काठमाडौं : आज नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ठमेलस्थित सार्वजनिक पोखरी मिचेर व्यक्तिको नाममा दर्ता गराई व्यापारिक भवन ‘छायादेवी कम्प्लेस’ बनाउन लगाउने सम्बन्धित मन्त्री र सरकारी अधिकारीहरूलाई कडा कारबाही गर्न माग गरेका छन्।
सांसद सुवालले प्रतिनिधिसभा बैठकमा उनीहरूलाई कारबाही गरी सो क्षेत्र पुन: सरकारी स्वामित्वमा ल्याउन पुनः जाेडदार माग गरेका हुन्।
उनले भनेका छन -‘काठमाडौं ठमेलस्थित बौद्ध विहारको सरकारी कमलपोखरी र वारिपरीको सरकारी जग्गासमेत ३०/३५ रोपनी व्यक्तिको नाममा दर्ता गरी व्यापारिक भवन बनाउन लगाउने सम्बन्धित मन्त्री र सरकारी अधिकारीहरूलाई कडा कारबाही गरी सो क्षेत्र पुन: सरकारी स्वामित्वमा ल्याउन जरुरी छ।’
यस अघि गत भदाैमा भएकाे प्रतिनिधिसभा बैठकमा पनि उक्त व्यापारिक भवन भत्काउन उनले माग गरेका थिए। ‘भारतको टावर बम राखेर भत्काएजस्तै अनाधिकृत बनेको छाया कम्प्लेस भत्काउन जरुरी छ,’उनले भनेका थिए।
पुरानाे ऐतिहासिक पोखरीमा बनाइएको उक्त कम्प्लेस सम्पदा संरक्षण अभियन्ताहरूले पनि भत्काउनुपर्ने माग गर्दै आएका छन्।