बुधबार, भाद्र ३ गते २०८३

नव वर्ष मनाइरहँदा गर्नुपर्ने गम्भीर मनन्

चैत्र ३०, २०७९ बिहीबार
नव वर्ष मनाइरहँदा गर्नुपर्ने गम्भीर मनन्
 
नव वर्ष केवल नयाँ समयको पर्व मात्र होइन । यो जीजीबिषा, सामुहीकता, बैभव, समृद्धिको कामना, संकल्प, नूतनताको उन्मेषको प्रकटीकरण पनि हो । विषादको छायाँको विरुद्ध नवीनताको उद्घोष पनि हो । वास्तवमा विगतकाे वर्षले हामीबाट हाम्रो आँकलन चाहन्छ । नयाँ वर्ष उज्यालोको विम्बको रंगीन माछा जस्तै हाम्रो मनको संरचनामा छचल्किन्छ । नव वर्षको पक्ष आवश्यकरुपले विगत वर्षको अघिल्लो चरण हो । यो मिठो, अमिलो, तीतोपीरो विभिन्न स्वादहरुबाट संपृक्त छ । नयाँ वर्षले विगत वर्षको सन्धि विन्दूमा हामीलाई धेरै पटक एकान्त चिन्तन मननको सुविधा प्रदान गर्दछ । नव वर्षले हामीलाई भविष्यका दृष्यहरु परिचय गराउनतिर लैजान्छ । हाम्रो दृष्टिमा संसार उसै पनि युग्महरुबाट सिर्जित छ - पुरानो या नयाँ, परम्परा या आधुनिकता, स्थिर या जंगम इत्यादिबाट । नयाँ समयको अर्थ आत्माको रंगमा नयाँ सिर्जनाको संकल्पको रुपमा जोडिएको हुन्छ । दुःख, विषाद अभाव, बेरोजगारीको बज्र, संकट यी सबै कुरा हुँदाहुदै पनि नव वर्षले हामीलाई नयाँ दुष्चक्रलाई भेदन गर्नतिर आलोकित गराउँदछ र उष्मा ऊर्जा दिन्छ यही नै वास्तवमा यसको महिमाको अर्थ पनि हो । 
 
काल अनन्त र प्रवाहमान पनि हुन्छ । त्यसैको कुनै खण्डमा हामी बाँचेका हुन्छौ । हाम्रा स्मृतिहरु र आकांक्षाहरु समय सापेक्ष हुन्छन् र समयलाई अतिक्रमित गर्ने पनि । जुन आकांक्षाहरु साबधि हुन्छन् तिनको आफ्नो सीमा पनि हुन्छ । मानिसले भने ती सीमाहरु तोडने गर्दछ । मानिस ससीमबाट असीमतिर बढ्ने गर्दछ । यही नै मानिसको ब्यक्तित्वको घनत्व पनि हो । मानिस ब्यष्टिबाट समष्टितिर बढ्छ । ऊ नीजताकासाथसाथै समूहबद्ध पनि हुन्छ । आज बिश्वमा भएका बिभिन्न परिवर्तनहरु यही समूहबद्ध र समूहवाची हुनुका परिणाम नै हुन् । यसको यो अर्थ कदापि होइन कि ब्यक्तित्वको आन्तरिकताको महत्व कम भएको छ । बढ्दो होहल्ला र आक्रामकताको माहोलमा नीजताको प्रतिष्ठाको अर्थबत्ता आज अझ बढ्न गएको छ । नब बर्षा परिवर्तनको कामनाका साथै ब्यक्तित्वको नीजताको एकै साथ सम्बल प्राप्त हुने अभिष्ठ पनि छँदैछ । आज ब्यक्तित्व बिलोपित भइरहेको छ ।अर्थात् ब्यक्तित्वहीन ब्यक्तित्व । साहित्य, कलाहरु नवाचार आन्दोलन आदिले आज ब्यक्तित्वहीनताका यसै आवरणलाई उतारिरहेका छन् अमूर्त या अमूर्तरुपमा । 
 
एक वर्षको प्रतिक्षा पछि नव वर्ष आउने गर्दछ । यो धीरज स्मृतिहरुमा सम्पूजित हुने गर्दछ । बिगतको प्रत्येक क्षण गन्ध र प्रकाश जस्तै या कहिलेकाही अन्धकार जस्तै हाम्रो मनमा अस्तित्वको हिस्साकोरुपमा यो पराबृत्त भइरहन्छ । जुन राम्रो छ त्यो स्फटिक जस्तै हुन्छ । यस दृष्टिले हाम्रा अनु भावहरुमा ती प्राप्त हुन्छन् र समकालीनताको दृष्यांकन गर्ने गर्दछन् ।हाम्रो लोक समाजमा भूत, भबिष्यको लेखाजोखा एउटा आवेग जस्तो हुन्छ जसमा अनगढता र आदिम उष्मा रहेको हुन्छ । हामी त्यसैले आफ्नो ज्योति पुञ्जकोरुपमा नब बर्षलाई लिरहेका हुन्छाैं । तर यहाँ परिवर्तको बृहत अर्थको कुरा गरिदैछ । त्यो अर्थ हो - सरोकारलाई लिन्छौ जसले हामीलाई आलोकित गरोस् ।प्रस्तुत बर्षवास्तवमा परिवर्तनको बर्षहुन्छ । प्रत्येक क्षणले पनि उसो त परिवर्तन नै ल्याइरहेको हुन्छ । तर यहाँ परिवर्तको बृहत अर्थको कुरा गरिदैछ । त्यो अर्थ हो - सरोकारवालाहरुको दृष्टिबोध बद्लिनु,असान्दर्भिक ब्यवस्थासँग मोहभंग,सडेगलेका पक्षहरुमाथि प्रहार,नष्ल, बर्ण, भाषा, क्षेत्रका असमानता र अतिचारबाट मुक्ति । अब यो कुरा चल्दैन कि एउटा शिबिरमा बच्चाहरु दिनहुँ मरिरहेका छन् अनि अर्को तिर स्तरहीन कार्यक्रममाथि दृष्टिपात भइरहन्छ । अब त के हेरिन्छ र हेरिनु पर्दछ भने कृतिको कुन चाँही बिखण्डन या बिश्लेषण अथवा उप पाठहरुको खोजी राजनीतिकरुपमा सही या गलत छ ।
 
नयाँ साँस्कृतिक चेतनाले हेर्दा नब बर्षको आरम्भ नै अभिष्ठ हो । यो देश, समाज, राष्ट्र आदिमा नयाँ परिवर्तनको नयाँ ब्यवस्थागत बहस र परिवर्तन ल्याउने कामना पनि हो । आज इमानदारी र सादापनाको अत्यन्तै आवश्यकता छ । तर अब त यसको पनि 'सिण्डीकेट' र 'प्याकेजिङ्ग' हुन थालिसक्यो । यसलाई राजनीतिमा उपयोग गरिन थालियो । यद्यपि अहिले पनि इमानदारीको 'उपयोग' गर्ने र त्यसलाई लिएर 'जिउने' बीचको भिन्नतालाई नब बर्षको आधार बनाइनु आवश्यक छ र बनाइनु नै पर्दछ । 'हुने' र 'प्रचारित' गर्ने बिचको क्षीण रेखालाई देख्नसक्नु पर्दछ । ब्यक्तिको अभ्यन्तर तथा समूहको संघर्षमा हामीले नब बर्षलाई नयाँ आभाको रुपमा बदल्न सक्तछौं, बदल्ने प्रयत्न निरन्तर गर्नु पर्दछ । यसलाई संकल्पको अवसर, प्रसन्नता,एकजुटता, समानता, परिवर्तन, नबाचारको प्रतीकका रुपमा समेत लिन सक्तछौं । केवल 'क्यालेण्डर' अथवा 'पात्रो' को मिति बद्लिनु मात्र नब बर्ष होइन । १२ महिना बितेर जानु नै बितेको बर्षको बिदाई होइन भने नया संम्भावना, नयाँ दृष्टि, संघर्ष र लालित्यको प्रवेश नै नब बर्ष हो ।यी महत्वपूर्ण कुरालाई चिन्तनमा, चरित्रमा र ब्यबहारमा साच्चिनै मनन गर्न सकेमा मात्र नयाँ सम्बत्सरोत्सब मनाएको सही र सार्थक ठहरिन्छ ।

  • सम्बन्धित विषय:

  • # #2080BS
  • # #नववर्ष२०८०
  • # #NewYear