होटल व्यवसाय क्षेत्रलाई कठिन आर्थिक चक्रव्यूबाट गुज्रिरहेको भन्दै यसलाई पुनर्जिवन प्रदान व्यवसायीले माग गरेका छ । होटल एसोसिएसन नेपालले ऋणको साँवा व्याज भुक्तानीको भाका व्यवहारिक ढंगमा बढाउने लगायत कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण नितान्त आवश्यक रहेको तथा सदा बढ्दै गएको व्याजदर एकल अंकमा झार्न होटल संघले माग गरेकाे छ ।
बैंक तथा वित्तीय संस्थाहरुबाट होटल व्यवसाय प्रवद्र्धन र विकासका लागि प्रवाह भएका ऋणका साँवा व्याज भुक्तानीमा थेग्नै नसकिने गरी भइरहेको निरन्तरको चरम प्रतिकूल तागेता बारे देशैभरीका प्रतिष्ठित सदस्य होटल प्रतिष्ठानहरुबाट आएका गम्भीर प्रकृतिका गुनासोहरु प्रति केन्द्रीय होटल संघ नेपालको ध्यानाकर्षण भएको जनाएको छ ।
ऋणको साँवा व्याज बुझाउने जिम्मेवारी ऋणी स्वयम्को हुँदा हुँदै पनि कोभिड महामारीको झन्डै ३ वर्ष अवधिमा स्वास्थ्य प्रोटोकल, लकडाउन लगायतका नियन्त्रणमुखी नीति नियम स्वयम् सरकारबाटै अवलम्बन भएको अवस्थामा महामारीको प्रत्यक्ष मारमा परी शून्यको अवस्थामा झरेको होटल व्यवसाय कारोबारलाई सरकारी वित्तीय मौद्रिक लगायतका आर्थिक नीति नियममा कुनै सरोकार नराखी अन्य उद्योग व्यवसायलाई प्रदान गरिएको व्यवस्था एवं व्यहारबाट समेत वञ्चित गरिएको हुँदा नेपालको होटल क्षेत्र ह्रासोन्मुख अवस्थामा पुगेको जनाएको छ ।
राष्ट्रिय वार्षिक बजेटभन्दा बढी परिमाणको लगानी भइसकेको नेपाली होटल क्षेत्रलाई नेपाल सरकारले हालसम्म पनि उद्योग सरहको मान्यता समेत नदिनु अत्यन्त खेदजनक भएको संघले जनाएको छ ।
नेपाल सरकार, नेपाल राष्ट्र बैंक, सम्वद्ध बैंक तथा वित्तीय निकायहरुले हालकै रवैया कायम राखी समस्या समाधानमा पहल नहुने हो भने नेपाली होटल व्यवसाय क्रमिकरुपमा धरासायी हुने भन्दै होटल संघ नेपालले सदस्य होटलहरुको हकहित संरक्षणमा व्यवसाय बन्द गर्ने समेतको विकल्पमा पहल गर्नुपर्ने बाध्यकारी परिस्थिति सिर्जना हुन नदिन सदैव सजग रहेको जनाएको छ ।