क्लोज माइन्डेड हुनुहुन्छ । क्याप लगाएर बस्नुभएको छ । क्याप ननिकालेसम्म र ओपन माइन्डेड नभएसम्म नेपालको आर्थिक प्रणाली अगाडि बढ्न सक्दैन । 

स्थिरिकरण कोष कार्यान्वायन ल्याउने कुरा भएको धेरै भयो, किन ढिलाई भइराखेको छ ? 

अभियानको अब २ वटा मात्रै यात्रा हो । हरेक संस्था स्तरिकृत हुनुपर्छ । स्तरीकृत संस्थाहरु दुर्घटनामा परे भने सुरक्षा प्रवद्र्धन गर्ने काम स्थिरिकरण कोषले गर्छ । वित्तीय सहकारी अभियानको अब दुइवटा मात्रै यात्रा हो । स्तरिकरण र स्थिरिकरण, यसमा हामी उत्तरदायी हुनुपर्छ । राज्य मुर्छित् छ । उ अनेकौं बहाना बनाएर स्तरिकरण र स्थिरिकरणलाई अवरुद्ध बनाउन लागिराखेको छ । हामी त्यसलाई निकास दिने कुरामा लागिराखेका छौं ।

१४ हजार बचत तथा ऋण सहकारी मुलुकमा छन् । यिनलाई स्तरिकृत गर्न सहज छ त ? 

हामी न्यून अवस्थाबाट उच्च अवस्थामा गइराखेका छौं । हाम्रा समस्याहरु अझ बढि संवेदनशील हुँदै आएका छन् । यसतर्फ हाम्रो ध्यान पुगेको छ । स्थिरिकरण कोष कार्यान्वयन गर्ने कुरामा हामी अगाडि बढ्छौं । स्थिरिकरण कोष कार्यान्वयनको विषयमा, मैले हेर्दा, राज्यले गर्दैन । कानुनमा १० करोड राख्नुपर्छ भनेको छ, राज्य त्यो पुगेको छैन भन्छ । संस्थाहरुलाई भन्यो भने सरकारले १० करोड पु¥याउन सहयोग गर्नुपर्ने होइन र भन्छन् । यहाँ एक अर्कालाई औंल्याउने मात्र काम भएको छ । यी सबै टिप्पणीका बावजुद हामी अगाडि बढ्छौं । यो अभियानले मागिसक्यो । कहिले राज्य पछाडि त अभियान अगाडि हुन्छ । स्थिरिकरण कोषको कार्यान्वयनमा अहिलेसम्म पर्खेर बस्यौं । राज्यले सहजीकरण गरेपनि नगरेपनि नेफ्स्कुनले अब अगाडि बढाउँछ । स्थिरिकरण कोष राज्यभन्दा २ कदम अगाडि बढ्छ ।

क्रेडिट युनियन र कोअपरेटिभका लागि छुट्टाछुट्टै ऐनका विषयमा नेफ्स्कुनले आवाज उठाउदै आएको छ तर यसमा ढिलाइ भइरहेको छ नि, किन ?

हामीकहाँ मुण्डमुण्ड विचार छ । हामीले मूलतः वित्तीय सहकारी अभियान सबै सहकारी अभियान भन्दा पृथक हो भन्दै आएका छौं, अहिले सबै संस्थाले जुन उद्देश्य अनुरुप काम गर्नुपर्ने हो, त्यो नगरी बचतऋणको काम गरेका छन् । मुख्य कारोबारको विषय नै अहिलेको चुनौति हो । वित्तीय सहकारी अभियान जनताको अभियान बन्नुपर्छ । यसले समृद्धिको यात्रालाई सहयोग पु¥याउनुपर्छ । हामी अरुसँग प्रतिस्पर्धा गर्दैनौं । वित्तीय अभियानभित्र अनेकौं वित्तीय सुचकांकका कुरा हुन्छन् । वित्तीय प्रविधि र वित्तीय तत्व तथा विधिका कुरा आउँछन् । तत्व र विधिलाई समष्टिगत रुपमा ऐनमा लगेर राखिएको छ भने विशिष्टिकृत हुन सक्दैन । विशिष्टिकृतको विषयमा हामीले राज्यसँग आवाज उठाइराखेका छौं । यी विषयमा हामीले मन्त्रालयमा पटकपटक छलफल ग¥यौं । अब नेपालको आर्थिक दिशा के हो ? र वित्तीय सहकारिता किन आवश्यक छ भन्ने कुरालाई अगाडि लिएर जान्छौं । क्रेडिट युनियन आयो भने अरु सहकारीसँगको सहकार्य हार्दिकताका साथ बढेर जान्छ र लय पनि समात्छ  । अहिलेको अवस्थामा ऐनमा भएको ३० र ७० प्रतिशतको कार्यान्वयनमा नेफ्स्कुनले जोड दिन्छ । विकसित मुलुकहरुमा क्रेडिट युनियन छुट्टै छ । क्यानडा, अमेरिका लगायतका देशमा क्रेडिट युनियनको अभ्यास छ । हामीकहाँ यसलाई संघ, प्रदेश र पालिकाको विषय बनाइयो । वित्तीय कार्यप्रणालीको विषय केन्द्रीय सरकारको विषय हो । वित्त प्रणाली माथि प्रदेश र पालिकाको सार्वभौम अधिकार हुँदैन । यसो हुन सकेन भने टु टायर सिस्टम चाहिन्छ । यदि वित्तीय सहकारी अभियानलाई सुदृढ गर्ने हो भने टु टायर सिस्टमको विकल्प छैन । क्यानडा, बंग्लादेश र दक्षिण कोरियामा डबल टायर सिस्टम छ । हामीले वित्तीय सहकारी ऐनको मस्यौदा बुझाएका छौं । यस विषयमा राज्य गम्भीर हुनुप¥यो ।

महानगरपालिका र प्रदेश स्तरका संस्थाहरु समस्याग्रस्त बनिरहेका छन्, यी संस्थाहरुको समाधान कसरी होला ?

समस्याग्रस्त सहकारी आयोगले काम गर्न सकेको छैन । सक्दैन पनि । चारचार वर्षदेखि राज्यको ठूलो स्रोत खर्च भइराखेको छ । तर एउटा कुनै संस्थाको समस्या समाधान गर्न सकेको छैन । त्यस्तो आयोग बनाएर के अर्थ भयो ? यो त संघ अन्तर्गतको कार्यक्षेत्र भयो । पालिका स्तरमा एकजना न्यायाधीश र तीनचार जना अधिकृतस्तरको संयन्त्र बनाए पालिकाले पाल्ने सामथ्र्य राख्दैन । समस्याग्रस्त आयोग तत्काल खारेज गर्नुपर्छ । यसबाट कुनै समाधान निस्कँदैन ।