दाेलखा । वित्तीय व्यवस्थापनमा दोलखाका सहकारी संस्थाहरु अब्बल देखिएका छन् । बैंक तथा वित्तीय संस्थाहरुलाई समेत तरलता व्यवस्थापनमा समस्या परिरहेका बेला दोलखाका सहकारीले भने तरलतालाई चुस्त रुपमा व्यवस्थापन गर्न सकेका छन् । जिल्लामा रहेका अधिंकाश सहकारी संस्थाले १० प्रतिशत भन्दा माथि तरलता कायम गरेका छन् । पल्र्सको मादण्ड अनुसार १० देखि १५ प्रतिशत तरलता भएका संस्थालाई राम्रो संस्थाको रुपमा लिन सकिन्छ । दोलखामा रहेका अधिंकाश सहकारी संस्थाको पल्र्स अनुसार नै १२ प्रतिशत भन्दा बढी तरलता कायम छ ।
विश्व अर्थतन्त्रमा आएको मन्दीसँगै मुलुकको अर्थतन्त्र समेत प्रभावित भएका कारण कतिपय जिल्लाका सहकारी संस्थालाई तरलता व्यवस्थापनमा चुनौती रहेको भए पनि दोलखाका सहकारी संस्थामा अहिलेसम्म तरलता व्यवस्थापनमा कुनै समस्या नरहेको सहकारीर्मीले बताए । दोलखाका अधिंकाश सहकारीले सदस्यबाट नियमित बचत संकलन गर्ने गर्छन् । जुन बचत सानो र लामो समयका लागि हुने भएकाले संस्थाहरुलाई तरलता व्यवस्थापनमा ठुलो सहयोग मिलेको छ । समुदायस्तरमा रहेका सहकारीमा विगतमा जति बचत सदस्यबाट आउँथ्यो, त्यो अहिले पनि आइरहेकाले वित्तीय व्यवस्थापनमा टेवा पुगेको सहकारीकर्मीहरुको भनाई छ । जिल्लामा रहेका सहकारीले ऐच्छिक र आवधिक बचत भन्दा पनि नियमित बचतलाई प्राथमिकतामा राखेकाले तरलता व्यवस्थापनमा सहयोग पुगेको उनीहरुको भनाई छ । नियमित बचत लामो समयसम्म रहने र तत्काल फिर्ता गर्नु नपर्ने, सदस्यले पनि सानो बचत भएकाले सदस्यता त्याग गरेपछि मात्रै फिर्ता लैजाने हुँदा तरलताको चाप नपरेको हो ।
जिल्ला सहकारी संघ दोलखाका व्यवस्थापक राजकुमार दहाल अन्य जिल्लामा जस्तो दोलखाका सहकारी संस्थामा तरलता व्यवस्थापनमा कुनै समस्या नआएको बताउँछन् । अधिंकाश सहकारी समुदायमा आधारित भएर नीति, विधि र प्रविधिलाई आत्मसात गरेर सञ्चालन भएकाले तरलता व्यवस्थापनमा कुनै समस्या नभएको उनले जानकारी दिए । जिल्लामा साना देखि ठुला वित्तीय कारोवार गर्ने धेरै संस्था भएको भन्दै उनले दोलखा जिल्ला सहकारीको उर्वर भूमि समेत भएको बताए । शहरी क्षेत्रमा सहकारीप्रति अविश्वासको भावना सृजना हुँदै गएको भएपनि दोलखामा त्यस्तो अवस्था नरहेको दहालको भनाई छ । मुलुकमा रहेका कतिपय सहकारी संस्थामा समस्या आएपछि जिल्लामा रहेका संस्थाको अवस्था के छ भनेर संघले अध्ययन गरेको र जिल्लामा रहेका कुनै पनि संस्थामा बचत फिर्ता गर्न नसक्ने गरी समस्या नरहेको उनले प्रष्ट पारे । विश्व अर्थतन्त्रमा नै समस्या आएकाले संस्थाहरुले सदस्यले मागे बमोजिम ऋण दिन नसके पनि सदस्यले राखेको बचत फिर्ता नै गर्न भने कुनै समस्या जिल्लाका सहकारीमा छैन ।
‘जिल्लामा रहेका सहकारी संस्थाले पर्याप्त तरलता व्यवस्थापन गरेर बसेका छन् र बचत फिर्ताकै समस्या यहाँका सहकारीले झेल्नु परेको छैन,’ उनले भने । पछिल्लो समय जिल्लामा कति सहकारी दर्ता भए भन्ने एकिन तथ्याङक छैन । तत्कालिन डिभिजन सहकारी कार्यालयको डाटा अनुसार जिल्लामा ५२२ सहकारी दर्ता रहेका मध्ये ४०८ सहकारी संघमा आवद्ध छन् । कतिपय संस्था एकिकरणमा गएका हुनाले संस्था घटेको हुन सक्ने उनको भनाई छ । बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्न नसकिरहेका बेला यहाँका सहकारीले सदस्यको आवश्यकता अनुसार स सानो ऋण समेत लगानी गर्दै अएका छन् । सदस्यका छोराछोरी वैदेशिक अध्ययनका लागि जान होस् या घरायसी खरखाँचो टार्न समेत सहकारीले ऋण लगानी गर्दै आएका हुन् । अधिंकाश सहकारी संस्थाले नियमित बचत भनेको बुढेसकालको सहारा भएको र भविष्यमा बाल बच्चाको शिक्षादिक्षामा समेत लगाउन सकिने भएकाले तत्काल ननिकाल्न सिकाउँदै आएका छन् । मासिक सयपचास रुपैया गरेर जम्मा गरेको बचत सदस्यले पनि हत्तपत्त निकाल्न चाहँदैनन् । अलि ठुलो रकम भयो भने त्यसले केही गर्जो टार्न सहयोग मिल्ने हुदाँ निकाल्न पनि सक्छन् । ‘मासिक सयपचास रुपैया गरेर जम्मा गरेको बचत सदस्यले नै फिर्ता गर्न चाहँदैनन्’, उनले भने ‘नियमित बचत सानो देखिएपनि जम्मा गर्दै जाँदा भविश्यमा ठुलो पुँजी निर्माण हुन्छ । धेरै सदस्य भएका संस्थामा मासिक रुपमा त्यो पैसा जम्मा हुँदा पनि धेरै हुने भएकाले सामान्य परिस्थितिले त्यस्ता संस्थालाई समस्या पार्ने देखिँदैन ।’
जिल्लाका सहकारीप्रति आम सदस्यको विश्वास उत्तिकै रहेको छ । अहिले पनि धेरै संस्थाले सदस्य विस्तार गरिराखेका छन् । गाँउ गाँउमा गएर वित्तीय साक्षरता कार्यक्रम गरी संस्थाहरुले सदस्यता विस्तारसँगै उनीहरुको विश्वास जितिरहेको पाइएको छ । ‘सहकारी पैसाको पसल भएको र एउटा सदस्यबाट बचत लिएर अर्को सदस्यमा ऋण लगानी गर्ने हो’, दहाल भन्छन्, ‘प्रत्येक संस्थाले सहज अवस्थामा १० प्रतिशत तरलता राखेर बाँकी सदस्यलाई नै ऋणको रुपमा लगानी गर्ने हो । लगानी सिष्टममा उठ्छ । १० प्रतिशत भन्दा बढी बचत भएका २०÷२५ जना सदस्य बचत फिर्ताका लागि संस्थामा आए भने कुनै पनि संस्थाले तत्काल बचत फिर्ता गर्न सक्दैन ।’ त्यसपछि सदस्यमा संस्थाले बचत फिर्ता गर्न सकेन भन्ने गलत सन्देश जाने भन्दै उनले समुदायमा आधारित संस्थाले त्यो कुरा सदस्यलाई बुझाउनु पर्ने जनाए । सिष्टममा नै समस्या आएको र सदस्यको व्यापार व्यवसायमा समस्या भएकाले ऋण असुलीमा भने केही समस्या देखिएको छ । सदस्यहरुमा ऋणको साँवा व्याज तिर्ने मन भए पनि आम्दानीको स्रोत कम भएकाले ऋण असुलीमा भने केही समस्या आएको हो । जिल्लामा बदनियत राखेर ऋण नतिर्ने सदस्यहरु भर्ने कमै रहेका छन् । अहिलेको अवस्थामा प्रारम्भिक संस्थाहरुमा तरलता समस्या नआओस् भनेर संघले संस्थाहरुलाई पर्याप्त तरलता राख्न भनेको छ भने ऋण लगानीमा पनि अति आवश्यक बाहेकका ऋण लगानी नर्गन सुझाएको छ ।
मुलुकको अर्थतन्त्र नै संकटमा रहेकाले संस्थाहरुले सचेत भएर लगानी गर्न सकेनन् भने दुर्घटनामा पर्न सक्ने भएकाले सबैपक्षले त्यसतर्फ ध्यान पुर्याउनु पर्नेमा उनको जोड छ । नवितम ढंगले असुलीका प्रकियालाई र नियमित बचत संकलनलाई पनि अगाडि बढाउनु पर्नेमा उनको जोड छ । जिल्लामा रहेका सहकारीले ६ अर्ब भन्दा बढी पुँजी संकलन गरेका छन् । डुब्लिकेशनले गर्दा जिल्लाको जनसंख्या भन्दा बढी सहकारीको सदस्य रहेको तथ्याङक रहेको छ । सहकारीले सदस्यहरुको आर्थिक तथा सामाजिक रुपमा रुपान्तरणमा समेत महत्वपूर्ण योगदान गरेका छन् । सहकारीले बचत गर्ने बानीको विकास गर्नुका साथै सदस्यलाई केही न केही पेशामा जोडेर आयआर्जनका साथै आर्थिक क्रियाकलाप समेत लगाउदै आएका छन् ।
त्यसैगरी हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेत ऋणको उठ्ने दर क्रमिक रुपमा घट्दै गए पनि तरलता व्यवस्थापनमा भने समस्या नरहेको बताउँछन् । अन्य जिल्लामा जस्तो वित्तीय संकट दोलखामा नरहेता पनि सबै तिर वित्तीय जोखिम बढेकाले त्यसले संस्थालाई पनि असर पार्न सक्छ भनेर आफुहरु सचेत रहेको उनले बताए । संस्थामा भुकम्प, कोभिड र अहिले वित्तीय संकटको अवस्थामा पनि १४ प्रतिशत भन्दा कम तरलता कहिल्यै नरहेको उनले बताए । संस्थामा चैत्र मसान्तसम्ममा भने १६ प्रतिशत तरलता पुगेको छ । संस्थाप्रति सदस्यको विश्वास रहेको र ठुलो बचत फिर्ताको लागि कुनै सदस्य नआएको उनको भनाई छ । सदस्यले आवश्यकता परेको बेला बचत फिर्ता लिनु नियमित पक्रिया भएको र आवश्यकता भन्दा बढी बचत फिर्ताको माग सदस्यबाट नआएको उनको भनाई छ । संस्था सुरक्षित रहेको र कारोबार गर्न डराउनु पर्दैन भन्ने सन्देश सदस्यहरुलाई दिँदै आएको उनले बताए ।
बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न सघाएको तर सहकारीले पनि यस्तै कारोवार गर्ने भए पनि कुनै निकायले सहयोग नगर्नु दुखद भएको उनको भनाई छ । जिल्लाको आर्थिक विकासको साझेदार भनेको सहकारी रहेको छ । ‘हिजो नाङलो पसल र फुटपाथमा व्यापार गर्नेहरुसँग आज घरगाडी छ, त्यो हैसियत सहकारीले बनाएको हो’ उनले थपे, ‘ वित्तीय संंकटका बीचमा पनि सदस्यलाई व्यवसायिक बनाउनु पर्छ र कृषि तथा पशुपालमा जोड्नुपर्छ भनेर सहुलियत व्याजदरमा ऋण लगानी गर्दै आएका छौं ।’ समग्र अर्थतन्त्रमा परेको मार जिल्लाका सहकारीमा परेको भएता पनि बचत तथा अन्य प्रकृतिका कुनै पनि संस्थाले सदस्यको बचत फिर्ता गर्नै नसकेको जस्ता समस्या नआएको सिइओ बस्नेत बताउँछन् ।
त्यसैगरी दोलखाको मैनापोखरीमा केन्द्रिय कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दाहाल विश्व अर्थतन्त्रमा आएको मन्दी र त्यसले नेपालको अर्थतन्त्रमा प्रभाव पारेका कारण सहकारी क्षेत्र पनि प्रभावित भएको बताउँछन् । ग्रामीण परिवेश र समुदायमा आधारित संस्थाहरुमा तरलता व्यवस्थापनमा असर नपरेको भएता पनि ऋण असुलीमा भने समस्या भएको उनले बताए । संस्थामा चैत्र मसान्तसम्म ४० हजार सदस्य आवद्ध रहेको र उनीहरुको आवयकताका आधारमा उत्पादनमूलक क्षेत्रमा ऋण लगानी गर्दै आएको उनले जनाए । वित्त बजारमा सहकारीप्रति नकारात्मक छाप परेकाले सदस्य माझ पुगेर संस्थाको वित्तीय अवस्थाको बारेमा जानकारी दिने गरेको उनको भनाई छ । वित्तीय बजारमा तरलताको अभाव भए पनि गत बर्षको तुलनामा यो बर्ष बचत संकलन राम्रो भएको सिइओ दाहालले जानकारी दिए । गत आर्थिक बर्षमा ४/५ करोड बचत संकलन गर्न सकेकोमा यस आर्थिक बर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १८ करोड बचत संकलन भइसकेको उनको भनाइ छ । यसले संस्थाप्रति सदस्यको आकर्षण बढिरहेको पुष्टी गर्छ ।
संस्थाले पछिल्लो समय अनुपात्दक क्षेत्रमा ऋण लगानी रोकेको छ । संस्थाले उत्पादनमूलक र वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीको हकमा ३० लाखसमम्म ऋण लगानी गर्दै आएको उनले बताए । चैत्र मसान्तको तथ्याङ्कलाई आधार मान्दा संस्थामा १४ प्रतिशत तरलता रहेको छ । जिल्लामा रहेका सहकारी संस्थामा अहिलेसम्म तरलताको समस्या नरहेको र बचतकर्ताले आफ्नो बचत फिर्ता नपाएको गुनासो बाहिर नआएको उनले जानकारी दिए । जिल्लामा समुदायमा आधारित संस्था धेरै भएको हुनाले अन्य जिल्लाको जस्तो बचत नै फिर्ताको समस्या नआउने उनको भनाई छ । भाखा नाघ्ने ऋणको दर भने बढ्दै गएकाले भोलीका दिनमा वित्तीय जोखिम आउन सक्ने सम्भावना हुँदा त्यसतर्फ भने सचेत हुनुपर्ने उनले औंल्याए ।
मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपाने पनि जिल्लाका सहकारीहरुमा अहिलेसम्म तरलता समस्या नपरेको बताउँछन् । संस्थामा १४ प्रतिशत माथि तरलता कायम रहेको र संस्थाले वैदेशिक अध्ययनमा जाने विद्यार्थी र उत्पादनमूलक क्षेत्रमा ३० लाख रुपैयासम्म ऋण लगानी गर्दै आएको उनले बताए । संस्थामा सदस्यहरुबाट नियमित बचत आउने भएकाले प्रायः संस्थाहरुलाई तरलताको संकट नपरेको उनको ठम्याइ छ । ‘स्तरिकरण कार्यक्रममा जोडिएका संस्थाले पल्र्स मनिटरिङलाई फलो गर्ने हुँदा तरलता राम्रो छ,’ उनले भने, ‘पल्र्सलाई फलो नगर्ने संस्थाहरुमा केहि कमी भएपनि अन्य जिल्लाको जस्तो बचत फिर्ताको गुनासो सदस्यबाट आएको छैन ।’
जनमुखी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक भेषबहादुर मिजार संस्थामा २२ हजार सदस्य आवद्ध रहेको र उनीहरुबाट मासिक बचत आउने भएकाले तरलताको कुनै समस्या नरहेको बताउँछन् । ग्रामीण भेगका संस्थाहरुले मासिक बचतलाई प्राथमिक्तामा राख्ने गरेको र संस्थाको ९६ करोडको ब्यालेन्स सिट रहेकोमा ५० करोड मासिक बचत मात्रै रहेको उनको भनाई छ । जिल्लाका सहकारीमा तरलता समस्या नरहेको उनले बताए । विगतमा संस्थाले १ करोडसम्म लगानी गर्ने गरेको भए पनि अहिले भने वैदेशिक अध्ययनका लागि जाने सदस्यका छोराछोरीलाई २५ लाखसम्म र ससानो व्यवसाय गर्ने सदस्यलाई १५ देखि २० लाखसम्म ऋण लगानी गरिरहेको उनले जानकारी दिए ।
मासिक बचत नै मुख्य श्रोत रहेकाले आर्थिक मन्दीको अवस्थामा पनि तरलता व्यवस्थापनमा मदत पुगेको उनको भनाई छ । अर्थतन्त्रमा नै आएको समस्याका कारण ऋण असुलीमा केही समस्या भए पनि कृषि, पशुपालन र खुद्रा व्यापारमा गरेको लगानीको भने असुली राम्रो भएको उनले बताए । मुल्य, मान्यता र सिद्धान्त बाहिर रहेर चलेका शहरी क्षेत्रका संस्थामा समस्या आए पनि जिल्लाका सहकारीमा खासै समस्या नरहेको उनले बताए । शहरका सहकारीमा थोरै सदस्यबाट धेरै मुद्धती बचत लिने र मासिक तथा ऐच्छिक बचतलाई प्राथमिकता नदिँदा उनीहरु समस्यामा परेको मिजारको बुझाई छ ।
माधव कुमार खड्का