ललितपुर । ललितपुरकाे बखुण्डाेल स्थित सम्मिट अपार्टमेण्टकाे नक्सापास विना नै निर्माण कार्य सुरु गरिएकोले त्यसकाे जग खन्दा वरपरका घर भासिएका छन् । वरापरीका घरहरू भासिँदा स्थानीय बासिन्दाहरू ठूलाे मर्कामा परेका छन् । अपार्टमेन्ट नजिकको एउटा घर पूर्ण रूपमा ढलेको छ भने चारवटा घर चर्किएकाे अबस्थामा छन् ।
यसरी घरमा क्षति भएपछि कतिपय मानिसहरू आफन्तको शरणमा पुगेका छन् भने कतिपयले होटेलमा बास बस्न बाध्य भएका छन् ।
त्याे बहुतले अपार्टमेण्ट झण्डै १८ रोपनी जग्गामा जग खन्न एक महिनाअघि शुरु गरिएको थियो । तर, निर्माण कम्पनीले साँध–सँधियारसँग छलफलसम्म पनि गरेकाे थिएन । अपार्टमेन्ट बन्दै गरेको जमिनको माटो र वातावरणीय परीक्षणसमेत नगगरेको बुझिएकाे छ । कानुनतः भवन निर्माणअघि सम्बन्धित स्थानीय तहबाट अनिवार्य रूपमा नक्सा पास गराउनुपर्ने हुन्छ । यस्ता संरचना निर्माण गर्दा अनिवार्य रूपमा माटो तथा वातावरणीय परीक्षण पनि गराउनुपर्ने हुन्छ । त्यस्तै, निर्माण कम्पनीले आसपासका छिमेकीको स्वीकृति पनि लिनुपर्ने हुन्छ ।
यस सम्बन्धमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले समिट अपार्टमेन्ट निर्माण गर्ने उद्देश्यले कसैले पनि महानगरपालिकासँग नक्सा पास नगरेको बताएका छन् । समिट अपार्टमेन्टको जग खन्दा आसपासका घर भासिएको खबर आफूले पाएको उनले बताएका छन् । अपार्टमेन्ट कम्पनीले नक्सा पास नगरेर निर्माण कार्य थालेको पनि उनले जनाएका छन् ।
त्यस क्षेत्रका स्थानीयहरूका अनुसार जग खन्न शुरु गर्दा नै आवश्यक सुरक्षा अपनाउन निर्माण कम्पनीलाई पटकपटक भनिएकाे थियाे । तर, निर्माण कम्पनीले स्थानीयलाई बिल्कुलै बेवास्ता गर्दै जग खन्ने कामलाई निरन्तरता दिइरहेको थियो । मेयर महर्जनले भत्किएका घर अपार्टमेन्ट निर्माण कम्पनीले नै बनाइदिनुपर्ने र पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । यसका लागि महानगरपालिकाले आवश्यक कानुनी कारबाही तत्काल अघि बढाउने र घटनाको छानबिन गर्ने बताइएकाे छ ।