शनिबार, आश्विन १७ गते २०८३

भ्रष्टाचार निर्मूल पारूँ भनी त्यसको मूल पत्ता लगाउँदै जाँदाजाँदा म त राजदरबारको ढोकामा पो पुगेछु : डा. के.आई.सिंह

बैशाख १४, २०८० बिहीबार
भ्रष्टाचार निर्मूल पारूँ भनी त्यसको मूल पत्ता लगाउँदै जाँदाजाँदा म त राजदरबारको ढोकामा पो पुगेछु : डा. के.आई.सिंह
डोटी रैका राजाका सन्तान डा. के.आई सिंह (वि.सं.१९६३–२०३९) पुख्र्याैली थलो डोटीको डुमराकोट हो र उहाँको खास नाम इन्द्रध्वज शाही हो । पछि इन्द्रजीत सिंह कुँवर बनाउनुभयो । राजा महेन्द्रले हात लिने प्रयासमा पत्र लेख्दा डाक्टर लेखिदिएकोले “राजाले डाक्टर लेखेपछि मैले मजाले लेख्न हुन्छ” भनी आफ्नो नाममा डा. थप्नुभएको हो ।
भारतको उत्तरप्रदेशस्थित सिङ्गाईमा बस्दा त्यहीँबाट उहाँ नेताजी सुबासचन्द्र बोसको आजाद हिन्द फौजमा कम्पाउन्डरको रुपमा १९८९ देखि ९१ सालसम्म काम गर्नुभयो । २००७ सालको क्रान्तिमा उहाँ नेपाली काँग्रेसमै आबद्ध रहेर रुपन्देही क्षेत्रमा निकै सक्रिय रहनु भयो ।
त्यसैबेला क्रान्ति स्थगनको घोषणा गरियो तर उहाँले दिल्ली सम्झौता धोका हो भन्दै क्रान्ति जारी राख्ने प्रयास गर्नुभयो । यसलाई रोक्न तत्कालीन सरकारले भारतीय सेना बोलाएर उहाँलाई रुपन्देहीमा गिरफ्तार गरी सिंहदरबारमा बन्दी बनायो । बन्दी अवस्थामै उहाँले त्यहाँका सुरक्षाकर्मीहरूलाई हात लिएर २४ घन्टा सिंहदरबार कब्जा गर्नुभयो । त्यसपछि बन्दी अवस्थामै जेलबाट भागेर उहाँ चीनमा शरण लिन पुग्नुभयो ।
चीनमा ५ वर्ष शरण लिएर बसेको बेला राजा महेन्द्रले चीनको भ्रमण गरेपछि माफी दिएर स्वदेश बोलाए र २०१४ साउन ११ गते नेपालको प्रधानमन्त्री बनाए । ‘म पहिले भ्रष्टाचार निर्मूल पार्छु, अनि आम चुनाब गराउँछु’ भन्ने डा. के.आई. सिंहको मन्त्रिमण्डल सोही वर्षको कार्तिक २९ सम्म सत्तामा रह्यो ।
२०३६ साल अघिसम्म उहाँ तत्कालिन व्यवस्थापिका राष्ट्रिय पञ्चायत सदस्य हुनुहुन्थ्यो । जनमत संग्रहको घोषणा गरिएपछि उहाँले रा.पं.स. बाट राजिनामा दिएर बहुदलीय पक्षमा सक्रियतापूर्वक लाग्नुभयो र २०३८ सालको पञ्चायती आमनिर्वाचनमा रुपन्देहीबाट निर्वाचित हुनुभयो ।
२०१५ सालको आमनिर्वाचनमा उहाँको पार्टी धानको बाला चुनाब चिन्ह भएको संयुक्त प्रजातन्त्र पार्टी थियो । जो ५ जना सांसद निर्वाचित भएको संसदको तेस्रो ठूलो शक्तिका रुपमा थियो ।
हँस्यौलीपूर्ण, साहसिक, मुहँफट शैली, इमानदारी उहाँका भाषण आदि अभिव्यक्तिमा प्रकट हुन्थ्यो । यस सन्दर्भमा टंकप्रसाद आचार्य प्रधानमन्त्री भएकोमा उहाँको प्रतिक्रिया यस्तो थियो, “देशमा दशा प्रकट भयो भनेर त प्रधानमन्त्रीको नामले नै बताउँछ । टंकप्रसादको नाम उल्टोबाट पढ्नुहोस् त दशाप्रकटं हुँदैन ?”
घाँटीको क्यान्सरले डा. के.आई. सिंहको निधन भयो । उहाँसँग मेरो अन्तिम भेट वीर अस्पतालमा राखिएको बेला भएको थियो ।
सिंहको उपरोक्त भनाई मंगलादेवी सिंहको संस्मरण ‘नारी संघर्षका पाईलाहरू’ (संस्मरणको सम्पादन तथा प्रस्तुतिमा मेरो सक्रिय संलग्नता रहेको) पृ. १३२ मा उल्लेखित छ । यसको पूर्ण रुप, “मेरा पालामा भ्रष्टाचार निर्मूल पारूँ भनी म त्यसको मूल पत्ता लगाउँदै गएँ । जाँदा जाँदा म त राजदरबारको ढोकामा पो पुगेछु । जुन दिन म त्यहाँ पुगेँ, मैले मेरो मन्त्रिमण्डल विघटन भएको सुन्न पर्यो ।”
 साभार  : गाैतमजीकाे मुहारपुस्तिका