बुधबार, भाद्र ३ गते २०८३

“सहकारी क्षेत्रमा देखिएकाे समस्या समाधान गर्न महासम्मेलनले मार्गचित्र काेर्नुपर्छ”

चैत्र १५, २०७९ बुधबार
“सहकारी क्षेत्रमा देखिएकाे समस्या समाधान  गर्न महासम्मेलनले मार्गचित्र काेर्नुपर्छ”


महासम्मेलनले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि राज्य र अभियानबीच छलफल र सम्वादको माध्यमबाट समाधानको मार्गचित्र प्रस्तुत गर्छ भन्ने आम सहकारीकर्मीको अपेक्षा छ । सहकारीको समस्या र यसभित्रका विकृतिहरुलाई पहिल्याएर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ । हामीले २ ढंगले सहकारी चलायौं । पहिलो, सहकारीको माध्यमबाट सामाजिक उत्तरदायित्व बहन ग¥र्याैं । दोश्रो, व्यक्तिगत र व्यवसायिक हिसाबले सहकारी सञ्चालन गरियो । त्यसले गर्दा सहकारीमा समस्या आयो । अबका दिनमा सहकारीलाई मुल्य, मान्यता र सिद्धान्त अनुसार चल्ने गरी मार्गचित्र कोर्नुपर्छ । सहकारी अभियानमा देखिएका समस्या र समाधानका उपायलाई समेटेर कार्यपत्रहरु आउनुपर्छ ।

त्यसैगरी सहकारी अभियान कसरी अगाडि बढ्नुपर्छ र के ग¥यो भने सदस्यलाई उत्पादनमा जोड्न सकिन्छ भन्ने कुरालाई जोडका साथ उठाउनुपर्छ जस्तो मलाई लाग्छ । अन्तर्राष्ट्रिय स्तरमा भएका असल अभ्यासहरुलाई कसरी आन्तरिकीकरण गर्न सकिन्छ । सहकारीको माध्यमबाट ती देशहरुले कसरी परिवर्तन गरे ? ती कुराहरु पनि सुन्न पाइयो भने अझ राम्रो हुन्छ । नेपालमा सहकारीमार्फत बचतऋणको मात्रै काम भएको छ । सहकारीको पुँजीलाई कसरी व्यवसायमा जोड्न सकिन्छ भन्ने कुरालाई पनि महासम्मेलनले उठान गर्नुपर्छ ।  त्यसैगरी सहकारीहरुबीच  एकिकरण गरी बलियो संस्था बनाउने विषय पनि आउनुप¥यो । बैंकहरु पनि मर्जरमा गएकागयै छन् । सहकारीहरु एकिकरणमा नगई सुख्खै छैन । ससानो संस्थालाई टिक्नै समस्या भएको छ । ठूला केहि संस्थामा पनि समस्या देखिएको छ । के ग¥यो भने सहकारीमा एकिकरण गर्न सकिन्छ भन्ने कुरा यहाँ उठ्नुपर्छ ।

सहकारी अभियानमा नरहेका व्यक्तिहरुले महासम्मेलन आवश्यक छैनन भन्ने हुन् । जो अभियान भित्र आउन चाहँदैन, सहकारीलाई मनोमानी ढंगले सञ्चालन गरेका छन् र सहकारीका माध्यमबाट व्यक्तिगत व्यवसाय गरेका छन्, उनीहरुलाई महासम्मेल आवश्यक छैन । जुन सहकारीले मुल्य, मान्यता र दर्शन अनुसार संस्था चलाएका छन् ती संस्थाको लागि त अपरिहार्य नै छ । यस्ता कार्यक्रमलाई धेरैले खर्चको रुपमा लिन्छन् । यस्ता तालिम, गोष्ठी तथा सम्मेलन आवश्यक छ भनेर उनीहरुलाई बुझाउनुपर्छ । पहिला अभियानको नेटवर्कमा आउन नचाहने कतिपय साथीहरु अहिले अभियान खोज्दै हिँडेका छन् । अहिले केहि नियत खराब भएर त, केहि चलाउन नजानेर संस्था समस्यामा परेका छन् । संस्था चलाउन नजानेर बिग्रेका साथीहरु यस्ता फोरममा आएर संस्था कसरी चलाउने भनेर सिक्ने र बुझ्ने अवसर हो । मुलुकमा भएका कतिपय सहकारीले राम्रो काम गरेका छन् र उनीहरु सफल पनि भएका छन् । ती संस्थाहरु कसरी सफल भए भन्ने कुरा आदानप्रदान गर्ने अवसर दिइयो भने त्यसबाट सहभागिले धेरै कुरा सिक्न पाउँछन् । त्यस्ता अनुभवले संस्थालाई सुदृढ बनाउन अझै बल पुग्छ भन्ने हो । के गर्दा संस्था राम्रो हुँदो रहेछ भन्ने कुरा सुन्न र बुझ्न पाउने अपेक्षा कतिपय साथीले गर्नुभएको हुन्छ । राम्रो संस्था बनाउन चाहनेहरुका लागि असल अभ्यास बाँड्नु त राम्रो कुरा हो नि ।

कुनै पनि फोरमबाट एउटा न एउटा नयाँ कुरा जरुर आउँछ । तालिम लिइरहनुपर्छ । मानिसले मृत्युको अघिल्लो दिनसम्म पनि सिकिरहनुपर्छ । जन्मसिद्ध कसैले जानेर आएको हुँदैन । सिक्ने कुरालाई निरन्तरता दिनुपर्छ । जो साथीहरु सिक्नबाट भाग्नुहुन्छ, उहाँहरु सहकारीको मुल्यमान्यता र भावनामा भिज्नु भएको छैन भन्ने हो । महासम्मेलन आयोजना गर्नु आफैंमा चुनौतीपूर्ण हुन्छ । कुनै पनि काम गरेपछि त्यहाँभित्र गाह«ो अप्ठेरो पर्छ । त्यसलाई सहज बनाउन टिमवर्कमा काम गर्नुपर्छ । यस्ता गोष्ठी तथा सम्मेलनहरु प्रदेशगत रुपमा गर्न सकिए धेरै सहकारीकर्मीले सहभागि हुने मौका पाउँथे । ठूला संस्थाका लागि काठमाण्डौमा गर्दा पनि फरक पर्दैन तर आउने दिनमा   प्रदेश स्तरमा कार्यक्रम गरेर धेरै सहकारीकर्मीलाई समेट्नुपर्छ ।