आइतबार, आश्विन १८ गते २०८३

सिद्धान्तबाट च्यूत भएपछि . . .


बैशाख ७, २०८० बिहीबार

 

हुन त अरु देशमा पनि यस्ता समस्याहरु आए होलान् । तर हामीले हाम्रो देशकाे कुरा गर्दा अचम्म र बिडम्बना पनि लाग्छ । २०४६ सालको दशकदेखि यता नेपालको आफुलाई क्रान्तिकारी भन्ने माक्र्सबाद लेनिनबादको कर्मकाण्डीरुपमा भए पनि जप्ने कम्युनिष्ट समूहहरु जसले किसान मजदुरको झण्डा बोकी हिड्छन्, आज तमाम खाले शोषण, उत्पीडनबाट पीडा भोगिरहेकाहरुको भोट लिएर पटक पटक  सरकारमा गएका छन् । तिनले बिभिन्न खालका आश्वासनहरु पनि बाडिहिडेका छन् । ती शोषित उत्पीडितहरुमध्ये मिटर ब्याजे साहुहरुबाट पीडितहरुको चर्को आन्दोलन चलिरहेको छ । त्यो आन्दोलनमा सहभागी हुन आन्दोलित हुदै देशका बिभिन्न भागहरुबाट पैदल यात्रा गरी र अन्य उपाय समेतबाट काठमाण्डौ पुगेर धर्ना बसेर शान्तिपूर्ण बिरोध कार्यक्रम गरेका छन् ।

किसानका समस्याहरुलाई देशको प्रमुख समस्या र देशको आत्मनिर्भरता बढाउन, अर्थतन्त्र सुधार गर्ने एक प्रमुख पक्ष हो भन्ने कुरामा नेपालमा चलेका कुनै पनि सरकारको ध्यान गम्भीरतापूर्बक गएको र आकृष्ट भएको पाइदैन । भूमिसुधारका लागि सुकुम्बासी, भूमिहीन किसानका समस्या समाधानका लागि कयौं आयोगहरु पटक पटक बने । तर आजसम्म किन समस्याका थुप्रो मात्र लागि रहेका छन् ?आज नगरपालिका बनाएर गाउँगाउँलाई गाभिएको छ । यसबाट ग्रामीण जनताहरु नगरबासी भयौं भनेर खुशी मान्नुको बदला करले ढाड सेकेर उठिबास भएका छन् । देशमा रोजगारीको अवसर एक दुइ प्रतिशत कर्मचारी बाहेक कसैलाई छैन । हात मुख जोर्न पनि बिश्वका बिभिन्न बिकसित एबं बिकासोन्मुख देशहरुमा देशका उर्जाशील यूवाहरू जानु परिरहेको छ ।अरबका खाडीहरुमा ५० डिग्री तातो तापक्रम सहेर कामगरी नेपालका आफ्ना जहान बच्चालाई रकम पठाएर उनीहरू बाच्नु परिरहेको छ ।

यस प्रकारकाे अबस्थमा नेपाल सरकार बनाउने काम जन प्रतिनिधि, निर्वाचनको माध्यमद्वारा गरेको देखिए पनि एउटा उम्मेद्वार छान्न र टिकट पाउन करोडौं रुपिया खर्च गर्न सक्नेले मात्र सफल भएको देखिन्छ ।खर्चिलो र भट्किलो चुनावद्वारा निर्वाचित जनप्रतिनिधिहरुले रााजनीतिलार्य सेवा होइन पेशा बनाएर कमाउनेतिर लागेको पाइन्छ । जनतालाई प्रतिनिधि र सरकार भन्ने कुरा कागलाई बेल पाकेर हर्ष न बिष्मात भने जस्तो भएको छ ।

नेपालका राजनीतिक पार्टीहरु बिशेषगरी नेपाली काग्रेस र कम्युनिष्ट नाम गरेका पार्टीहरुको कुरा गर्दा नेपाली काग्रेसले कर्मकाण्डीरुपमा बीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजबाद भन्दछ तर बीपीकै भाषामा प्रजातन्त्र आएपछि सुकिला मुकिला दलालहरु हावी भएर पार्टीको प्रतिकूल नीति बनाउँदछन् र उदारबादको नाममा देशका श्रोत साधनहरु बेच्न उद्यत देखिन्छन् । त्यस्तै कम्युनिष्ट भन्नेहरु बिशेष गरेर एमाले र माओवादीको नीति, शैली, गतिबिधि  पनि हिजडा खालको देखिन्छ ।यी सबै कुरा सिद्धान्तबाट च्यूत भएर भएको हो भन्ने प्रष्ट छ । यस सन्दर्भमा नेपाल कम्युनिष्ट आन्दोलनका सर्बोच्च नेता कमरेड पुष्पलाल भन्नु हुन्छ – ‘सिद्धान्तबाट च्यूत भए पछि राजनीतिमा भडकाव आउछ र राजनीतिमा भड्काव आएपछि पार्टी जनताबाट अलगिन्छ र यसरी जनताबाट अलग्गिएको पार्टी लोप भएर जान्छ’ ।
भरतपुर, चित्तवन