शनिबार, आश्विन १७ गते २०८३

शहीद देबीलालकाे शहादतकाे परिप्रेक्ष र लिनुपर्ने शिक्षा

चैत्र २४, २०७९ शुक्रबार
शहीद देबीलालकाे शहादतकाे परिप्रेक्ष र लिनुपर्ने शिक्षा

चैत्र २५ गते शहीद देबीलाल स्मृति दिवस

shahiddevilal.jpg

लोकनारायण सुवेदी

   चैत्र महिना नेपाली जन आन्दोलनको इतिहासमा सदैब सम्झिने महिना हो । यस महिनाले नेपाली जन आन्दोलनका खाशगरी दुइटा महत्वपूर्ण इतिहासलाई बोकेको छ । २०४६ सालको सामन्ती अधिनायकबादी पञ्चायती ब्यवस्था बिरुद्धको संयुक्त जन आन्दोलन जुन औपचारिकरुपमा २०४६ साल फागुन ७ गते आरम्भ भएको थियो र  ४९ दिनपछि झण्डै ३० बर्षदेखि नेपाली जनतामाथि लादिएको र निर्बिकल्प भनिदै आएको राजाको नेतृत्वको सामन्ती अधिनायकबादी पञ्चायती ब्यबस्था धुलधुसरित भएको थियो । राजाले आफु संबैधानिक भएर बस्न मञ्जुर गरेको बहुदलीय ब्यवस्थाको पुनर्स्थापना भएको थियो । तर करीब तीन दशकको उतार चढावयुक्त संघर्ष र त्यसको उत्कर्षमा पुगेको २०४६ सालको जन आन्दोलनले दिएको दिशानिर्देश र कार्यादेश बिपरीत राजनीतिक दलहरु र राजा चल्न थाले पछि मुलुकमा राजनीतिक अस्थिरता र द्वन्द्वले गुढ लाउदै गयो । त्यो क्रम बढ्दै जाँदा एकातिर राजनीतिक दलहरुमा सत्ता लम्पट आशक्ति र बिलाशीता बढ्दै गएर ‘महल पजेरो सँस्कृति’ मौलाउन थाल्यो भने दरबारमा पनि जन आन्दोलनबाट जनताले पाएको सीमिति अधिकार पनि खोस्ने कडा कदम चाल्ने कि मन्द बिष प्रयोग गरेर ती अधिकार तुहाउने दुइ खेमा देखापर्यो । यस्तै अबस्था बिकसित भएको अवसरलाई बर्ग संर्घषको उच्चतम प्रस्थान बिन्दू ठानेर  नेकपा(माओवादी) सशस्त्र संर्घषको मनोगत बाटो लागे । यस प्रकारको त्रिपक्षीय संघर्षका बेला बाह्य हस्तक्षेप खाशगरी भारतीय सत्ताधारी बर्गको हस्तक्षेप कुन हदसम्म बढेको रहेछ भन्ने कुराहरु त एक पछि अर्को प्रकाशमा आइरहेकै छन् र नेपाली जनतालाई सचेत र सावधान तुल्याइरहेकै छन् ।

बिगतका अनेक अनुभव र आफ्नो जीवनको कटु यथार्थले नेपाली जनतालाई अन्ततःराजतन्त्रकै बिरुद्ध निर्णायकरुपमा उत्रिन बाध्य पार्ने नै थियो । किनभने नेपाली जन आन्दोनलको इतिहासले यो कुरा प्रष्टसंग दर्शाएको छ । यस यथार्थलाई ‘नेपाली जन आन्दोलन : एक समीक्षा’ नामको आफ्नो ऐतिहासिक कृतिमा कामरेड पुष्पलालले प्रष्टसँग औंल्याइसक्नु पनि भएको छ भने उहाँकै ‘नेपालमा राजतन्त्रको उत्थान र पत्तन’ भन्ने कृतिमा पनि शाहबंशलाई राजतन्त्रको ‘अन्तिम दीपशिखा’ भन्ने बस्तुगत भबिष्यबाणी गरेर नेपाली जनताको आन्दोलनको दिशा र आवश्यकता के रहेको हो भन्ने कुराको बोध र थप पुष्टी पनि गर्नु भएको पनि पाइन्छ । यस सन्दर्भमा कुरा गर्दा के पनि बिर्सन हुदैन भने जनता नै निर्णायक शक्ति हो र उसले ढिलोचाडो आमूल परिवर्तनको आवश्यकतालाई महसुश गर्दछ र त्यसका निमित्त आन्दोलनलाई निर्णायकरुपमा उत्कर्षमा पुर्याउँदछ ।   यो यथार्थलाई पनि कामरेड पुष्पलालले आफ्नो मृत्युशैयाबाट यसरी अभिब्यक्त गर्नुभएको थियो : ‘जनता चेतनशील हुर्नुपर्दछ, कार्यकर्ता राजनीतिकरुपमा संगठित हुनु पर्दछ क्रान्ति अबश्यंभावी छ, यसलाई कसैले रोकेर रोक्न सक्तैन’ । हाम्रो देशको इतिहासले यो सत्य पनि पटक पटक स्थापि गरिसकेको छ ।

इतिहास चेतना यस्तो हुँदा हुदै पनि आन्दोलनपछि सत्तामा पुगेका दलहरुले जसरी जनता र राष्ट्रको हितमा ब्यापक र दूरगामी दृष्टिकासाथ जनता र जन आन्दोलनकारी शक्तिलाई साथमा लिएर अघि बढ्नु पर्दथ्यो त्यसो नगरी सत्ताको निहीत र संकीर्ण स्वार्थमा चुर्लुम्म डुबेर हिजोकै बिस्थापित शक्तिको बाटो लागेर पथबिचलित हुँदा हरेक परिवर्तनपछि अन्यौल, अराजकता, अनुशासनहीनता र अन्तत जनतामा घोर निराशा छाउने गरेको पनि हाम्रो इतिहास छ । आज त यो  पीडादायक यथार्थलाई अत्यन्तै नराम्रोसँग हामी बेहोरिरहेका छौ । किनभने नेपालको इतिहासमा २०६२/६३ सालको अभूतपूर्व जन आन्दोलनले २४० बर्ष देखिको केन्द्रिकृत, एकात्मक सामन्ती राजतन्त्रात्मक ब्यबस्थालाई बिस्थापित गरेर सार्वभौम नेपाली जनताका हातमा शासन सत्ताको बाग्डोर ल्याएको हो । यसका निमित्त बितेको ६ दशकका बिबिध संघर्षहरुमा हजारौ शहीदहरुले बलिदान दिएका हुन् । नेपाली जनताका हितमा समर्पित राजनीतिक दलहरुका नेता, कार्यकर्ताहरुले प्रवासको पीडा, जेलनेल, दमन, हत्याका अनेक श्रङ्खलाहरु बेहोरेका हुन् । तर ती कुराहरु आज सत्ताको लागि संर्कीण मोलतोलका बिषय बस्तु बनाइए । फलतः राजनीतिक दलहरु जो सत्तामा पुगे तिनले आफ्नो बिवेक, बुद्धि, सीप र बर्गतलाई जनता राष्ट्रको हितमा लगाएनन् ।

Devilal.jpg

यस्तो बेलामा नेपाली जनताका लागि आफ्नो सुन्दर जीवन अर्पण गर्ने ती नेपाली जन आन्दोलनका  महान अमर शहीदहरुलाई कसरी सम्झने अत्यत्नै ठूलो प्रश्न नेपाली जनता र राष्ट्रका अगाडि उपस्थित भएको छ । एक त आज  महान शहीदहरुको नाममा पैसाको मूल्य तोकेर तिनको घोर अपमान गरिएको छ भने अर्कोतिर नेपाली जनताको दयनीय अवस्था र सत्तामा पुगेका दलहरुका अधिकांश नेताहरुको राजशी ठाँटबाँट, घोर बिलाशिता र बिश्वासै गर्न नसकिने बैभबले जुन आश्चर्यजनक र रहस्यमय स्थितिको निर्माण गरेको छ त्यो अत्यन्तै खट्किन बिषयबस्तु बनेर उपस्थित छ । यस स्थितिको सही उत्तर नदिएसम्म न शहीदहरुको बलिदानको उचित सम्मान हुन्छ न नेपाली जनताको सार्वभौमिकताको नै ।

   वास्तवमा आज नेपालको मूलधारको राजनीति यसरी नीति, नैतिकता, इमानदारीता, समर्पण, आदर्श र त्यागको मूलबाटोबाट नराम्रोसँग बिचलित भएको छ । त्यसले गर्दा नै जनता र राजनीतिक दलहरु बीचको सम्बन्ध नराम्रोसँग  काटिएको छ । यसलाई जनताले कुनै औपचारिक चुनावमा बिशेषमा बिभिन्न कारणले दिएको मतको आधारमा मात्र  ब्याख्या गरेर यथार्थ ब्याख्या हुन पनि सक्तैन । यो कुरा त २०१५ सालको चुनाव २०४८ को चुनाब र २०६४, २०७४ र पछिल्लाे २०७८ को चुनाव पछिको स्थितिले पनि प्रष्ट पारेको हो ।  जनता र देशले आज भोगिराखेका गम्भीरतम समस्याहरुले नै आजको स्थितिको वास्तविक मर्म र राष्ट्रिय शर्मलाई पनि खुलस्त ब्याख्या गरिरहेका छन् र यो क्रम निरन्तर जारीरहने नै छ ।

मानिसको दैनिक जीवनमा पनि कुरा भन्दा कामले अर्थात् यथार्थ ब्यवहारिक अनुभवले नै  ठूलो ज्ञान दिन्छ । यो इतिहास सिद्ध कुरा नै हो । त्यसैले ‘इतिहास आफै बोल्छ’ भन्ने मान्यता पनि बिकसित भएर आएको हो । नेपालको ०७ सालदेखि  २०७८ साल सम्मकाे  यथार्थ इतिहासले आज आफै बोलिरहेको छ । जनता र राष्ट्रका समस्याहरुले यथार्थ वास्तविकता बताइरहेका छन् । इतिहासलाई सही दिशा र गति दिने या गलत मोड दिने काम कुन कुन राजनीतिक दलहरुले कुन कुन समयमा के कति याेगदान गरे त्यसको प्रतिबिम्ब नै समग्रमा हाम्रो आजको अर्थ–राजनीतिक स्थिति हो । यस परिप्रेक्षमा नै इतिहासलाई केलाउने र बिश्लेषण गर्ने पनि गरिन्छ र गर्नु पनि पर्दछ ।

यसै सन्दर्भमा २०५९ चैत्र २५ गतेको बुटबल क्याम्पस परिसरमा शहादत प्राप्त गरेका बिद्यार्थी नेता शहीद देबीलालको  घटनालाई पनि हेर्नु र केलाउनु पर्दछ । त्यस दिन पेट्रोलिय पदार्थको चर्को मूल्य बृद्धि बिरुद्ध बिद्यार्थीहरुले चलाई रहेको संंयुक्त आन्दोलनको क्रममा बुटवल चौराहमा केही घण्टाको चक्काजाम पछि बुटबल क्याम्पसमा सबै बिद्यार्थी फर्किसकेपछि क्याम्पस हाता भित्रै आन्दोलनमा सक्रिय बिद्यार्थी नेता देबीलाल पौडेलमाथि प्रहरीले ताकी ताकी कञ्चटमा गोली प्रहार गरी क्रुर हत्या गरेको थियो । बिद्यार्थी पौडेल त्यतिबेला नेपाल कम्युनिष्ट (मार्क्सबादी)सँग आवद्ध बिद्यार्थी संगठन नेपाल प्रगतिशील बिद्यार्थी यूनियनको रुपन्देही जिल्लाको अध्यक्ष हुनुकासाथै पार्टीको जिल्ला कमिटीका सदस्य पनि थिए । त्यसैले उनी एउटा जुझारु नीति र सिध्दान्तकासाथ लडिरहेका बिद्यार्थी नेता भएकाले उनले प्रतिगमन बिरोधी आन्दोलनको प्रथम बिद्यार्थी शहीदको राष्ट्रिय मान्यता पनि पाएका हुन् । त्यसले गर्दा उनको शहादतपछि बिद्यार्थी आन्दोलन झन चर्कियो । कयौ दिनसम्म बुटबल बन्द भयो र त्यसले देशभरीकै आन्दोलनलाई ठूलाे ऊर्जा दियो भने प्रतिगमन बिरोधी आन्दोलनले नयाँ उच्चाई प्राप्त गर्दै गयो र आन्दोलनमा सहभागी भएर अनेकन ब्यक्तित्वहरुले शहादत प्राप्त गरे ।  त्यसै शिलशिलामा राजतन्त्रबिरुद्ध शान्तिपूर्ण आन्दोलनमा कृयाशील सात दल र सशस्त्र संर्घष चलाईरहेको माओवादी बीचसमझदारी भए पछि २०६२/६३ सालको जन आन्दोलनमा ब्यापक जन सहभागीता बढ्दै गएर त्यो  उत्कर्षमा पुगेको हो । अनि नेपालको केन्द्रिय सत्ताबाट पहिलो पटक   राजतन्त्रलाई  बिस्थापित गरेको हो । तर आज त्यो आन्दोलनको राप र ताप सेलाएर गएको छ । शहीदहरुको बलिदान खेर गएको छ । आन्दोलनकारी शक्तिहरु बिचलित बनेका छन् । जसको परिणाम देश अझै पनि अन्यौल, अनिश्चितता र अराजकताकोे स्थितिबाट मुक्त हुन नसकेको मात्रै हाेइन बाह्य शक्तिकाे चंगुलमा अझ बडी फँस्दै गएकाे छ  । जनताले दुइ तिहाई जति मत दिएर सरकार बनाउदा समेत समस्या समाधान हुने रहेनछ भन्ने कुराकाे अनुभव पनि  बटुलेकाे छ र परमादेशले बनेकाे त्यसपछिकाे  गठबन्धन सरकारले पनि देश र जनताकाे हित बिपरीत संसदबाट एमसीसी जस्ताे घातक सम्झाैता गर्दाे रहेछ भन्ने कुरा पनि प्रष्ट भएकाे छ । त्यसैले २०७८ काे संसदीय निर्बाचनमा ब्यापक जन असन्तुष्टी देखियाे । कुनै पनि सत्ताधारी दल जनताकाे नजरमा बिश्वसनीय देखिएनन् । त्यसैले हङ्ग पार्लियामेण्ट बन्याे । अस्थिरता, अन्याैल, अस्थाइत्व बर्मानकाे बास्तबिकता बनेकाे छ ।  यसरी यस स्थितिले  संसदीय ब्यवस्थामाथि नै गम्भीर प्रश्न उठाएको छ र यसको अन्त्य र जनमुखी बिकल्पको चर्चा हुन थालेको पनि छ । ब्यवस्था बदल्ने र अबस्था ठीक तुल्याउने अपेक्षाकासाथ शहादत बरण गर्ने महान शहीदहरुको स्मरण गर्ने यो चैत्र महिनाले सबैको मनमा यही खुल्दुली ल्याइदिएको छ ।जुन स्वाभाबिक पनि हाे । देशकाे सार्बभाैमिकता, स्वाधीनता, जनतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रता तथा जनजीबिकाका बुनियादि समस्या समाधान गर्न अग्रगामी  आमूल परिबर्तन  अबकाे अन्तिम परिबर्तन हाे भन्ने कुरा पनि प्रष्ट हुँदै गएकाे छ । बिद्यार्थी नेता देबलाल अमर रहुन् !