राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रवि लामिछानेले ५०००० मत नघाएका छन् । प्रतिनिधि सभा सदस्य पदका लागि चितवन निर्वाचन क्षेत्र नं २ मा सम्पन्न उप–निर्वाचनकाे मतगणना जारी रहेको छ । हालसम्म कुल ७० हजार २३९ मत गणना हुँदा लामिछानेले ५०,०२९ मतसहित अग्रस्थानमा छन्। उनले पाएको मत गणाना भएकाे कुल मतको ७१ प्रतिशत हो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनका निकटतम् प्रतिद्वन्द्विभन्दा ४० हजार ८६४ मतान्तरले लामिछाने अगाडि रहेका छन्। सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका जीतनारायण श्रेष्ठले ९१६५ मत ल्याएर दोस्रो तथा एमालेका रामप्रसाद न्यौपाने ८८७७ मतसहित तेस्रो स्थानमा छन्।
मंसिरमा सम्पन्न निर्वाचनमा कुल ८४, ३१५ मत खसेकोमा लामिछानेले ४९ हजार २९६ मत ल्याएका थिए। जुन ५८।५ प्रतिशत हो ।
काँग्रेसका उमेदवार श्रेष्ठले आफ्रनो हार स्वीकार गर्दै लामिछानेलाई भेटेर बधाई दिएका छन् । उनले संक्षिप्त प्रतिक्रिया दिँदै पुराना दलहरूले जनताको आवाज सुन्नुपर्ने र कार्यशैली बदल्नु पर्ने धारणा व्यक्त गरे ।