शनिबार, आश्विन १७ गते २०८३

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा शुरू, नयाँ नेतृत्वका लागि यी पदमा हुँदै प्रतिस्पर्धा

चैत्र २८, २०७९ मंगलबार
नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा शुरू, नयाँ नेतृत्वका लागि यी पदमा हुँदै प्रतिस्पर्धा

 

नेपाल उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारणसभा शुरु भएको छ । सभाले नयाँ नेतृत्व चयन गर्दैछ । महासंघका विभिन्न ६४ पदमा ११६ प्रतिस्पर्धी रहेका छन् भने २ जना निर्विरोध निर्वाचित भइसकेका छन् । 

वरिष्ठ उपाध्यक्ष पदका लागि ३, जिल्लारनगरतर्फको उपाध्यक्षका लागि ३, वस्तुगततर्फको उपाध्यक्षका लागि ३ र एसोसिएटतर्फको उपाध्यक्षका लागि २ जनाको उम्मेदवारी परेको छ।

वरिष्ठ उपाध्यक्षका लागि महासंघका वस्तुगततर्फका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, वस्तुगततर्फका वर्तमान उपाध्यक्ष अञ्जन श्रेष्ठ र एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघईले आ(आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

उमेशलालको प्यानलबाट जिल्लारनगरतर्फ उपाध्यक्षमा दिनेश श्रेष्ठले मनोनयन दर्ता गराएका छन् भने वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल र एसोसिएटतर्फको उपाध्यक्षमा भरतराज आचार्यले उम्मेदवारी दिएका छन् ।

त्यस्तै अञ्जन श्रेष्ठको प्यानलबाट जिल्लारनगरतर्फ उपाध्यक्षमा अरुणराज सुमार्गी र वस्तुगततर्फ उपाध्यक्षमा मनीषलाल प्रधानले उम्मेदवारी दिएका छन् । श्रेष्ठले एसोसिएटतर्फको उपाध्यक्षका लागि उमेशलालकै प्यानलका भरतराज आचार्यलाई समर्थन गरेका छन् ।

संघईको प्यानलबाट उपाध्यक्ष पदमा जिल्ला नगरतर्फ सुरकृष्ण वैद्य, वस्तुगततर्फ सकुन्तलाल हिराचन र एसोसिएटतर्फ ज्योत्स्ना श्रेष्ठ उठेका छन् ।

जिल्लारनगरतर्फ १८ सदस्यका लागि ३२, वस्तुगततर्फ १४ सदस्यका लागि २८ र एसोसिएटतर्फ १९ सदस्यका लागि २९ जनाको उम्मेदवारी परेको छ । प्रदेश सदस्यतर्फ कोशीमा १ सदस्यका लागि ३, मधेसमा १ सदस्यका लागि २, बागमतीमा १ सदस्यका लागि २, गण्डकीमा १ सदस्यका लागि २, कर्णालीमा १ सदस्यका लागि ३ र सुदूरपश्चिममा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ ।

वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुने महासंघको वैधानिक व्यवस्था रहेकोले सो पदमा कडा प्रतिस्पर्धा हुने गर्छ । हाल वरिष्ठ उपाध्यक्ष रहेका चन्द्रप्रसाद ढकाल साधारण सभापश्चात अध्यक्ष बन्नेछन् ।