शनिबार, आश्विन १७ गते २०८३

वैदेशिक रोजगारका श्रमिकलाइ अनलाइनमार्फत स्वास्थ्य परामर्श सेवा दिन शुरू

चैत्र १५, २०७९ बुधबार
वैदेशिक रोजगारका श्रमिकलाइ अनलाइनमार्फत स्वास्थ्य परामर्श सेवा दिन शुरू

 

वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकका लागि सरकारले आजदेखि स्वास्थ्य परामर्श सेवा शुरू गरेको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने गरी सेवा दिन लागिएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ । सार्वजनिक विदाका दिनबाहेक नेपाली कार्यालय समय बमोजिम सेवा प्रवाह गरिने बोर्डले जनाएको छ ।

यो सेवा लिन चाहने नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, हवाटस एप वा इमो लगायतका सामाजिक सञ्जालबाट फोन गरेर स्वास्थ्य परामर्श लिन सक्नेछन् । अनलाइनमार्फत सेवा दिइने र सेवा प्रभावकारी भए अर्को वर्षदेखि गन्तव्य मुलुकमा नै गएर सेवा दिने योजना रहेको वैदेशिक रोजगार बोर्ड सचिवालयले जनाएको छ ।

कल टेलिमेडिसिनका मेडिकल अधिकृतले रिसिभ गरेर बिरामी कामदारलाई विशेषज्ञ सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा उपलब्ध गराउनेछन् । विशेषतः आइतबार र शुक्रबार गन्तव्य मुलुकमा सार्वजनिक विदा पर्ने भएकाले सो दिनमा नै विशेषज्ञ सेवा उपलब्ध गराउन खोजिएको बोर्डले जनाएको छ ।

सेवा लिने श्रमिकको प्रेस्क्रिप्सन अनलाइनमार्फत उपलब्ध गराइने छ । सम्पूर्ण खर्च वैदेशिक रोजगार बोर्डले नै व्यहोर्ने छ । यो सेवा पूर्णतः निःशुल्क रहने बोर्डले जनाएको छ ।