कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखा परेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन सूचना जारी गरेको छ । मन्त्रालयले कोरोना भाइरस संक्रमणको लक्षण देखिनासाथ आइसोलेशनमा बस्न अनुरोध गरेको हो।
मन्त्रालयद्वारा जारी सूचनामा कोरोना भाइरस संक्रमण देखिनासाथ परीक्षण गराई आइसोलेशनमा बस्न अनुरोध गरिएको हो। “अस्तिको पानीमा भिजेको, हिजो चिसो खाएको र आज धुलोमा गएको भनेर बाहना नगरौं,” सूचनामा उल्लेख छ, “कोभिड(१९ का लक्षण देखिने बित्तिकै परीक्षण गराऔं र आइसोलेशनमा बसौं।”
मन्त्रालयले हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड–१९ हुने सक्ने समेत भएकाले सतर्कता अपनाउन भनेकाे हाे ।
नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखा परेको छ। अहिले छिमेकी मुलुक भारतमा पनि सोही नयाँ भेरियन्टका कारणले संक्रमण बढिरहेको छ।
मन्त्रालयले संक्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका निभाउन समेत आग्रह गरेको छ। कोभिड–१९ महामारी अझै पनि पूर्ण रूपमा नियन्त्रणमा आइनसकेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन र खोप लगाउन सबैलाई आग्रह गरेको छ।
शून्यमा झरेको कोरोना भाइरसको संक्रमण अहिले बढिरहेको छ। चैत २० गते मात्रै ७६ जनामा नयाँ संक्रमण र सक्रिय संक्रमितको संख्या २२७ पुगेको छ।
मन्त्रालयले कोरोना भाइरसबाट बच्न नाक, मुख, चिउँडो छोपिने गरी मास्क लगाउन, कोरोना भाइरस विरुद्धको खोप लगाउन, वेलावेला साबुनपानी वा स्यानिटाइजरले हात धुन, खोक्दा वा हाच्छिउँ गर्दा रुमालले छोप्न र भौतिक दूरी दुई मिटर राख्न अनुरोध गरेको छ।