नयाँदिल्ली । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीलाई भारतको गुजरातस्थित सुरत जिल्ला अदालतले मानहानिको मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ । उनले सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै मोदी थर भएका व्यक्ति चोर हुन्छन् ?’ भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिका आधारमा उनलाई मानहानिको मुद्दामा दोषी ठहर गरिएको हो ।
साे अभिब्यक्तिले आफूलगायत व्यक्तिको मानहानि भएको भन्दै भारतीय जनता पार्टी (भाजपा)का तर्फबाट गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले गान्धीविरुद्ध उजुरी दायर गरेकाे थियो । मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी हिजाे बिहीबार सुरत अदालतमा उपस्थित भएका थिए ।
यस मुद्दामा राहुलका वकिलहरूको टोलीले सुनुवाइको क्रममा राहुल गान्धीले आफ्नो बयानबाट कुनै समुदायलाई चोट पुर्याउन नचाहेको बताएको उल्लेख गरेका थिए । मानहानि मुद्दामा अदालतबाट दुई वर्षको जेल सजाय सुनाएपछि कांग्रेस आईका नेता राहुलले सामाजिक सञ्जाल ट्वीटरमा ‘महात्मा गान्धी’लाई उल्लेख गर्दै सत्य आफ्नो ईश्वर भएको बताएका छन् । राहुलले ट्वीटरमा लेखेका छन्, ‘मेरो धर्म सत्य र अहिंसामा आधारित छ । सत्य मेरो ईश्वर हो, अहिंसा त्यसलाई प्राप्त गर्ने माध्यम हो ।-महात्मा गान्धी ।’
अदालतले राहुल गान्धीलाई जमानत पनि दिएको छ । यस्तो अवस्थामा राहुल गान्धीसँग अपिल गर्न ३० दिनको समय छ । यता, भारतीय जनता पार्टीले कांग्रेस नेता राहुल गान्धीको ‘मोदी टिप्पणी’ अपमानजनक नै भएको भन्दै अदालतको फैसलालाई समर्थन गरेको छ ।
भारतीय जनता पार्टीका नेता तथा पूर्वकानुनमन्त्री रविशंकर प्रसादले पत्रकारमा सम्मेलन गर्दै राहुलको अभिव्यक्ति आपत्तिजनक र अपमानजनक नै रहेको बताउनुभएको थियो । प्रसादले पत्रकारहरूसँग भन्नुभयो, ‘राहुल गान्धले आफू सत्य र अहिंसालाई आत्मसात गर्ने बताउँछन् । तर के कुनै समुदायलाई अपमान गर्नु सत्य र अंहिसा हुनसक्छ ?
एजेन्सीहरू ।