काठमाण्डाै । सरकारी वार्ता टोली र मिटरब्याज पीडित प्रतिनिधिहरुबीच हिजाे गृहमन्त्रालयमा भएकाे बार्ता सकारात्मक रहेकाे आज पनि वार्ता हुने भएको छ । यस अघि मिटर ब्याज पीडितहरूकाे एक समूहसँग सहमति भएपनि दोस्रो समूह फेरि काठमाडौँ आएर आन्दोलन गर्न थालेपछि सरकारले पुनः याे वार्ता गरेको हो । हिजाे सोमबार गृह मन्त्रालयमा भएको वार्ता सकारात्मक बनेको सरकारी वार्ता टाेलीका संयोजक सह-सचिव प्रदीपकुमार कोइरालाले बताएका छन् । पीडितहरूका तर्फबाट ल्याइएको ६ बुँदे मागका विषयमा सकारात्मक छलफल भएको उनको भनाइ छ ।
काेइरालाले भनेका छन् ‘माग कसरी सम्बोधन गर्न सकिन्छ र विकल्प के हुनसक्छ भनेर छलफल भएको छ, उहाँहरूले छलफल गरेर आउँछौं भन्नुभएको छ, मंगलबार पुनः वार्ता हुनेछ ।'
यसभन्दा पहिला मिटरब्याज पीडितको अर्काे समूहसँग गृह मन्त्रालयले चैत १८ गते ५ बुँदे सहमति गरेको थियो । त्यो सहमति अपूरो भएको भन्दै अहिलेका मिटरब्याजी पीडित संघर्ष समितिले ६ बुँदे माग राखेका छन् । उनीहरूले १८ जिल्लाका संयोजक रहने गरी १९ जनाको सोमवारै वार्ता टोली गठन गरेका थिए ।
संघर्ष समितिकाे तर्फबाट मिटरब्याजीका नाममा भएको सबै लिखत अवैध घोषणा गर्नुपर्ने, आफूहरू विरुद्धको मुद्दा स्थगित र फैसला भएको मुद्दाको पुनरावलोकन हुनुपर्ने, पक्राउ पुर्जी खारेज, कारागारमा रहेकाहरूको रिहाइ, बैंकिङ कसूरका मुद्दा खारेज तथा मिटरब्याजीहरूको सम्पत्ति छानबिन लगायतका मागहरू राखिएकाे समितिका संयोजक अवदेश कुशवाहले बताएका छन् ।
संघर्ष समितिसँग सरकारकाे पहिलाे बार्ता पीडितहरू बसेकाे शान्तिबाटीकामा नै भएकाे थियाे भने हिजाेकाे बार्ता भने गृह मन्त्रालयमा भएकाे हाे ।