बुधबार, भाद्र ३ गते २०८३

क्रान्ति भनेको शोषकहरुका बिरुद्ध शोषितहरुको अधिनायकवाद हो : फिदेल कास्त्रो


बैशाख १२, २०८० मंगलबार
क्रान्ति भनेको शोषकहरुका बिरुद्ध शोषितहरुको अधिनायकवाद हो : फिदेल कास्त्रो
फिदेल अलेजान्द्रो कास्त्रो रुज (१९२६–२०१६) विश्व राजनेताको कोटीमा आउने क्युबाली हुन् । उनले सन् १९५९ देखि १९७६ सम्म क्युबाको प्रधानमन्त्री र त्यसपछि २००८ सम्म क्युबाकै राष्ट्रपतिको रुपमा जिम्मेवारी सम्हाले, जो संसारको सबभन्दा लामो शासन चलाउने कीर्तिमानको रुपमा पनि आउँछ ।
क्युबामा कम्युनिस्ट शासनको स्थापना उनैले गरेका हुन्। उनीभन्दा पहिले क्युबामा फुल्जेन्सियो बातिस्ता राष्ट्रपति थिए । १९५३ मा बातिस्तालाई अपदस्थ गर्ने असफल प्रयत्न उनैको डिजाइनमा भएको थियो । यही घटनाको दोषीका रुपमा क्यास्त्रो गिरफ्तार भएर एक वर्ष जेल परे । १९५९ मा दोस्रो पटक बातिस्ता अपदस्थ भए । यो कार्य अमेरिकाले मन पराएको थिएन । त्यसैले क्यास्त्रोलाई मार्ने ठूलठूला षड्यन्त्र भए । ४० वर्षसम्म आर्थिक नाकाबन्दी गरियो । यसका विपरीत क्यास्त्रोले तत्कालीन सोभियत संघसँग घनिष्ठता कायम गरे ।
१९६२ मा सोभियत संघलाई क्युबामा आणविक हतियार तैनात गर्न स्वीकृति दिए, जो ‘क्युबाको मिसाइल संकट’का नामले चर्चित छ । क्यास्त्रोले दक्षिण अफ्रिकाको रंगभेदी शासनको पनि प्रखर विराधी भूमिका निर्वाह गरे । नेल्सन मण्डेलासँग जेल जीवनदेखि नै क्यास्त्रोको घनिष्ट सम्बन्ध थियो ।
राजा वीरेन्द्रलाई उनी मन पराउँथे र सिगार लगायत क्युबाका उत्पादन उपहारका रुपमा पठाइरहन्थे । यही सम्बन्धको प्रभावका रुपमा २०३६ सालमा क्युबाको राजधानी हवानामा असंलग्न राष्ट्रहरूको शिखर सम्मेलन भएपछि नेपाललाई क्युबाली चिनी पठाइएको थियो ।
एक अधिनायकवादी कम्युनिस्ट नेता भए पनि क्यास्त्रो नेपालजस्ता मुलुकको अस्तित्व, न्याय र स्वाभिमानका एक बुलन्द आवाज थिए । उनले क्युबामा कुनै बाटो, संस्था आदि आफ्नो नाममा राख्न दिएनन् र उनकै इच्छाका कारण मृत्युपर्यन्त पनि यो कार्य क्युबामा कानुनद्वारा नै बन्देज छ ।
उनको शेषपछि आफ्नै भाई राउल क्यास्त्रो (१९३१- ) ले क्युवाको सर्वोच्च सत्ता सम्हाले । २०२२ मा उनले पनि सत्ताबाट विदाई लिएपछि मेगेल डियाज क्यानेल (Miguel Díaz-Canel) ले उत्तराधिकार सम्हालेका छन् ।
साभार : गाैतमजीकाे मुहारपुस्तिका