
दिनेशप्रसाद श्रेष्ठ
२०३९ साल मंसीर १० गते (१० डिसेम्बर १९८१) अर्थात् ३९ बर्ष अघि विश्व मानव अधिकार दिवस पारेर तत्कालीन पंचायती शासन ब्यवस्था बिरुध्द नेपालगञ्ज बजारमा जन प्रदर्शनकाे नेतृत्व गर्न मैले स्वर्गीय मनमाेहन अधिकारीजीलाई बाेलाएकाे थिए। म यस बिराेध प्रदर्शन कार्यक्रमकाे आयाेजक थिए।
त्यतिबेला न त एमाले, न त माअाेवादी पार्टी थिए। यिनकाे कार्यकर्ता हुने त कुरै थिएन। माले पार्टीको नाम त सुनेकाे थिए । तर माले पार्टी कार्यकर्ताहरु वाँके- बर्दियामा एक्का दुक्का थिए र बिराेध जन प्रदर्शनकाे आयाेजना गर्न सक्ने हैसियतमा थिएनन्। वाँके-बर्दियामा मनमाेहन अधिकारी नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) काे संगठन अरु कम्युनिस्टहरुकाे भन्दा राम्राे थियाे।
उक्त दिन मार्क्सवादीहरु र कांग्रेसीहरु तथा वाँकेका ग्रामीण जनतालाई बिराेध जन प्रदर्शनमा सहभागी हुन मैले विशेष मेहनत गरेकाे थिए। त्याे दिन बिहानै मलाई कार्यक्रम फिर्ता लिन वाँके जिल्ला प्रशासनले दवाब दियाे। मैले मानेन। अनि मलाई गिरफ्तार गरेर राख्याे। मैले तयारी गरे अनुसार मलाई पूर्ण बिश्वास थियाे कि कार्यक्रम भब्य भएरै छाेड्छ। उक्त दिन अन्तत: बिराेध प्रदर्शन भएरै छाेड्याे स्वर्गीय मनमाेहन अधिकारीकाे नेतृत्वमा।
त्यस दिनकाे स्वर्गीय मनमाेहन अधिकारीकाे नेतृत्वमा भएकाे जन प्रदर्शन २०१७ सालपछिकाे मध्य तथा सुदूर पश्चिम नेपालकाे पहिलाे सफल प्रदर्शन थियाे। यसका लागि त्यतिबेलाका मार्क्सवादी र काँग्रेसी स्थानीय नेता तथा कार्यकर्ताहरु धन्यबादका पात्र हुनुहुन्छ । बीबीसी नेपाली सेवाले यसकाे समाचार त्यसै दिन साँझकाे कार्यक्रममा प्रसारण गरेकाे पनि थियाे।
त्याे र त्यसपछिका स्वर्गीय मनमाेहन अधिकारीसंगकाे सतसङ्गमा म आफुले गरेका जनअधिकार सम्बन्धि थुप्रै कार्कलापहरुकाे स्मरण गर्दै वहाँप्रति भावभिनी हार्दिक श्रध्दाञ्जली अर्पण गर्दछु।