शनिबार, आश्विन १७ गते २०८३

नाटाेकाे ३१औँ सदस्य बन्याे फिनल्याण्ड, रूसलाई झट्का

चैत्र २२, २०७९ बुधबार
नाटाेकाे  ३१औँ सदस्य बन्याे फिनल्याण्ड,  रूसलाई झट्का

हिजाेदेखी नर्डिक देश फिनल्याण्ड  उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) को ३१औँ सदस्य राष्ट्र बनेको छ । फिनल्याण्डलाई औपचारिकरूपमा नाटोमा सामेल गराउनका लागि बेल्जियमकाे ब्रसेल्समा  अबस्थित नाटो मुख्यालयमा विशेष बैठक बसेको थियो ।

यस अघिसम्म फिनल्याण्डले असंलग्नताको नीति लिए पनि छिमेकी देश रुसले युक्रेनमा आक्रमण गरेर देश नै कब्जा गर्न लागेको भन्दै सुरक्षाका लागि नाटोमा संलग्न हुने निर्णय गरेको थियो । नाटोका कुनै पनि देशमा आक्रमण भएमा सबै सदस्य देशले आफैँलाई आक्रमण गरेको सरह ठानेर सामुहीक प्रतिराेध गर्ने भएकाले नाटो सदस्यले सुरक्षित महसुस गर्छन् ।

अहिले फिनल्याण्ड नाटोको सदस्य हुनुलाई पश्चिमा देशले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई रणनीतिक झट्काको रूपमा व्याख्या गरेका छन् । रुस र फिनल्याण्ड बीच १३ सय ४० किलोमिटर लामो सीमा रहेको छ । रुसले बारम्बार नाटोको सदस्य नबन्न चेतावनी दिए पनि फिनल्याण्ड सदस्य बनेको हो ।

याे नाटोको सदस्य बन्नका लागि यसमा संलग्सन बै सदस्य देशको सहमति चाहिन्छ । फिनल्याण्डलाई सदस्य बन्न नदिन यसअघि टर्कीले लिएको अडान त्यागेपछि याे देश बल्ल सदस्य बन्न सफल भएको हो । सदस्य बन्न आवेदन दिए पनि टर्की र हङ्गेरीको असहमतिका कारण स्विडेनले भने नाटोको सदस्य बन्न पाएको छैन । नाटोका महासचिव जेन्स स्टोल्टनबर्गले अब रुसको सीमामा रहेको फिनल्यान्डले आफूलाई सुरक्षित ठान्ने र नाटोलाई बलियो बनाउने बताएका छन् ।

दोस्रो विश्व युद्धपछि सन् १९४९ मा तत्कालीन सोभियत सङ्घलाई चुनौती दिन र सुरक्षित रहन भन्दै अमेरिका, क्यानडा, बेलायत र फ्रान्स मिलेर नाटो सैनिक संगठनको स्थापना गरेका थिए । नाटोसँग अत्याधुनिक सेना र हतियार रहेका छन् । फिनल्याण्ड नेटोको ३१ औँ सदस्य भएसँगै नाटो देशहरूसँग रुसको सीमाको लम्बाइ दोब्बर भएको छ ।